१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

झापामा संक्रमितमध्ये भारतबाट लुकीछिपी भित्रिएका बढी

अर्जुन राजवंशी

बिर्तामोड — झापामा सीमा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुमा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । जिल्लामा तीन दिनयता दैनिकजसो कोभिड संक्रमण पुष्टि भइरहेको छ । भारतको मुम्बई, दिल्ली, कर्नाटक, हरियाना, देहरादुन, केरलालगायत स्थानबाट आएका नेपालीहरुमा संक्रमण पुष्टि भएको हो ।

झापामा संक्रमितमध्ये भारतबाट लुकीछिपी भित्रिएका बढी

सीमावर्ती कचनकवल गाउँपालिकामा मात्र २५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनीहरु सबै मुम्बई, दिल्लीलगायत स्थानबाट फर्किएकाहरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । एक हप्तायता कचनकवलमा लुकीछिपी दुई सयभन्दा बढी भित्रिएका छन् ।

कचनकवल ५ पाठामारीबाट शुक्रबार बिहान पहिलो पटक ११ जनाको समूह नेपाल भित्रिएका थिए । सोही दिन पाठामारीस्थित ११३ नम्बर पिल्लर छेउबाट एक जना युवक पनि लुकीछिपी मेची नदी तरेर नेपाल भित्रिएका थिए । उनीहरु सबैलाई साँझतिर गाउँपालिकाले ट्याक्टरमा हालेर पथरिया माविको क्‍वारेन्टाइनमा लगेर राखेको थियो । भोलिपल्ट (शनिबार) बिहान पनि केचना क्षेत्रबाट थप ९ जना नेपाल भित्रिएका थिए । दुई दिनमा नेपाल भित्रिएका र पथरिया माविको क्‍वारेन्टाइनमा बसेका गरी शनिबार दिउँसो ३३ जनाको स्वाब नमुना संकलन गरिएको थियो । विराटनगरस्थित कोसी अस्पतालमा पीसीआर परीक्षणका क्रममा उनीहरुमध्ये १० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

एउटै गाउँमा ठूलो संख्यामा संक्रमित फेला परे लगत्तै मंगलबार कचनकवलमै थप ६५ जनाको स्वाब नमुना संकलन गरिएको थियो । उनीहरुमध्ये बुधबार साँझ ३० जनाको नतिजा आउँदा १५ जनामा संक्रमण पुष्टि भएको थियो । ‘कचनकवलमा संक्रमण पुष्टि भएका सबै भारतबाट आएकाहरु हुन्’ स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले भने । लुकीछिपी नेपाल प्रवेश गरे पनि उनीहरुलाई सीमा क्षेत्रमै नियन्त्रणमा लिई क्‍वारेन्टाइनमा राखेकाले समुदायमा संक्रमण फैलिन नदिएको यादवले बताए ।

कचनकवलको सीमा क्षेत्रबाट शुक्रबारदेखि दैनिक दर्जनौंको संख्यामा लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् । दोस्रो पटक मंगलबार स्वाब नमुना दिने पनि सबै भारतबाट आएकाहरु मात्र भएको चम्लागाईले बताए । भारतबाट आउनेको संख्या बढ्दै गएपछि कचनकवलमा ५ दिनयता थप ४ वटा क्‍वारेन्टाइन निर्माण गरिएका छन् ।

‘भारतबाट आएकाहरुको विषयमा स्थानीय, प्रहरी, आफन्त र छिमेकीहरुबाट हामीलाई जानकारी हुन्छ’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले भने,‘केही त हाम्रो सम्पर्कमा नआई लुकेर पनि बसेका होलान् । भरसक भारतबाट भित्रिनेहरुलाई सिमानामै नियन्त्रणमा लिइरहेका छौं ।’

जिल्लाको सीमावर्ती गौरीगन्‍ज र झापा गाउँपालिकामा पनि भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिएका छन् । झापा गापाका अध्यक्ष जयनारायण साहले मंगलबारमात्र सीमा क्षेत्रबाट ४७ जना भित्रिएको जानकारी दिए । उनीहरु सबैलाई होल्डिङ एरियामा राखेर जिल्लाको सम्बन्धित पालिकामा पठाएको उनले बताए । जिल्लाको दक्षिण–पश्चिम गौरीगन्ज गाउँपालिकामा पनि सीमा क्षेत्रबाट लुकीछिपी दैनिक नेपालीहरु भित्रिरहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द मिश्रले बताए ।

एक हप्ताभित्र भारतबाट एक हजार बढी मानिस झापाको बाटो हुँदै नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । उनीहरुमध्ये ६ सय ५० बढी झापाबाहेक २९ जिल्लाका छन् । सीमा क्षेत्रबाट लुकीछिपी भित्रिएकाहरुलाई भद्रपुरको कलवलगुडी र मेची बहुमुखी क्याम्पस, बिर्तामोडको कन्चनजंघा इन्स्टिच्युट, शिवसताक्षीको राष्ट्रिय रमणीय मावि, दमकको मानसरोवर कलेजको क्वारेन्टाइनमा राखिएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?