१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रयोगशालाले नधान्दा स्वाब नमुना थुप्रिएको थुप्रियै

पीसीआर किट, भीटीएम र पर्याप्त जनशक्ति नहुँदा देशभरका प्रयोगशालामा गरी सोमबारसम्म कम्तीमा साढे २४ हजार स्वाब नमुना परीक्षण हुन बाँकी छन् । सबैभन्दा धेरै चाप काठमाडौं, प्रदेश २, प्रदेश ५ र कर्णालीमा छ । सुदूरपश्चिमममा  किट अभावमा परीक्षण नै रोकिएको छ ।
कान्तिपुर टिम

काठमाडौँ — कोभिड–१९ परीक्षण गर्ने मुलुकभरका २१ प्रयोगशालामा सोमबारसम्म साढे २४ हजार नमुना थुप्रिएका छन् । पर्याप्त पीसीआर किट, भीटीएम र जनशक्ति नभएकाले प्रयोगशालामा स्वाबको थाक लागेको हो । चापका कारण परीक्षणको रिपोर्ट आउन दुई सातासम्म ढिलो हुने गरेको छ । यसले संक्रमण अझ फैलने जोखिम बढेको छ ।

प्रयोगशालाले नधान्दा स्वाब नमुना थुप्रिएको थुप्रियै

सबै ल्याबमा सोमबार पीसीआर विधिबाट ४ हजार ९०० नमुना परीक्षण भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ सम्म दैनिक १० हजार पीसीआर परीक्षण गर्ने संसद्मा सोमबार बताए । तर प्रयोगशालालाई आवश्यक सामग्री, जनशक्ति र ल्याबको क्षमता विस्तार नहुँदा परीक्षण लक्ष्यमा पुग्न सजिलो छैन ।

सातै प्रदेशमा पीसीआर परीक्षण प्रयोगशाला खोलिएकामा राजधानी काठमाडौंमा मात्रै चारवटा छन् । कुल पीसीआर परीक्षणमा आधाजति राजधानीकै प्रयोगशालामा हुन्छ । राजधानीमा केन्द्रीय स्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण हुन्छ । ‘पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालामा एउटै खाले समस्या छ’, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले भने, ‘पीसीआर गर्न चाहिने भीटीएम, परीक्षण किट, एक्सट्राक्सन किटजस्ता सामान सहज रूपमा पाइएको छैन ।’

डा. खड्गाले हाल शिक्षण अस्पतालमा भीटीएम नहुँदा समस्या भएको बताए । ‘शनिबार भीटीएम लिन स्वास्थ्य सेवा विभाग पठाएका थियौँ, उताबाट पनि छैन भन्ने जवाफ आयो,’ उनले सुनाए । एक सिफ्टमा ९६ वटा र दिनमा तीन सयवटासम्म नमुना परीक्षण गर्न तयार रहे पनि त्यसअनुसारको व्यवस्था नभएको उनले बताए । डा. खड्गाका अनुसार शिक्षण अस्पतालमा हाल दिनमा ३०–४० वटा नमुनाको मात्र परीक्षण भइरहेको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले त्यहाँ दिनमा ८० देखि १ सय २० वटासम्म नमुना परीक्षण भइरहेको जानकारी दिए । ‘जनशक्ति अभावमा निरन्तर मेसिन चलाउन गाह्रो छ,’ उनले भने, ‘पीसीआरको क्षमता बढाउन नयाँ मेसिन चाहिन्छ । जनशक्ति पनि त्यहीअनुसार हुनुपर्छ । किटहरूको आपूर्ति नियमित हुनुपर्छ ।’ उनले कोरोना परीक्षण गर्न लाग्दा जेनेटिक प्रयोगशालाको काम बन्द भएको सुनाए ।

पाटनमा दिनहुँ करिब सय नमुनाको पीसीआर परीक्षण हुने गरेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले पनि पर्याप्त जनशक्ति नरहेको र जाँचमा चाहिने सबै किटको आपूर्ति व्यवस्था कमजोर रहेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले दिनमा २ सयदेखि ३ सय वटासम्म परीक्षण गरिरहेको जानकारी दिए । ‘स्थिति सहज बने ४ सय वटासम्म नमुना परीक्षण गर्न सक्छौं,’ उनले भने, ‘नियमित र सहज रूपमा किटलगायत सामग्री उपलब्ध हुँदा जाँच बढाउन सकिन्छ ।’

