कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेचीपारि हजारभन्दा बढी नेपाली अलपत्र

पानीट्यांकी, नक्सलबारी, बागडोगरा र सिलिगुडीमा नेपालीहरु घर फिर्ने समय कुरेर बसिरहेका छन् । अधिकांश श्रमिक छन् । विद्यार्थी, तीर्थयात्री र घुमघामका क्रममा निस्केका पनि अलपत्र परेका छन् ।
पर्वत पोर्तेल

काँकडभिट्टा — काठमाडौंका पारु राई, सम्झना गुरुङ र विनिता लामा घुमघामका लागि भारतको सिक्किम पुगेका थिए । फर्किंदा लकडाउन भयो । नेपाल छिर्न नपाएपछि सिलिगुडी फर्किए । करिब दुई महिनादेखि उनीहरु आफन्तको घरमा बसिरहेका छन् ।

मेचीपारि हजारभन्दा बढी नेपाली अलपत्र

यी तीन युवतीजस्ता करिब १ हजारभन्दा बढी नेपाली सीमावर्ती भारतीय सहरमा अलपत्र छन् । कोही आफन्तकहाँ छन्, कोही डेरा खोजेर बसेका छन् । ‘आफ्नै देश छिर्न नपाइला भन्ने कहिल्यै सोचेको थिएन,’ पारुले फोनमा भनिन्, ‘हाम्रो त बेहाल भइसक्यो ।’

सीमावर्ती बजार पानीट्यांकी, नक्सलबारी, बागडोगरा र सिलिगुडीमा नेपालीहरु घर फिर्ने समय कुरेर बसिरहेका छन् । अधिकांश भारतको विभिन्न राज्यमा कार्यरत श्रमिकहरु हुन् । कतिपय विद्यार्थी, तीर्थयात्री र घुमघामका क्रममा निस्केकाहरू पनि अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले सीमापारि भारतमा अलपत्र नेपालीहरुको तथ्यांक संकलन सुरु गरिएको जनाएको छ । एसपी कृष्ण कोइराला भने, ‘प्रक्रिया पुर्‍याएर सबैलाई चाँडै नेपाल ल्याउने हो, सरकारले आदेश दिनेबित्तिकै चरणबद्ध रूपमा नेपाल प्रवेश गराउँछौं ।’

भारतले रेल सेवा सुरु गरेपछि घर फिर्ने नेपालीको संख्या थपिन सक्ने आंकलन गर्न थालिएको छ । तर, पश्चिम बंगाल सरकारले भारतका अन्य राज्यमा रहेका आफ्ना नागरिक ल्याउन रेल सञ्चालनका लागि केन्द्र सरकारलाई केही दिनअघि अनुरोध गरेको थियो ।

केन्द्रको स्वीकृतिपछि बंगालले ८ वटा रेलबाट आफ्ना नागरिक बंगालमा ल्याउन थालेको छ । ‘यही रेलबाट नेपालीसमेत आउन सक्ने आशंका छ,’ एसपी कोइरालाले भने, ‘आए भने घर फिर्नेहरुको संख्या थप बढ्न सक्छ ।’

फर्किने नेपालीलाई झापामै करिब १४ दिन क्‍वारेन्टाइनमा राखिने जनाइएको छ । प्रहरीका अनुसार करिब ४ सय जना क्षमताको क्‍वारेन्टाइनको प्रबन्ध भइसकेको छ । बाँकी संख्यालाई थप व्यवस्थापन गर्न सुरु भइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भद्रपुरको मेची बहुमुखी क्याम्पस, भद्रपुरकै कलबलगुडी, मेचीनगर नगरपालिकाको आदर्श मावि आदि क्षेत्रका क्‍वारेन्टाइनमा उनीहरुलाई व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?