रुपन्देहीमा एक युवकले गरे ५ जना साथीको हत्या [अपडेट]

जेष्ठ २७, २०७७

घनश्याम गौतम

रुपन्देही — रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् ।  मृतक र हत्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully