२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मृतक महिलाको सम्पर्कमा आएकाको स्वाब संकलन

'कन्ट्याक्ट ट्रेसिङ'का आधारमा ५५ जनाको पीसीआर परीक्षण गर्न स्वास्थ्यकर्मीले आइतबारदेखि स्वाब संकलन गर्न थालेका छन् ।
अनिश तिवारी

सिन्धुपाल्चोक — कोभिड–१९ संक्रमणबाट बिहीबार मृत्यु भएकी महिलाका छिमेकी र आफन्तको स्वाब संकलन गर्न थालिएको छ । बाह्रबिसे नगरपालिका–९ स्थित चालिसेगाउँकी २९ वर्षीया मृतकको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा ५५ जनाको पीसीआर परीक्षण गर्न स्वास्थ्यकर्मीले आइतबार स्वाब संकलन गर्न थालेका हुन् ।

मृतक महिलाको सम्पर्कमा आएकाको स्वाब संकलन

स्वाब संकलनका लागि स्वास्थ्य निर्देशनालय, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, सामाजिक विकास मन्त्रालय महाशाखा, स्वास्थ्य सेवा विभाग र स्थानीय स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । संकलित स्वाबको नमुना परीक्षण गर्न काठमाडौं पठाइने सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । सोमबार स्वाब संकलन सकिने उनको भनाइ छ ।

मृतकका आफन्त, अस्पताल लैजाने चार जना चालक र उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैको परीक्षण गरिनेछ । संक्रमित महिलासँग हेलमेल रहेका छिमेकी, गाउँले र अन्यको संख्या एक सयभन्दा बढी हुने अनुमान गरिएको छ ।

जिल्ला सुरक्षा समितिले संक्रमण फैलिन नदिन मृतक महिलाको माइती गाउँ बलेफी गाउँपालिका–७ र ८ देखि बाह्रबिसे नगरपालिका र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रसम्मलाई सिल गरेको छ । कोभिड–१९ को संक्रमणले सुत्केरीको मृत्यु भएको खबरले शोकसँगै त्रास बढेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बताइन् ।

वाग्मती प्रदेशको र्‍यापिड रेस्पोन्स टोली पनि बाह्रबिसे पुगेको छ । प्रदेशका पर्यटन तथा वनमन्त्री अरुण नेपाल, सामाजिक तथा विकासमन्त्री युवराज दुलाल पनि त्यहाँ पुगेका छन् ।

गत वैशाख २४ मा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?