कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईबाट फर्किएकाहरु भन्छन्, 'मुलुक टेक्न पाउनुमा खुसी छौं'

लीला श्रेष्ठ

भक्तपुर — बारा कलैयाका जितेन्द्र सहनी वैदेशिक रोजगारका लागि २ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेढ महिनादेखि कामविहीन बनेका उनी शुक्रबार साँझ मध्यपुर थिमि राधेराधेस्थित हेरिटेज प्यालेसको ‘होल्डिङ सेन्टर’ मा आइपुगे । ‘

यूएईको एक कम्पनीमा हेल्परका रुपमा कार्यरत थिएँ,’ सहनीले भने, ‘कम्पनीले साह्रै दु:ख दियो, काम छोडेर अर्को कम्पनीमा जानु भन्दै निकाल्यो ।’

काम गर्दै गरेको कम्पनीले निकालेपछि स्वास्थ्य संकटको घडीमा अर्को काम पाउन सम्भव नभएको र रोगले मर्नुभन्दा आफ्नो मुलुकमा फर्किनु उचित लागेर आएको उनले बताए । ‘पैसाको नाममा यूएईको १० रुपैयाँ बाँकी छ, हिजोदेखि केही खान पाएको छैन,’ उनले भने, ‘आफ्नो मुलुक टेक्न पाएकोमा खुसी छु ।’ घरमा ४ सन्तानसहित ६ जनाको परिवार आफ्नो बाटो कुरेर बसेको उनले बताए ।

धनुषा जनकपुरका हरिकिशोर चौधरी यूएईमा तीन महिना सेल्फ क्वारेन्टाइन बसे । वैदेशिक रोजगारका लागि ८ महिनाअघि यूएई पुगेका चौधरीले पाँच महिनामात्र काम गर्न पाए । ‘ऋण गरेर धन कमाउन गएको थिएँ, रित्तै फर्किने परिस्थिति आइलाग्यो,’ उनले भने, ‘ऋण कमाएर पनि सकुशल आफ्नो मुलुक टेक्न पाउँदा खुसी लाग्दो रैछ ।’ भोकले लखतरान परेका चौधरीले यूएईमा पेट भरुञ्जेल खानसमेत नपाएको बताए ।

सर्लाही वाग्मतीका युवराज स्याङ्तान वैदेशिक रोजगारका लागि यूएई पुगेको छ महिनामात्र भयो । तीन महिना त ‘सेल्फ क्वारेन्टाइन’मै बिताएँ । एक कम्पनीमा हेल्परको रुपमा काम गर्न पुगेका स्याङ्तान खाली हात स्वदेश फिर्ता भएका छन् । ‘तीन महिनाको कमाईले टिकट भाडा किन्नमात्र पुग्यो,’ उनले भने ।

त्यस्तै, सप्तरी कञ्चनपुरकी सीतादेवी सतार यूएईको एक घरमा घरायसी काम गर्थिन् । ९ महिनाअघि घरायसी कामका लागि यूएई पुगेकी सतार मुलुकमा कोभिड–१९ संक्रमण फैलिएपछि दुई महिनादेखि कामविहीन भइन् । ‘काम गर्दै गरेको घरबाट जबरजस्ती निकालेर जेल पठायो,’ उनले भने, ‘बिनागल्ती जेल पठाएपछि, फिर्ता भएँ र स्वदेश फर्किएँ ।’ काम गरेको पारिश्रमिकसमेत मास्टरले खोसेको उनले गुनासो गरिन् । शुक्रबार यूएईबाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार आइपुगेका छन् । जसमध्ये, १ सय ५५ पुरुष र १३ महिला छन् ।

प्रदेश नम्बर १ का ४७ र प्रदेश २ का २३ जना नागरिकलाई भक्तपुरमा व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा विश्राम गराएको छ । ‘होल्डिङ सेन्टर’ मा फोटोसहितको नामावली विवरण संकलन गरेर खाना खुवाउने, सिमकार्ड वितरण गर्ने कार्य गरेको छ । खाना खुवाईवरी विश्राम गराएर आ–आफ्नो गन्तव्यमा पठाउने वीरदल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताए ।


