दिनभरि जोडी, साँझ किशोरी मृत- समाचार - कान्तिपुर समाचार

दिनभरि जोडी, साँझ किशोरी मृत

वडाध्यक्षसहितको छलफलले शनिबार बिहान देवदहकी १३ वर्षीया अंगिरालाई कथित उपल्लो जातका वीरेन्द्रको जिम्मा लगाइयो । दिनभर दुवै जना सँगै देखिए पनि साँझ किशोरी झुन्डिएको अवस्थामा भेटिइन् भने किशोर फरार छन् ।
सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — घरबाट बाहिर निस्किएको धेरै बेरसम्म घर नफर्किएपछि गत शुक्रबार साँझ देवदह नगरपालिका–११ की शान्ति पासी छोरीको खोजीमा निस्किइन् । गाउँमा फेला नपरेपछि उनीसँगै गाउँले पनि १३ वर्षीया अंगिरा पासीको खोजीमा निस्किए ।

नजिकैको खोला किनारमा अंगिरा स्थानीय युवा वीरेन्द्र भरसित बसिरहेको अवस्थामा फेला परिन् । सोधपुछ गर्न थालेपछि युवा त्यहाँबाट भागे । बालिकालाई लिएर गाउँले फर्किए र मध्यरात शान्तिको घरमा गाउँलेबीच छलफल चल्यो । छलफलले अंगिरालाई वीरेन्द्रको जिम्मा लगाउने निष्कर्ष निकाल्यो । गाउँलेहरुको उक्त भेलामा वीरेन्द्र र उनको परिवार पनि सहभागी थियो ।

त्यस क्रममा वीरेन्द्रले अंगिरालाई स्वीकार्ने वाचा गरे । अंगिरा पनि वीरेन्द्रसित जान तयार भइन् । गाउँलेले प्रतिष्ठासित जोडेर त्यस्तो निर्णय गरे पनि शान्तिले छोरी जिम्मा लगाउन चाहेकी थिइनन् । तर, गाउँलेका सामु अडान लिन सकिनन् । स्थानीयका अनुसार शनिबार बिहान ३ बजेसम्म छलफल चल्यो । त्यस दिन दुवै आ–आफ्नो घरमा बस्ने र शनिबार बिहान छलफल गरेर जिम्मा लगाउने निर्णय भयो । उनीहरुको घर एक सय मिटरको दूरीमा छन् । भर कथित उपल्लो जातिका र पासीलाई कथित दलित समुदाय मानिन्छ ।

स्थानीयका अनुसार शनिबार बिहान गाउँले, दुई परिवार र वडाध्यक्षबीच भेला गराइयो । अंगिरा र वीरेन्द्रलाई गाउँलेका सामुन्ने सोधपुछ गरियो । दुवैले एकअर्कालाई स्विकार्ने बताए । बिहान ७ बजे वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा भएको छलफलमा अंगिरालाई केटाको जिम्मा लगाइएको थियो । वीरेन्द्रका परिवारले भेलामै जातीय कुरा निकालेर नस्विकार्ने चेतावनी दिएको स्थानीय सन्दीप पासीले बताए ।

वडाध्यक्षको उपस्थितिमा स्थानीयले बालिकालाई केटाको जिम्मा लगाउन दबाब दिएका थिए । वडाध्यक्ष चौधरीले भने केटी नाबालिका रहेको र विवाह गर्न नमिल्ने भनेर सम्झाउन खोजेको दाबी गरे । ‘राति नै केटाको जिम्मा लगाइसकेका रहेछन्,’ चौधरीले भने, ‘बालिका र उनकी आमाले इज्जत गइसक्यो, अब यही केटाले लगे छोरी जाने र पठाउने बताएपछि मैले स्थानीय र आमाछोरीको कुरामा सहमति जनाएर त्यहाँबाट बाहिरिएको हुँ ।’ वीरेन्द्र र अंगिराका परिवार सम्बन्धमा राजी भए पनि केटाको परिवारले घरमा लगे बस्न नदिने र सम्बन्ध नस्विकार्ने चेतावनी दोहोर्‍याइरहेका थिए । वीरेन्द्रकी आमाले केटी पक्ष तल्लो जातकी भएको भन्दै विवाद गरेको स्थानीयले सुनाए । गाउँलेका अनुसार वीरेन्द्र र अंगिराको हात थमाएर वडाध्यक्ष गएका थिए ।

