२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

झन्डै दुई महिनादेखि माल्दिभ्समा ७ नेपाली अलपत्र

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को कारण अन्तर्राष्ट्रिय उडान लगातार रुपमा अवरुद्ध भएपछि माल्दिभ्समा ७ नेपाली अपलत्र परेका छन् । 

झन्डै दुई महिनादेखि माल्दिभ्समा ७ नेपाली अलपत्र

५० दिन अघिदेखि नेपाल आउन चाहेर पनि उनीहरु आउन नसकेका हुन् । सातै नेपाली अहिले माल्दिभ्सको राजधानी मालेको एक होटलमा बसिरहेको सन्तोष मगरले कान्तिपुरसँगको कुराकानीमा बताए ।

मगर मालेमा सवारी चालकको रुपमा काम गर्छन् । उनका अनुसार सातैजना नेपाली दुई वर्षअघि सुरक्षागार्डको जागिरका लागि माल्दिभ्स गएका थिए । उनीहरुको कम्पनीसँगको सम्झौता ५० दिनअघि सकिएको हो ।

उनीहरुलाई त्यहाँ कम्पनी ‘एक्सकप्स सेक्युरिटी सर्बिसेस एन्ड सोलुसन’ले दुई वर्षअघि लगेको थियो । उनीहरुको सम्झौता मार्चमा सकियो र त्यो लगतै कोरोना भाइरसको कारण लकडाउन भएपछि समस्या भएको हो । सम्झौता सकेपछि कम्पनीले उनीहरुप्रति कुनै पनि जिम्मेवारी वहन नगर्ने भएपछि समस्यामा परेका हुन् ।

यसरी अलपत्रमा पर्ने नेपालीहरुमा कन्चनपुरस्थित पुनर्वासका चन्दु थापा, रेशम तामाङ र विश्वास तामाङ छन् । नेपालगन्जका दिनेश मल्ल र दिपक मल्ल छन् । यस्तै, लमजुङका आनन्द सेढाई र धरानका विष्णु राना मगर छन् ।

सन्तोष मगरका अनुसार उनीहरुलाई माल्दिभ्समा रहेका नेपालीहरुले बस्नका लागि सहयोग गरिरहेको बताए । ‘ती भाइहरु र अन्य नेपालीहरुले पनि माल्दिभ्सलाई हेर्ने श्रीलंकास्थित नेपालको राजदूतावासमा सम्पर्क गर्दा पनि वास्ता गरिएको छैन,’ उनले भने,‘ती भाइहरु साँच्चै संकटमा छन्, छिटो उद्धार गर्नु पर्‍यो ।’

माल्दिभ्समा अहिले करिब ६ देखि ८ हजारसम्म नेपालीहरु विभिन्न पेसामा काम गरिरहेका छन् । समुद्री टापुहरुको मुलुकका रुपमा चिनिने माल्दिभ्सका करिब दुई सय टापुमा मानिसहरु बसोबास गर्छन् । अलपत्र परेका नेपालीहरुलाई भेट्नका लागि पनि गाह्रो रहेको मगरले बताए । ‘बाहिर निस्कनेबित्तिकै त्यहाँको एक हजार जरिवाना गर्छ । त्यो भनेको नेपालको करिब ७ हजार हुन्छ । त्यसले गर्दा पनि बाहिर निस्कन सकिएको छैन,’ उनले भने,‘इन्टनेटमार्फत मात्र उनीहरुसँग सम्पर्क भएको छ ।’

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने भनेर १५ वटा प्राथमिकरण गरेको छ । तर माल्दिभ्सका नेपाली नागरिकलाई उद्धार गर्ने सम्बन्धमा भने हालसम्म कुनै जानकारी नभएको मगरले बताए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउने क्रममा शुक्रबार म्यान्मारबाट २६ र यूएईबाट १ सय ६८ जनालाई भित्र्याएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?