चिकित्सक भन्छन्– ‘कोरोनामा दीर्घरोगी र बूढाबूढी बढी सजग होऔं’

फातिमा बानु

काठमाडौं — दीर्घरोगी र ६० वर्षमाथिका मानिस कोरोना संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाई जटिल अवस्थामा पुर्‍याउने देखिएको छ ।

चिकित्सक भन्छन्– ‘कोरोनामा दीर्घरोगी र बूढाबूढी बढी सजग होऔं’

नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । तीमध्ये जेठ ८ मा मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरुषलाई जन्डिस थियो । संक्रमणका कारण निमोनिया भएर उनले ज्यान गुमाए । जेठ ४ मा मृत्यु भएका बाराका ७० वर्षीय पुरुषलाई क्षयरोग र जेठ १४ मा मृत्यु भएका ललितपुरका ५६ वर्षीय पुरुषलाई कलेजोसम्बन्धी समस्या थियो ।

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार दीर्घरोगीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई कोरोनाले छिट्टै आक्रमण गर्छ । उनीहरूमा लक्षण पनि कडाखाले देखिन्छ । ‘कोरोनाले फोक्सोमा आक्रमण गर्छ र निमोनिया गराइदिन्छ,’ उनले भने, ‘उपचार नगरे यसले विस्तारै अन्य अंगलाई समेत फेल गराइदिन्छ र बिरामीको मृत्यु हुन्छ ।’

स्वस्थ व्यक्तिले संक्रमण भए पनि सजिलै पचाउन सक्ने हुनाले उनीहरूमा लक्षण नदेखिने ढुंगानाले बताए । दीर्घरोगीलाई भने यो भाइरसले ज्यानै लिन सक्ने भएकाले बढी सजगता अपनाउनुपर्ने उनको भनाइ छ । ‘मास्क अनिवार्य लगाउनुपर्‍यो,’ उनले भने, ‘भिडभाडमा त जानै भएन ।’ उच्च रक्तचाप, मधुमेहजस्ता रोगका बिरामीले औषधि नियमित खानैपर्ने र चिकित्सकको निगरानीमा बस्नुपर्ने ढुंगानाले बताए । उनका अनुसार यस्ता बिरामीले ज्वरो मात्रै आए पनि कोरोना परीक्षण गराइहाल्नुपर्छ । ‘यस्ता बिरामीलाई लक्षित गरी देशको स्वास्थ्य संरचना चुस्तदुरुस्त बनाउनुपर्छ नत्र अस्पताल नपुगेका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्छ,’ उनले भने, ‘आईसीयू र भेन्टिलेटर सुविधा नभएका दुर्गमका बिरामी बढी जोखिममा छन् ।’

मिर्गौलारोगी शारीरिक रूपमा कमजोर हुने हुँदा भाइरसले छिट्टै आक्रमण गर्ने विशेषज्ञ डा.ऋषिकुमार काफ्ले बताउँछन् । डायलसिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा कोरोनाको उच्च जोखिम रहेको उनले बताए । ‘मिर्गौलाजस्तो मुख्य अंग फेल भएको अवस्थामा फोक्सोमा संक्रमण भयो भने शरीरले धान्न सक्दैन,’ उनले भने, ‘तुरुन्तै निमोनिया भएर मृत्यु नै हुन सक्छ ।’

यस्ता बिरामीलाई यो बेलामा बढी स्याहार र हेरबिचार गर्नुपर्ने उनले बताए । नेपालमा हालसम्म मिर्गौलाका बिरामीेमा संक्रमण देखिएको छैन । संक्रमित भइहाले अन्यमा सर्न नदिन उनीहरूलाई आइसोलेसन वार्डमा राखेर डायलसिस गर्नुपर्ने डा. काफ्लेले बताए । ‘आइसोलेसनमा राख्न नसक्नेले ६ फिटको दूरीमा बेड राखेर डायलसिस गर्नुपर्ने निर्देशिका छ,’ उनले भने, ‘संक्रमित राखेको बेड र कोठा डिसइन्फेक्ट गरिराख्नुपर्छ ।’

डेढ महिनाअघि विराटनगरको नोबेल मेडिकल कलेजमा डायलसिस गराइरहेका एक बिरामीमा आरडीटी पोजिटिभ आउँदा दुई दिन डायलसिस बन्द भएको थियो । भोलि धेरै जनामा संक्रमण देखिएर यसै गरी सेवा बन्द भए बिरामीले भाइरसका कारण भन्दा डायलसिस नपाएर ज्यान गुमाउने स्थिति आउन सक्ने काफ्लेले बताए । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब पाँच हजार व्यक्तिले मिर्गौलाको नियमित डायलसिस गराइरहेका छन् ।

मुटुरोगका बिरामी पनि उत्तिकै जोखिममा छन् । बढी उमेरका व्यक्तिमा मुटुरोग लाग्ने र उनीहरूले धेरै औषधि सेवन गर्ने भएकाले रोगसँग लड्ने क्षमता कम हुने मुटु शल्यचिकित्सक डा. विश्व पोखरेल बताउँछन् । लकडाउनमा संक्रमणले भन्दा पनि उपचार नपाएर बिरामीको मृत्यु हुन सक्ने जोखिम उनले औंल्याए । ‘लकडाउन कारण कति बिरामीले औषधि पाएका छैनन्,’ उनले भने, ‘एम्बुलेन्स नपाएर समयमा अस्पताल पुग्न नसकी हृदयघातले मृत्यु हुने धेरै जोखिम छ ।’ कोरोनाले सबैभन्दा बढी फोक्सोमा असर गर्ने र सँगै जोडिएको अंग भएकाले मुटुमा छिटो संक्रमण फैलिने पोखरेलले बताए ।

दीर्घरोगीलाई बचाउन युवा, बालबालिकालगायत सक्रिय वर्गले भूमिका खेल्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘बाहिर हिँडडुल गर्ने मान्छे रोगी र बूढाबूढीको नजिक जान भएन,’ उनले भने, ‘खानपान र रहनसहनमा विशेष सरसफाइ अपनाउनुपर्‍यो ।’

प्रकाशित : जेष्ठ १८, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?