त्यसपछि केटाकेटी घर नगएर गाउँमा भौंतारिएका स्थानीय रामनाथ पासीले बताए । उनका अनुसार केहीबेर गाउँमा डुलेपछि दुवै जना नजिकै रहेको रोहिणी खोलामा बसेका थिए । मध्याह्न वीरेन्द्रले अंगीरालाई आफ्नो घरमा लगे । तर, वीरेन्द्रकी आमाले दुवै जनालाई कुटेपछि फर्किए । त्यसपछि एउटा पसलमा गएर भुजा र पानी किनेर रोहिणी खोला छेउमै बसेका थिए ।

गाउँलेका अनुसार दिउँसो वीरेन्द्र गायब भए । अंगिरा गाउँमा फर्किनन् । गोठालाले अंगिराको शव रुखमा झुन्डिएको अवस्थामा देखे । गाउँमा हल्ला फैलिँदै थियो, प्रहरी घटनास्थल आइपुग्यो । शनिबार साँझ बालिकाको शव रुखमा झुन्डिएको अवस्थामा गोठालाले देखेको र गस्तीमा रहेको टोली घटनास्थल पुगेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए । ‘शव भेटिएको स्थल सिल गरेर बुटवलबाट अनुसन्धान टोली बोलाएर जिम्मा लगाएका हौं,’ उनले भने, ‘स्थानीयको मुचुल्कासहित इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको छ ।’

वडाध्यक्ष चौधरीले बालिकाको मृत्यु भएको दिनबाट केटा फरार रहेको बताए । वीरेन्द्रका अभिभावकले छोरा कहाँ गएको हो भन्नेबारे जानकारी नभएको बताउने गरेका छन् । छोरासँग मोबाइल नभएको भन्दै केटाका बाबुले कुनै जानकारी नगराएको चौधरीले सुनाए । बालिकाकी आमा शान्तिले आफूहरू दलित भएकै कारण छोरीको ‘हत्या’ भएको दाबी गरिन् । ‘छोरी पठाउँदिन भन्दा समेत गाउँलेको चेपुवामा परें,’ उनले भनिन्, ‘ठूलाबडाको कुरा सुनेर उपल्लो जातका केटालाई छोरी जिम्मा लगाउँदा घटना भयो ।’ आफैसँग राखेको भए यस्तो दिन नआउने उनको भनाइ छ । छोरीलाई वीरेन्द्रले प्रलोभनमा पारेर जबरजस्ती करणी गर्न खोजेको र त्यही अवस्थामा गाउँलेले खोला किनारमा भेटेको समेत उनको दाबी छ । सबैले मिलेर जिम्मा लगाएपछि केटाले घरमा लैजान आलटाल गरी छोरीको हत्या गरेको उनको आरोप छ ।

देवदह नगरपालिका प्रमुख हीरा केसीले बालिकाको मृत्युपछि मात्र घटनाबारे जानकारी पाएको बताए । ‘घटना कसरी भयो भन्नेबारे गाउँलेबाट जे सुनियो, त्यही जानकारी छ,’ उनले भने, ‘अनुसन्धान र पोस्टमार्टमपछि धेरै कुरा खुल्ने विश्वासमा छौं ।’

‘प्रहरीले जाहेरी लिन मानेन’

दलित अधिकारकर्मी विनोद पहाडीले बालिकाको मृत्यु भएको अर्को दिनबाटै किटानी जाहेरी दिन परिवार र छिमेकी इलाका प्रहरी कार्यालयमा धाइरहेको भए पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको दाबी गरे । ‘अनुसन्धान जारी छ भनेर दर्ता गरिएको थिएन,’ उनले भने, ‘मंगलबार दबाब दिएपछि जाहेरी दर्ता भयो ।’ उनका अनुसार बालिकाकी आमाले ‘छोरीको हत्या भएकाले सो सम्बन्धमा अनुसन्धान गरिपाऊँ’ भनी जाहेरीमा उल्लेख गरेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जाहेरी लिने सम्बन्धमा आनाकानी नगरेको र मंगलबार दर्ता गरिएको बताए । पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया थालिने उनको भनाइ छ ।

बालिकाको मृत्युपछि वीरेन्द्रका परिवार घरमा ताल्चा लगाएर सम्पर्कविहीन भएको स्थानीयले बताए । अधिवक्ता महेन्द्र पाण्डेका अनुसार नाबालिकालाई सहमतिमै कसैले जिम्मा लगाएर विवाह गर्नु बालविवाह कसुरमा पर्छ । साथै सहमतिमै भएको शारीरिक सम्पर्कलाई समेत जबरजस्ती करणी कसुर लाग्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