प्रकाशित : जेष्ठ २४, २०७७ ०३:४८
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो पटक देशभर भ्यागुताको अध्ययन गरिने

गोविन्द पोखरेल

काठमाडौँ — गत वर्ष उपत्यकामा मात्रै सीमित भएको भ्यागुता अध्ययन अभियान यस वर्ष देशव्यापी रुपमा अध्ययन गर्न लागिएको छ । नेपालमा एकैपटक देशव्यापी रुपमा भ्यागुताको अध्ययन यसअघि भएको छैन ।

नागरिक वैज्ञानिक अवधारणामा आधरित भएर 'विश्‍व वातावरण दिवस'को अवसर पारेर शुक्रबार क्यारोन नेपाल, इन्प्रोक्स र डब्लूसीएनको संयुक्त पहलमा अनलाइन प्लेटफर्म मार्फत 'क्रोकिङ मनसुन २०२०' सुरु गरिएको हो ।

नागरिक वैज्ञानिक अवधारणा अन्तर्गत यसवर्ष भ्यागुतासम्बन्धी जनचेतना फैलाउने, अनुसन्धान गर्ने, प्रजाति पहिचान गर्ने जस्ता अन्य कार्यहरु गरिने छ । मनसुनभर चल्ने यो अभियानमा विभिन्न विश्वविद्यालय तथा संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति, विद्यार्थी,अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रकृतिमा अभिरुचि राख्‍ने जोसुकै जोडिन सक्‍नेछन् ।

गत वर्षको अभियानमा उपत्यकामा खस्रे भ्यागुताका दुई प्रजातिसहित सात प्रजातिका भ्यागुताको अभिलेख गरिएको थियो । गत वर्षको अनुसन्धानले उपत्यकामा अन्य प्रजातिका भ्यागुताहरु भेटिने आधारहरु पनि भएको इन्प्रोक्सका सचिव चन्द्रमणि अर्यालले बताए । गत वर्षको अभियानमा २ सय ५ वटा भ्यागुताका तस्बिरसहित ८० जनाको सहभागिता थियो ।

यस वर्ष पूर्व झापादेखि पश्चिम कैलालीसम्मका युवा वैज्ञानिकहरुले अभियानमा जोडिएका छन् । क्यारोनका संस्थापक एवं उभयचरका अध्येता प्रकाशचन्द्र अर्यालले भ्यागुताको निरन्तर अध्ययनबाट आउने निष्कर्षलाई नीति निर्माण तहका मानिसहरुलाई पुर्‍याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए ।

भ्यागुता जस्ता उभयचर जीवहरुको संख्या घट्दा मानिसको दैनिक जीवनमा असर गर्नु साथै लामखुट्टेलगायतका किराहरु बढ्ने सक्ने भएकाले पनि भ्यागुताको अनुसन्धान तथा संरक्षण आवश्यक रहेको अर्यालले बताए । उनका अनुसार भ्यागुताले लामखुट्टेलगायत अन्य किट/किराहरु खाइदिएर मानव तथा बालिमा लाग्ने रोगहरु नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्छ । पारिस्थितकीय प्रणालीमा भ्यागुतालगायतका जीवहरुले खाद्य चक्रमा महत्वपूर्ण योगदान गर्छन् ।

नागरिक वैज्ञानिक अवधारणाले मानिसहरुलाई संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै तथ्यांक निर्माणमा यो अभियानले सहयोग पुर्‍याउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

नेपालमा हालसम्म ५७ प्रजातिका उभयचर(जमिन र पानी दुवैमा बस्ने जीव)हरु पाइन्छन् । एम्फिबिया वेबका अनुसार नेपालमा ५४ प्रजातिका भ्यागुताहरु पाइन्छन् ।

कसरी गरिन्छ अध्ययन ?

