१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आफ्नै निर्देशनविपरीत गाडी खरिद गर्न दिँदै अर्थ मन्त्रालय

महालेखाले ५० लाख मूल्यका दुइटा र पानी जहाज कार्यालय डेढ करोडको गाडी किन्दै
बलराम बानियाँ

काठमाडौँ — अर्थ मन्त्रालयले कोभिड–१९ विरुद्ध लड्नका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती गर्न आफैंले दिएको निर्देशनको उल्लंघन गर्दै सचिव र सहसचिवका लागि महँगा गाडी खरिद गर्न स्वीकृति दिन थालेको छ ।

आफ्नै निर्देशनविपरीत गाडी खरिद गर्न दिँदै अर्थ मन्त्रालय

संकटका बेलासमेत उच्च सरकारी अधिकारीहरूमा चालू हालतका गाडी हुँदाहुँदा नयाँ र विलाशी गाडी चढ्ने सोख देखिनु दुःखद भएको टिप्पणी प्रशासनविदहरूको छ । अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रकको कार्यालयले आफ्ना दुई सहसचिवका लागि ५० लाख रुपैयाँ मूल्य पर्ने दुइटा गाडी खरिद गर्न प्रक्रिया सुरु गरेको छ ।

अर्थको सर्कुलरविपरीत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको पानी जहाज कार्यालयको लगत्तै महालेखा नियन्त्रक कार्यालयले समेत गाडी खरिद प्रक्रिया सुरु गरेको हो । पानी जहाज कार्यालयले करिब डेढ करोड रुपैयाँमा विलाशी गाडी खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । उक्त गाडी कार्यालय प्रमुखले चढ्ने छन् ।

राष्ट्रपति विद्या भण्डारीले समेत आफ्ना लागि गाडी खरिद गर्न विनियोजित रकम फिर्ता गरेका बेला उच्च सरकारी अधिकारीहरू भने संकटमा पनि आफ्नो सुविधा बढाउन लिप्त हुनु अशोभनीय भएको टिप्पणी प्रशासनविदको छ ।

अर्थले आफ्नै सर्कुलरलाई बेवास्ता गरी गोप्य रूपमा अरू मन्त्रालयका सचिव र सहसचिवलाई समेत गाडी खरिद गर्न स्वीकृति दिइरहेको छ । अर्थले अहिलेसम्म कस कसलाई गाडी खरिद गर्न स्वीकृति दिइसकेको छ भन्नेबारेमा भने स्रोतले उल्लेख गरेन ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक खरिद नियमावलीअनुसार छोटो प्रक्रिया अपनाई क्याटलग सपिङ विधिबाट गाडी खरिद गर्न लागेको छ । महालेखाले सूचना जारी गरी इच्छुक गाडी उत्पादक कम्पनी या आधिकारिक बिक्रेतालाई स्पेसिफिकेसन, मूल्य र सुविधासहितको गुणस्तर (क्याटलग या ब्रोसर) सहित बिहीबारसम्म आफ्नो कार्यालयमा सूचीकृत हुन आह्वान गरेको छ ।

सूचीकृत कम्पनीमध्ये जसले कम मूल्य प्रस्ताव गर्छ, त्यसैबाट महालेखाले गाडी खरिद गर्ने छ । महालेखा नियन्त्रक कार्यालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालले अर्थमन्त्रालयको स्वीकृतिमा खाडी खरिद गर्न लागिएको दाबी गरे । उनले अर्थमन्त्रालयको निर्देशनमा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका लागि ७० लाख रुपैयाँ मूल्यका ८ वटा पिकअप गाडी खरिद गर्ने निर्णय भने स्थगित गरिएको जानकारी दिए ।

अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीले सर्कुलरविपरीत कुनै पनि निकायलाई गाडी खरिद गर्न स्वीकृति नदिइएको दाबी गरे । ‘सर्कुलरसँगै सबै निकायको गाडी खरिदलगायतको बजेट रोक्का भइसकेको छ, त्यसपछि कसैलाई पनि गाडी खरिद गर्न स्वीकृति दिइएको छैन,’ खत्रीले भने ।

कोभिड–१९ को प्रकोपका कारण मुलुकमा उत्पन्न आर्थिक संकटका कारण अर्थले गत चैत २० मा गाडी खरिदसहित १४ शीर्षकको खर्च रोक्न सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो ।

सर्कुलरमा अर्थले सवारी साधन, फर्निचर खरीद, तालिम, गोष्ठीसहितका अनुत्पादक खर्च रोक्न सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को प्रकोप र लकडाउनका कारण मुलुकमा आर्थिक गतिविधि ठप्प भई राजस्व उठ्तीमा ठूलोमात्रामा कमी आएपछि अर्थ मन्त्रालयले अनुत्पादक खर्च कटौती गर्न सर्कुलर जारी गरेको हो ।

‘चालू आर्थिक वर्षको बजेटमा विभिन्न निकायका लागि विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने’ भएकाले यस्तो खर्च रोक्ने निर्णय गरिएको अर्थ मन्त्रालयले सर्कुलरमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?