रुकुमको सोती घटनामा बेपत्ता भएकाको १० दिनपछि शव भेटियो, मृतकको संख्या ६ पुग्यो 

भीमबहादुर सिंह

जाजरकोट — रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो । 

बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताए ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

को हुन् शाही ?

१९ वर्षीय शाही भेरी नगरपालिका–११, मटेलाका इन्द्रबहादुर र भीमा कुमारीका कान्छा छोरा हुन् । उनी शीतल मावि, चौरजहारीबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुँदै थिए । उनका बुवा इन्द्रबहादुर जाजरकोट कारागारमा कैद भुक्तान गर्दै आएका छन् । गोविन्दले एसईई उत्तीर्ण गरेर वैदेशिक रोजगारमा जाने लक्ष्य राखेका थिए । गत शनिबार साथीलाई भेट्न र काफल खान जान्छु भनी उनी घरबाट हिँडेका थिए ।


प्रकाशित : जेष्ठ २०, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम हत्याकाण्डको विरुद्ध अर्धनग्‍न शरीरमा कोर्रा हान्दै प्रदर्शन

पर्वत पोर्तेल

काँकडभिट्टा — रुकुम हत्याकाण्ड विरुद्ध झापाका दलित युवाहरुले अर्ध नग्‍न शरीरमा कोर्रा हानेर मंगलबार अपरान्ह सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

नेपाल उत्पीडित विद्यार्थी संगठनको आह्वानमा झापाको बिर्तामोडमा भेला भएका झापाका दलित युवा, विद्यार्थी र राजनीतिक दलका दलित अगुवाहरुले रुकुम घटना जातकै आधारमा नियोजित रुपमा घटाइएको आरोप लगाए । स्थानीय हनुमान सेन्टरबाट सुरु भएको विरोध प्रदर्शनले बजार परिक्रमा गरेको थियो । घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन उनीहरुले माग गरेका छन् ।


अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकलगायत उनका ५ जना साथीमाथि गरिएको हत्या अमानवियताको पराकाष्टा भएको भन्दै यस्तो जघन्य अपराधमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो ।

जातका आधारमा गरिएको यस्तो जघन्य अपराध विरुद्ध झापाका दलित संघ संस्थाहरुसंगै गैरदलितहरुले समेत ऐक्यबद्धता जनाए । यसअघि हत्या विरोधमा पूर्वी नाका काँकडभिट्टामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो । झापाका राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×