कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक सर्वेक्षण : ५ वर्षपछि पर्यटन क्षेत्रमा ९ लाखलाई रोजगारी

नेपालमा सर्वाधिक भम्रण गरिने गन्तव्य यस वर्ष पनि लुम्बिनी
सुरज कुँवर

काठमाडौँ — कोराना महामारी कारण सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री युवराज खतिवडाद्वारा मंगलबार संघीय संसद्मा प्रस्तुत चालु वर्षको आर्थिक सर्वेक्षणअनुसार पर्यटकको बसाइ वृद्धि भइरहेका बेला महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थलिएको छ ।

आर्थिक सर्वेक्षण : ५ वर्षपछि पर्यटन क्षेत्रमा ९ लाखलाई रोजगारी

हाल पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, एयरलाइन्स, टुर–ट्राभल, पदयात्रा, हिमाल आरोहण सबै बन्द छन् । वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको टिकट तथा कार्गो कारोबार हुने नेपालमा स्वदेशी तथा विदेशी हवाई उद्योगले मात्रै दैनिक १० अर्ब रुपैयाँबराबरको कारोबार गर्थे । जुन ७० दिनयता ठप्प छ । सर्वेक्षणले नेपालमा उडान भर्ने वायुसेवा कम्पनी पनि अघिल्ला वर्षको दाँजोमा वृद्धि भइरहेको देखाएको छ । २०७५/७६ मा यस्ता कम्पनीको संख्या २९ थियो तर चालु वर्ष ३० पुगेको छ । त्यस्तै नेपालको आन्तरिक उडानमा सबै मौसममा सञ्चालन हुने विमानस्थलको संख्या ३५ पुगेको छ । देशभर ५० वटा विमानस्थल छन् ।

राष्ट्रिय गौरवका आयोजनामा पर्ने विमानस्थल निर्माण कार्य अन्य आयोजनाको दाँजोमा अघि देखिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य ८६ प्रतिशत र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत सम्पन्न भइसकेको छ ।

कारोनाकै कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भम्रण वर्ष अभियान थालनी गरेरलगत्तै बन्द गर्न पुगेको सरकारले तुलनात्मक लाभको क्षेत्रका रूपमा रहेको पर्यटनबाट अबको ५ वर्षपछि ८ लाख ९८ हजारलाई रोजगारी दिँदै २५ लाख पर्यटकलाई नेपाल भम्रण गराउने लक्ष्य लिएको छ । सन् २०१९ को कुल पर्यटक आगमन हेर्दा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमा क्रमश: भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका छन् । यी मुलुकबाट आउने पर्यटकको संख्या कुल पर्यटक आगमनको ५३ प्रतिशत छ ।

आर्थिक सर्वेक्षणअनुसार नेपालमा सर्वाधिक भम्रण गरिने गन्तव्यमा यस वर्ष पनि लुम्बिनी परेको छ । सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भम्रण गरेका थिए । अघि वर्ष सन् २०१८ मा लुम्बिनीमा १५ लाख १७ हजार पर्यटक पुगेका थिए ।

लुम्बिनीमा सबैभन्दा धेरै भम्रण गर्नेमा नेपाली ७९ प्रतिशत र भारतीय ११ प्रतिशत छन् । अन्य मुलुकका नागरिक १० प्रतिशत छन् । गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा भम्रण गर्ने पर्यटकको संख्या २.३ प्रतिशतले बढेको देखिन्छ । नेपालमा आउने पर्यटकमध्ये मनोरञ्जनका लागि आउनेहरु ६५ प्रतिशत छन् । त्यसैगरी पदयात्रा तथा हिमाल आरोहणका लागि १४ प्रतिशत र अन्य उद्देश्यका लागि आउने ४ प्रतिशत छन् ।

सरकारले ६५ हजार मिटरभन्दा अग्ला हिमालबाट रोयल्टी उठाउँछ भने योभन्दा मुनिका हिमालबाट नेपाल पर्वतरोहण संघले रोयल्टी उठाउँछ । यस वर्ष अघिल्लो वर्षको दाँजोमा करिब १० करोडका दरले रोयल्टी बढेर ६८ करोड पुगेको छ । जसमा प्रदेश १ मा रहेका हिमालबाट कुल रोयल्टीको ९० प्रतिशत र गण्डकी प्रदेशका हिमालबाट ८.५ प्रतिशत उठेको हो । नेपालमा तारे होटलको संख्या १ सय ३८ पुगेको छ । त्यस्तै पर्यटकस्तरका होटलको संख्या १ हजार १ सय ५१ पुगेको छ । यी सबैमा ४३ हजार ९ सय बेड छ । त्यस्तै होमस्टेको संख्या ३ सय ८९ पुगेको छ । जसमा १ हजार ८८ बेड रहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?