देशभरका प्रयोगशाला निगरानी गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले धेरै ठाउँका प्रयोगशालामा आधारभूत संरचनामा कमी रहेकाले परीक्षण दोहर्‍याउनुपर्दा अपेक्षित गतिमा काम हुन नसकेको बताइन् । उनले पर्याप्त जनशक्ति र नयाँ स्वचालित मेसिनको आवश्यकता औंल्याइन् ।

वीर अस्पतालका निर्देशक डा. सेन्चुरीका अनुसार त्यहाँ दिनमा सरदर १ सय नमुना पालोमा हुन्छन् । पाटन अस्पतालमा त्यस्तै स्थिति छ । ‘हामीकहाँ हिजो (आइतबार) मात्र रौतहटबाट ३ हजार नमुना ल्याइयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाले भनिन्, ‘आज (सोमबार) पनि रौतहटबाटै ४५ वटा आइस बक्समा नमुना ल्याइएको छ । खोलेर हेर्न पनि भ्याएका छैनौं ।’ जनस्वास्थ्य प्रयोगशाला टेकुको दैनिक परीक्षण क्षमता अधिकतम १२ सय छ । उक्त प्रयोगशालामा सबैभन्दा बढी नमुना प्रदेश २ बाट दैनिक हजारवटाभन्दा बढी ल्याइन्छ ।

प्रदेश १ मा पीसीआर मेसिन थप्ने तयारी

प्रदेश १ मा पीसीआर परीक्षण क्षमता बढाउन तयारी सुरु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता विस्तार गर्ने, धरानकै हात्तीसार क्याम्पसको प्रयोगशाला र झापाको दमकस्थित भुटानी शरणार्थी शिविरको प्रयोगशालालाई पीसीआर ल्याबमा रूपान्तरण गर्ने तयारी रहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘दिनमा एक हजार नमुनाको परीक्षण गर्ने गरी पूर्वाधार तयारीमा लागेका छौं,’ उनले भने ।

मन्त्री घिमिरेले तिब्बत सरकारले दिएको पीसीआर मेसिनमध्ये एउटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र अर्को मेची अस्पतालमा राख्ने काम भइरहेको पनि बताए । अहिले विराटनगरस्थित कोसी अस्पतालले ७०, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ८५ र बीपी प्रतिष्ठानले २ सय स्वाब एक दिनमा परीक्षण गर्छन् । मेची अस्पतालमा राखिने मेसिनले दिनमा ५० वटा स्वाब परीक्षण गर्नेछ । आइतबार बेलुकीसम्म ११ हजार २ सय ५४ नमुना संकलन भएकामा १ हजार ४ सय ४२ को परीक्षण गर्न बाँकी छ । प्रयोगशालाको दैनिक क्षमता ३५० हाराहारी भए पनि त्यसभन्दा कम परीक्षण भइरहेको छ ।

प्रदेश २ मा निकै सुस्त

जनकपुर र वीरगन्जका प्रयोगशालामा करिब ८ हजार स्वाबको नमुना परीक्षण गर्न बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालाले एकपटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने भए पनि ४५ वटाको मात्र परीक्षण हुने गरेको प्रयोगशाला प्रमुख रामविनय साहले बताए ।

