कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विदेशमा रहेका विद्यार्थी, मजदुरलाई स्वदेश ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले मजदुर र विद्यार्थीलाई नेपाल फर्काउन आवश्यक पर्ने तयारी गर्न लगायत सरकारलाई १० बुँदे निर्देशन दिएको हो । 

विदेशमा रहेका विद्यार्थी, मजदुरलाई स्वदेश ल्याउन संसदीय समितिको निर्देशन

विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउन आवश्यक पर्ने क्‍वारेन्टाइन र आइसोलेसनसहितको आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् । विदेशमा नै बस्न चाहने नागरिकको हकमा सम्बन्धित देशमा समन्वय गरी उनीहरुको सुरक्षाको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

बैठकमा सांसदहरुले कोभिड–१९ ले भइरहेका समस्या र सम्भावित खतराका बारेमा छलफल गरेका थिए । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पनि डाकिएको थियो । मन्त्री ढकालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेका प्रयास, रोकथाम, नियन्त्रण र उपचारका बारेमा जानकारी दिएका थिए ।

लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरिएको छ । स्थानीय सरकारलाई लकडाउनमा समस्यामा परेकाहरुको तथ्याङ्क संकलन गर्न भनिएको हो । छिमेकी मुलुक भारत र सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई घर फर्काउन सांसदहरुले माग गरेका थिए । बैठकले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्ला वा घर फर्काउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो । सभापति घर्तीले घर फर्काउनु अघि उनीहरुको स्वास्थ्य जाँच मिलाउन भनिएको बताइन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम झन् बढ्दै गएकाले परीक्षणको दायरा बढाउन पनि सरकारलाई निर्देशन दिइएको हो । तीन तहका सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर परीक्षण बढाउन सांसदहरुले आग्रह गरेका हुन् । भाइरस रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी सहित नागरिकलाई सर्वसुलभ तरिकाबाट स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरिएको छ । मास्क, स्यानिटाइजरजस्ता सामग्री सर्वसाधारणले सस्तो मूल्यमा किन्न पाउने वातावरण मिलाउन समितिले सरकारलाई निर्देशन दिएको हो । संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसन बेड, भेन्टिलेटरको संख्या थप गर्नुपर्नेमा पनि सचेत गराइएको छ ।

क्यारेन्टिनमा स्वास्थ्य उपचार, खाना र एम्बुलेन्सको उचित प्रबन्ध मिलाउन समितिले सुझाव दिएको हो । कोरोनाबाहेकका बिरामीको उपचारमा पनि ख्याल गर्न सांसदहरुले स्वास्थ्यमन्त्री ढकाललाई आग्रह गरेका थिए । समितिले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम भाइरसको असरलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?