मलेसियाको विमानस्थलमा अड्किएका दर्लामी नेपाल आइपुगे

उडान र भिसा दुवै ‘क्यान्सिल’ भएपछि उनी ७० दिनदेखि विमानस्थलको टर्मिनलमै बसिरहेका थिए
होम कार्की

काठमाडौँ — मलेसियाको विमानस्थल (टर्मिनल) भित्रै ७० दिनदेखि प्रतीरक्षारत नवलपरासीका प्रीतम दर्लामीलाई उद्धार गरी बुधबार नेपाल ल्याइएको छ ।


क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का कर्मचारी लैजान चार्टर गरिएको मलेसियन एयरलाइन्सको जहाजमा उनलाई नेपाल पठाइएको हो । बुधबार दिउँसो साढे ३ मा त्रिभुवन विमानस्थलमा आइपुगेका प्रीतमलाई नेपाली सेनाले कीर्तिपुरस्थित क्वारेन्टाइनमा राखेको छ ।

‘७० दिनदेखि एक्लै विमानस्थलको टर्मिनलमा बस्दा दर्लामीको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । नेपालमा विमान जान लागेको खवर पाएको १८ घण्टाभित्र सरकारसँग समन्वय गरी पठाउन सफल भयौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘लकडाउनपछि नेपाल पठाइएका उनी पहिलो नेपाली हुन् ।’


सिंगापुर एयरलाइन्समार्फत नेपाल जान प्रीतम विमानस्थलभित्र पुगेका थिए । ‘मलेसियाको अध्यामगन पार गरेर टर्मिनलमा पुगेको थिएँ । एक घण्टापछि विमान उड्दै थियो । सिंगापुरबाट पहिलो उडान नेपाल गएर फर्किर्एको थियो । दोस्रो उडान भने भएन’, उनले भने, ‘न नेपाल उड्न पाएँ न टर्मिनलबाट बाहिर निस्कन पाएँ । मेरो भिसा क्यान्सिल भइसकेको थियो ।’

विमानस्थलभित्र रहेको रेस्टुरेन्टसमेत बन्द भएपछि उनलाई खाना खानै समस्या पर्‍यो । दूतावासले नै नियमित रूपमा बाहिरबाट चिउरा, चाउचाउ र नगद दिँदै आएको थियो । ‘भित्र सुरक्षागार्ड थिए । उनीहरूलाई पैसा दिएपछि बाहिरबाट खाना ल्याइदिन्थे’, उनले भने । दर्लामीले नेपाल फर्कन कुनै शुल्क भने तिर्नुपरेन । ‘मैले दूतावासबाट ठूलो सहयोग पाएँ । यो गुनलाई जिन्दगीभर सम्झिनेछु’, उनले भने ।

दूतावासका अनुसार मलेसियाबाट स्वदेश फिर्न चाहने नेपालीको संख्या झन्डै ६ हजार छ । डिपोर्टेसन सेन्टरमा मात्रै २ सय जना छन् । नेपालीलाई केही दिनमा पठाउनका लागि व्यावसायिक उडानलाई अनुमति दिन सरकारलाई अनुरोध गरिएको राजदूत पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

क्वारेन्टाइनबाट घर फर्किएका सुर्खेतका एक युवाको मृत्यु

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — दुई सातासम्म क्वारेन्टाइन बसेर घर फर्केका एक युवाको बिहीबार बिहान मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहान करिब २ बजेतिर मृत्यु भएको हो ।

भारतको मुम्बईमा मजदुरी गर्ने उनी जेठ पहिलो साता घर फर्किएका थिए । स्थानीय सरकारले १५ दिनसम्म जनता मावि विद्यापुरको क्वारेन्टाइनमा राखेको थियो । बुधबार दिउँसो आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साथीहरुसँग घरतिर लागेका थिए ।

क्वारेन्टाइनबाट ८ घण्टा पैदल हिँडेर गाउँमा पुगेका उनी घरमा नबसी नजिकैको एक सामुदायिक भवनमा बसेका थिए । पञ्चपुर–१ का वडाध्यक्ष धनबहादुर बुढाका अनुसार क्वारेन्टाइनबाट उनीसँगै गएको ६ जनाको टोलीलाई माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो ।

‘आरडीटी रिपोर्ट नेगेटिभ आए पनि हामीले एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएका थियौं, त्यहीअनुसार घर नजिकैको भवनमा बसेका थिए,’ उनले भने, ‘राति एक्कासि उनीसँग रहेका साथीहरुले मृत्यु भएको जानकारी दिए ।’ बिहान पौने २ बजेतिर समस्या भएको भन्दै युवाहरुले खबर गरेका र आधा घण्टामा त्यहाँ पुग्दा मृत्यु भइसकेको उनले बताए ।

मृतक युवाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारे निर्णय गरिने वडाध्यक्ष बुढाले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×