वीरगन्जको नारायणी अस्पतालमा एकचोटिमा ३४ वटा नमुना परीक्षण गर्न सकिन्छ । ‘बढी परीक्षणका लागि पुलिङ विधिअनुरूप ५/७ वटा नमुना एउटैमा हालेर परीक्षण गर्ने गरिएको छ,’ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने । उनका अनुसार पुलिङ विधिमा कुनै नमुनाको पोजिटिभ रिपोर्ट आए त्यसलाई फेरि बेग्लाबेग्लै परीक्षण गरिन्छ । पछिल्लो समयमा नारायणीको प्रयोगशालामा पर्सा मात्र नभई बारा, रौतहट, सर्लाही र जनकपुरबाट पनि नमुना ल्याइने गरेको डा. उपाध्यायले जानकारी दिए ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पीसीआर मेसिन थपेर परीक्षणको दायरा बढाउने योजना रहेको सुनाए । ‘महोत्तरीको बर्दिबासमा पीसीआर मेसिनका लागि टेन्डर आह्वान भइसकेको छ, राजविराजमा मेसिन जडान गरेर ट्रायल परीक्षण भइरहेको छ, रौतहटमा पनि पीसीआर मेसिन जडान गर्ने योजना छ,’ उनले भने । संघ सरकारसँग पनि पीसीआर मेसिन माग गरिएको उनले जानकारी दिए । ‘क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना संक्रमणको जोखिम उच्च छ,’ उनले भने, ‘उनीहरूलाई परीक्षण नगरी समुदायमा पठाउन सकिँदैन ।’

वाग्मतीमा उपत्यकाबाहिर परीक्षणको भार कम

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र भरतपुरमा रहेको कोभिड—१९ परीक्षण प्रयोगशालाले आइतबारसम्म ५ हजार ५ सय ९० जनाको स्वाब परीक्षण गरेका थिए । दुवै प्रयोगशालामा जनशक्ति र किट अभावले परीक्षण छिटो हुन सकेको छैन । हेटौंडाको प्रयोगशालामा एकपटकमा ९३ नमुना परीक्षण गर्न सकिन्छ । प्रयोगशाला प्रमुख डा. नारायण कार्कीले जनशक्ति भए दिनमा करिब ३ सय नमुना परीक्षण गर्न सकिने बताए ।

प्रदेश–२ बाट समेत नमुना ल्याइने यहाँ आइतबार किट अभावले परीक्षण रोकियो । ‘प्राविधिकको कमीले पीसीआर मेसिनलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन सकेका छैनौं,’ सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख एवं प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले भने, ‘जनशक्ति मागिरहेका छौं ।’ प्रयोगशालामा ६ जनामात्र कर्मचारी छन् । वाग्मती प्रदेशको उपत्यकाबाहिर हेटौंडा, चितवन र काभ्रेमा कोभिड—१९ परीक्षण प्रयोगशाला छ ।

भरतपुरमा रहेको प्रयोगशालामा शनिबारसम्म २ हजार ७ सय ५९ वटा नमुना परीक्षण गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । प्रयोगशालाको व्यवस्थापन भरतपुरको सरकारी अस्पतालले गर्दै आएको छ । पछिल्लो समय सरदर दिनमा १ सय २५ वटा नमुना परीक्षण हुँदै आएको छ । यहाँ चितवनका साथै पूर्वी र पश्चिम नवलपरासी, कपिलवस्तु, धादिङ र मकवानपुरबाट नमुना परीक्षणका लागि ल्याइने गरेको छ । यहाँको पीसीआर मेसिनमा एक पटकमा ९० वटा नमुना राख्न मिल्छ । सामान्यतया दिनमा तीन सयवटा नमुना परीक्षण गर्न मिल्छ । तर त्यसअनुरूप जनशक्ति छैनन् । प्रयोगशालाका १० कर्मचारी बिहानदेखि राति अबेलासम्म काममा जुट्नुपरेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

गण्डकीलाई केही सहज

गण्डकी प्रदेशमा विदेशबाट आउने र अग्रपंक्तिमा बसेर काम गर्ने सबैको पीसीआर परीक्षण गर्न क्षमता बढाउन लागिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । त्यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिमबहादुर खड्काका अनुसार एकैसाथ धेरै व्यक्ति भारतबाट भित्रिँदा पीसीआर परीक्षणमा केही समस्या देखिएबाहेक प्रदेशमा तत्काललाई स्वास्थ्य सामग्रीको अभाव छैन । बाहिर रहेका ६० हजारसम्म फर्कने अनुमान गरेर स्वास्थ्य सामग्री व्यवस्थापन थालिएको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. रामबहादुर केसीका अनुसार प्रदेशभर कोरोना संक्रमितको उपचारका लागि तत्काल १ हजार बेड व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ ।

