विदेशमा अलपत्र कामदारलाई खाद्यान्‍न जुटाउन बोर्डले पठायो ७० लाख

वैदेशिक रोजगार बोर्डले अलपत्र कामदारलाई खाद्यान्न उपलब्ध गराउन चार देशमा रहेका नेपाली दूतावासलाई रकम पठाएको छ ।
होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले अलपत्र कामदारलाई खाद्यान्न उपलब्ध गराउन चार देशमा रहेका नेपाली दूतावासलाई ७० लाख रुपैयाँ पठाएको छ ।

विदेशमा अलपत्र कामदारलाई खाद्यान्‍न जुटाउन बोर्डले पठायो ७० लाख

बोर्डले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र बहराइनस्थित नेपाली दूतावासलाई रकम पठाएको हो । बोर्डको निर्णयअनुसार साउदीमा २५ लाख , यूएईमा २० लाख, बहराइनमा १५ लाख र मलेसियामा १० लाख रुपैयाँ पठाइएको छ।

गन्तव्य देशमा कम्पनी र सम्बन्धित निकायले नहेरेका कामदारका लागि मात्रै यो रकमबाट खाद्यान्न सहयोग गर्ने अधिकार दूतावासलाई दिइएको छ । बोर्डले दूतावासको मागअनुसार रकम पठाएको जनाएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न चालिएको कदमबाट असर परेका कामदारलाई खाद्यान्न संकट हुन नदिने खाडीका तथा मलेसिया सरकारले प्रतिबद्धता जनाउँदै आएका छन् । कतार च्यारिटीले नेपाली समुदायलाई परिचालन गरी खाद्यान्न वितरण गरिरहेको छ । ‘जो कामदारलाई खानाको अभाव छ, उनीहरुलाई खाना वितरण भइरहेको नै छ,' कतारमा रहका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य रमेश भट्टले भने, ‘खाद्यान्य जुटाउनको लागि कतारमा समस्या छैन ।’

साउदी र कुवेतले पनि आफ्नो च्यारिटी संस्थामार्फत खाद्यान्न सहयोग गरिरहेका छन् ।

एनआरएन प्रवक्ता डीबी क्षेत्रीका अनुसार समुदायस्तरबाट खाद्यान्न सहयोग गर्न साउदी अरब, बहराइन, कुवेत र युएईलाई ५–५ हजार डलर दिइसकेको छ । युएईले मात्रै ३ हजार जनालाई खाद्यान्न वितरण गरिसकेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सकंटमा परी कामदारको जिम्मेवारी नलिइएको खण्डमा मात्रै दूतावासबाट खाद्यान्न सहयोग हुने वताए । ‘सुरुमै दूतावास खाद्यान्न वितरण गर्न जाँदैन । पहिला कम्पनीलाई नै जिम्मेवार बनाउने हो । त्यसपछि सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण जनाउने हो,' पाण्डेले भने, ‘कसैले जिम्मेवारी नलिए मात्रै दूतावासले खाद्यान्न सहयोग गर्नेछ ।’

प्रकाशित : जेष्ठ १, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?