कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोनाले विदेशमा ११५ नेपालीको मृत्यु, १२ हजारभन्दा बढी संक्रमित

कृष्ण ज्ञवाली

काठमाडौँ — विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण शनिबारसम्म विदेशमा रहेका १ सय १५ नेपालीको मृत्यु भएको छ । तिनमा १९ जना महिला छन् । 

कोरोनाले विदेशमा ११५ नेपालीको मृत्यु, १२ हजारभन्दा बढी संक्रमित

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता मात्रै १९ नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो साता यूएईमा ९, साउदी अरबमा ५, बेलायतमा २, अमेरिकामा १, कतारमा एक र कुवेतमा एक नेपालीको ज्यान गएको हो ।

संघको स्वास्थ्य समितिका अनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६५ नेपालीको मृत्यु भएको छ । बेलायतको पनि यूएसीमा १८ नेपालीको कोरोनाले ज्यान गएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । त्यस्तै अमेरिकामा मृतक नेपालीको संख्या १६ पुगेको छ ।

विदेशमा मृत्यु भएका नेपालीमध्ये आधाभन्दा बढी ५० वर्ष कटेकाहरू छन् । ५३ प्रतिशत व्यक्ति ५० देखि ९० वर्षसम्मका छन् । मृतकहरूमा ४० देखि ५० वर्षका २३ प्रतिशत र ४० वर्षभन्दा कमका १६ प्रतिशत छन् । बाँकी ८ प्रतिशतको भने उमेर नखुलेको समितिले जनाएको छ ।

संघले विदेशमा रहेका संक्रमित नेपालीको संख्या पनि निकालेको छ । १२ हजार २ सय ३६ संक्रमितमध्ये मध्यपूर्वी मुलुकमा ७२ प्रतिशत छन् । अमेरिकामा १३, युरोपमा १० र एसियाली मुलुकमा ५ प्रतिशत नेपाली संक्रमित छन् । तुलनात्मक रूपमा सुरक्षित देखिएको अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमित छन् । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । ‘संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली निको भइसकेका छन् । उनीहरूमा भाइरस देखिएको छैन,’ सापकोटाले भने ।

संघका अनुसार अत्यधिक प्रभावित मुलुकमध्ये बेलायत र अमेरिकामा पछिल्लो साता संक्रमण दर कम हुँदै गएको छ । तर मध्यपूर्वी मुलुकमा संक्रमण बढेसँगै थप नेपाली संक्रमित हुँदै गएका छन् । रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको संक्रमण विश्वव्यापी भएपछि संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो । स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमितिले पीडितका लागि राहत संकलन गरिरहेका छन् । पीडितको सहयोग र राहत वितरणका लागि ४९ देशमा २ हजार १ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको संघले जनाएको छ । हालसम्म ४० हजारभन्दा बढीलाई राहत वितरण गरिएको छ । ६२ हजार जनालाई परामर्श दिइएको संघले जनाएको छ । राहत कोषमा करिब आठ करोड रुपैयाँ संकलन भएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले बताए । संघले विभिन्न १० देशका नेपालीलाई आर्थिक सहयोग गरेको हो ।

प्रकाशित : जेष्ठ ११, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?