प्रदेशमा शुक्रबारसम्म स्वाब परीक्षणका लागि ४ हजार ६ सय ८७ नमूना संकलन भएकामा ७ सय ५४ वटाको नतिजा आउन बाँकी रहेका प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक सपना सुवेदीले जानकारी दिइन् ।

प्रदेश ५ मा करिब ६ हजार नमुना पालोमा

प्रदेश ५ मा भैरहवा, दाङ र नेपालगन्जमा प्रदेशस्तरका प्रयोगशाला छन् । आइतबारसम्म जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १ हजार २ सय २७, राप्ती स्वास्थ्य विज्ञान प्रयोगशालामा ४ हजार ३ सय ५ र भेरी अस्पताल प्रयोगशालामा १ सय ७८ नमुना परीक्षण कुरेर बसेका छन् ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारसम्म ५ हजार ९ सय १५ नमुना संकलन भएकामा ४ हजार २ सय ७४ को परीक्षण गरिएको प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए । उनका अनुसार अझै १ हजार ६ सय ४१ नमूना परीक्षणको प्रक्रियामा छन् । एकपटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने भए पनि विभिन्न क्षेत्रका नमुना संकलन भएकाले समय लाग्ने गरेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् ।

पोजिटिभ केसहरू बढ्न थालेपछि परीक्षणको क्षमता घट्दै गएको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । सुरुमा दिनमा ३ सय स्वाब परीक्षण हुने गरेकामा २ सय ७० हुँदै अहिले १ सय ५० मा झरेको उनले जानकारी दिए । उनका अनुसार आइतबारसम्म ४ हजार ७ सय ७८ स्वाब नमुना संकलन भएकोमा ३ हजार ६ सय २६ वटा परीक्षण भएको थियो ।

भेरी अञ्चल अस्पताल नेपालगन्जका मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रकाश थापाले ५ हजार २ सय नमुना संकलन भएकोमा ४ हजार ७ सय ५० को परीक्षण भइसकेको बताए । जसमध्ये २ सय ८१ को पोजिटिभ रिपोर्ट आएकोमा एक जनाको मृत्यु भएको छ । ४ सय ५० जनाको अझै परीक्षण गर्न बाँकी छ । एक पटकमा ७२ वटा नमुना राख्न सकिने र दैनिक १ सय २० वटासम्म परीक्षण हुने गरेको उनले बताए ।

दैनिक सयौं नमुना क्वारेन्टाइनबाट आइरहेकाले परीक्षणमा ठूलो चाप रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालले बताए । प्रदेश ५ मा २१ हजार १ सय २८ स्वाब संकलन भएकोमा ५ हजार २१ नमुना परीक्षणको क्रममा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।

कर्णालीमा पनि चाप उस्तै

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म १० हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६ सय ५७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वाब संकलन गरिएका १ हजार ५ सय जनाको परीक्षण गर्न बाँकी नै छ ।

प्रदेश प्रयोगशालामा ३ हजार ९ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । एक साताअघि आएका १० हजार आरडीटी किट सबै जिल्लामा पठाइएको क्षयकुष्ठ अधिकृत केसीले जानकारी दिए । ‘अझै पनि किट पर्याप्त छैन,’ उनले भने, ‘दुई हजार पीसीआर किट आएको छ, परीक्षण बढाउने हो भने यतिले पुग्ने अवस्था छैन ।’

कर्णालीमा अहिले २८ हजार ६६ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ हजार १ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । यहाँ एक पटकमा ९६ वटा नमुनाको परीक्षण गर्ने मेसिन छ । आइतबार साँझसम्म ६ हजार १ सय ६९ जनाको स्वाब परीक्षण गरिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । अहिले प्रतिष्ठानसँग आफैले किनेको एक हजार थान पीसीआर किट मौज्दात छ । एक हजार थान किट प्रदेश सरकारबाट आउन बाँकी रहेको रजिस्ट्रार काफ्लेले जनाए । उनका अनुसार सोमबार दैलेखबाट एक हजार र कालीकोटबाट ५ सय नमुना पीसीआर परीक्षणका लागि ल्याइएको छ । आइतबार जुम्लाबाट ५ सय नमुना संकलन भएको थियो । ‘नमुना संकलनको काम जारी छ, परीक्षणका लागि झन्डै दुई हजार नमुना संकलन गरिसकेका छौं,’ उनले भने, ‘पुलिङ सिस्टमबाट परीक्षणको काम भइरहेको छ ।’