आर्थिक सर्वेक्षण ०७६/७७ : २६ संस्थानको नाफा साढे ४८ अर्ब

१३ नोक्सानीमा, ५ को कारोबार शून्य
संख्या र नाफा बढ्यो तर लाभांश घट्यो
राजु चौधरी

काठमाडौँ — २६ वटा सार्वजनिक संस्थानले ४८ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएका छन् । खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनी गाभिएपछि अहिले ४३ वटा संस्थान छन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार संस्थानको संख्या बढेको छ । तिनको लाभांश भने घटेको छ ।


आव ०७४/७५ मा संस्थानको संख्या ३९ थियो । यस अवधिमा संस्थानको नाफा ४३ अर्ब ४५ करोड रुपैयाँ थियो । ०७५/७६ सम्म संस्थानको संख्या ४३ पुगेको छ । यस अवधिमा १२.२६ प्रतिशत नाफा बढेर ४८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । तर यस अवधिमा संस्थानको लाभांश भने ४.२८ प्रतिशत घटेर ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार १३ संस्थान नोक्सानीमा छन् । ५ सार्वजनिक संस्थानको कारोबार शून्य छ । कारोबार शून्य रहेका संस्थान जनकपुर चुरोट कारखाना लि., विद्युत् उत्पादन कम्पनी लि., राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेड हुन् । ती संस्थान सञ्चालनमा पनि छैनन् ।

मन्त्रालयले मंगलबार नै सार्वजनिक गरेको वार्षिक स्थिति समीक्षा (पहेंला किताब) अनुुसार वित्तीय क्षेत्रअन्तर्गत ९ संस्थान छन् । ती संस्थान सबै नाफामा छन् । जनोपयोगी क्षेत्रमा रहेका ५ मध्ये ४ नाफामा छन् । सामाजिक क्षेत्रमा रहेका ५ संस्थानमध्ये २ संस्थान जनक शिक्षा सामग्री केन्द्र र राष्ट्रिय आवास कम्पनी नाफामा छन् । ३ संस्थान भने नोक्सानीमा रहेको उल्लेख छ ।

सेवा क्षेत्रमा सञ्चालित १० सार्वजनिक संस्थानमध्ये तीन संस्थान मात्रै नाफामा छन् । यही क्षेत्रमा रहेको नेपाल पूर्वाधार कम्पनी भने चालु आवमा मात्रै स्थापना भएको हो । औद्योगिक क्षेत्रतर्फ रहेका १० संस्थानमध्ये ४ मात्रै नाफामा छन् । जानकारका अनुसार संस्थानहरू घाटामा जानुको मुख्य कारक राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरी हो ।

सर्वेक्षणले भने संस्थानको समग्र वित्तीय स्थिति सकारात्मक रहेको दाबी गरेको छ । कुल सञ्चालन आय २०.२९ प्रतिशत बढेको जनाएको छ । ‘आव ०७४/७५ मा संस्थानको कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख भएकामा आव ०७५/७६ मा ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘आव ०७५/७६ मा सञ्चित नाफा र नोक्सानी गत आवको तुलनामा क्रमश: ३.८३ प्रतिशत र २७.३३ प्रतिशतमा कमी आए पनि समग्र सञ्चित नाफा २८.९३ प्रतिशतले बढेको छ ।’

सर्वेक्षणअनुसार सञ्चित नाफा बढेर ५१ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३ सय ६.५८ प्रतिशत बढेको छ ।

आव ०७५/७६ मा सेयर धनी कोष/नेटवर्थ २१.०१ प्रतिशत बढेको छ । सर्वेक्षणअनुसार कोष/नेटवर्थ बढेर ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख पुगेको छ । ‘समीक्षा अवधिमा संस्थानमा कुल लगानी गत आवको तुलनामा २७.३६ प्रतिशत बढेर ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘सेयर लगानी गत आवको तुलनामा ३५.६७ प्रतिशत बढेर २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगेको छ ।’ यस्तै ऋण लगानी १७.२३ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी नाफा नेपाल विद्युत् प्राधिकरणले कमाएको छ । ०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ, त्यसपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ९ अर्ब ७५ करोड ७६ लाख र तेस्रोमा नेपाल आयल निगमले ८ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ४ करोड ६५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ३१ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नोक्सान बेहोर्नेमा सबैभन्दा अगाडि नेपाल वायु सेवा निगम छ । नेवानिको १ अर्ब ९६ करोड ५४ लाख र उदयपुर सिमेन्ट उद्योगको घाटा १९ करोड ६३ लाख छ । नेपाल टेलिभिजनको १२ करोड ६२ लाख, नेपाल खानेपानी संस्थानको १२ करोड ५५ लाख र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको घाटा १० करोड ८० लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×