यो अभियानअन्‍तर्गत मोबाइल तथा क्यामेराबाट भ्यागुताको तस्बिर खिचेर अभियानमा उपलब्ध गराइएको अनलाइन प्लेटफर्म मार्फत् फोटो फोटो अपलोड गरिन्छ । उक्त भ्यागुता पाइएको स्थान, अवस्था, अवस्थितिसहितका विविध जानकारी अभियानमा संलग्‍नहरुले पठाउनेछन् । प्राप्त फोटो केन्द्रीय पोर्टलमा संकलन हुन्छ । त्यसपछि फोटो र त्यससम्बन्धी पठाइएको विवरणलाई संश्लेषण गर्ने काम हुन्छ ।

अध्येता अर्यालका अनुसार संकलित फोटो डाउनलोड गरेपछि उक्त प्रजातिको पहिचान गर्ने, बासस्थान थाहा पाउने, भौगोलिक अवस्था, भू-बनोटसहितको जानकारीको विश्लेषण गरेर रिपोर्ट तयार गरेर सार्वजनिक गरिन्छ । भ्यागुताको प्रजातिको संख्या गणना गर्न नसकिने भएकाले वर्षौंसम्मको अध्ययनले कुन प्रजाति कहाँ पाइने र तुलनात्मक अध्ययन गर्न सकिने अनुसन्धानकर्मीहरुको भनाइ छ ।

यसबाट वातावरणीय प्रभावका कारण प्रजातिको स्थिति र अवस्थितिहरु पनि अध्ययन गर्ने आधार तय हुने क्यारोनका संस्थाप समेत रहेका त्रिवि केन्द्रीय वातावरण विज्ञानका उपप्राध्यापक मनकुमार धमलाले बताए । संरक्षणकर्मीहरुको प्राथमिकतामा पछाडि परिरहेको भ्यागुताको अभिलेखीकरण तथा अनुसन्धानमा यो अभियानले सहयोग गरेको उनको भनाइ छ । सबै आ-आफ्नो ठाउँबाट योगदान गरे मात्र भ्यागुताहरुको वास्तविक अवस्था थाहा हुने र संरक्षण गर्न सकिने उनले बताए ।

सन् २००४ पछाडि विश्वमा प्रत्येक वर्ष कम्तीमा सयवटा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ । पृथ्वीमा हालसम्म ८ हजार ७२ प्रजातिका उभयचर पाइएको छ । जसमध्ये ७ हजार १२२ प्रजातिका भ्यागुता पाइन्छन् । ती मध्ये नेपालमा ५३ प्रजातिको अभिलेख देखिन्छ ।

पारिस्थितकीय प्रणालीको सन्तुलन,वातवरणीय सन्तुलन,लामखुट्टे तथा किरा नियन्त्रण,पानी शुद्धीकरण,उत्पादकत्व बढाउनका लागि भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ । सफा पानीमा मात्र पाइने एमोलोप्स फर्मोसस् जस्ता भ्यागुताका प्रजातिलाई जैविक सूचकका रुपमा लिइने गरिन्छ ।

खानाका लागि पाहा प्रजातिको भ्यागुताको सिकार, कक्षा ११ मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भू–उपयोगमा आएको परिवर्तन्, पानीको प्रदूषण जस्ता अन्य मानवीय क्रियाकलापहरुले भ्यागुताको प्रजाति संकटमा पर्दै गइरहेका छन् । जलवायु परिवर्तनका कारण भ्यागुताको विशिष्ट किसिमको जीवनचक्रमा पनि असर पुर्‍याउने गरेको छ । ‘गोल्डेन टोड’ प्रजातिको भ्यागुता संसारबाटै लोप भएर जानुमा जलवायु परिवर्तनलाई पनि कारक मानिएको छ ।

नेपालमा कृषि क्षेत्रमा विषादीहरुको प्रयोगले स-साना जीवहरुमा नकारात्मक प्रभाव पर्दै गए पनि पर्याप्त अनुसन्धान नभएको विज्ञहरुले बताएका छन् । भ्यागुतासम्बन्धीको अनुसन्धान धेरै कम हुँदा यसका अन्य आयामहरु बारे बुझ्न कठिनाइ भइरहेको अनुसन्धानकर्मीहरुको बुझाइ छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ २१:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×