सुदूरपश्चिममा रोकियो स्वाब संकलन

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले ६ दिनअघि जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्राचार गर्दै थ्रोट स्वाब नमुना संकलन रोक्न भन्यो । धनगढीमा सञ्चालित एउटा मात्रै मेसिनले भार थेग्न नसकेको जनाउँदै निर्देशनालयले संकलन रोकेको थियो ।

दैनिक क्षमता ३९६ भए पनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालअन्तर्गतको प्रयोगशालामा दैनिक अढाई सय नमुना मात्र परीक्षण भइरहेको छ । लामो समय नमुना थन्क्याएर राख्दा बिग्रन सक्ने जोखिम हुने ल्याब प्राविधिकहरू बताउँछन् ।

सोमबार बिहानसम्म क्षेत्रीय प्रयोगशालामा १ हजार ६ सय नमुना थन्किएको प्रयोगशालाका निमित्त निर्देशक रामप्रशाद ओझा बताउँछन् । ‘यहाँको प्रयोगशालाको परीक्षण क्षमताअनुसार यसअघि संकलित स्वाब परीक्षण गर्न पनि कम्तीमा पाँच दिन लाग्ने देखिन्छ,’ उनले भने । गत चैत २० गते सेती प्रादेशिक अस्पतालमा दैनिक ८ वटा जाँच गर्न सकिने पीसीआर मेसिन स्थापना भएको थियो । त्यतिले नधान्ने भए पछि चैत २६ गते केन्द्रीय पशु प्रयोगशालामा रहेको मेसिन धनगढी ल्याएर परीक्षण सुरु गरिएको हो । तर नमुना संकलन दर अत्यधिक भएकाले एउटै मेसिनले धान्न सक्ने अवस्था नरहेको प्रयोगशाला इन्चार्ज रमेश शाही बताउँछन् ।

निर्देशनालयका अनुसार आइतबारसम्म ८ हजार ९१९ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । सोमबार बिहानसम्म १ हजार ६ सय नमुना परीक्षणको पर्खाइमा थिए । आरडीटीमा पोजिटिभ नतिजा आएको सबैको अझै पीसीआर परीक्षण हुन सकेको छैन । यति बेला सुदूरपश्चिमका क्वारेन्टाइनमा ६५ हजारभन्दा बढी स्थानीय छन् । चैत १५ गते प्रदेश सरकारले प्रदेशका धनगढी, बैतडी र डोटीमा कोरोनाको परीक्षण प्रयोगशाला स्थापना गर्ने औपचारिक निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार प्रदेश आपूर्ति व्यवस्था केन्द्रलाई तत्काल पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाउन निर्देशन पनि दिएको थियो । तर निर्णय भएको अढाई महिना पुग्न लाग्दा पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । केन्द्रले तीनवटा पीसीआर मेसिन खरिद गर्न टेन्डर गरे पनि आपूर्तिकर्ताले रुचि नदेखाएकाले उपकरण खरिद हुन नसकेको केन्द्रका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्ट बताउँछन् । तीनवटा पीसीआर मेसिन खरिद गर्न सोमबार पुनः प्रक्रिया सुरु गरिएको निर्देशनालयले जनाएको छ । आपूर्तिकर्ताले फटाफट उपकरण ल्याए असार १० सम्म नयाँ उपकरण धनगढी पुग्ने स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बताउँछन् । तर मेसिन आए पनि तत्कालै सञ्चालन गर्न भौतिक पूर्वाधार र जनशक्ति नरहेको उनको भनाइ छ ।

अतुल मिश्र (काठमाडौं), देवनारायण शाह (विराटनगर), भूषण यादव (वीरगन्ज), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), घनश्याम गौतम (रूपन्देही), दुर्गालाल केसी (दाङ), लालप्रसाद शर्मा (पोखरा), चाँदनी कठायत (वीरेन्द्रनगर), एलपी देवकोटा (जुम्ला) र अर्जुन शाह (धनगढी)

प्रकाशित : जेष्ठ २७, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?