बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

वैशाख २४, २०७७

होम कार्की

काठमाडौँ — बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामास्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए ।

‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कान्तिपुरलाई भने, ‘कोरोना संक्रमितको जोखिममा रहेका धेरै नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको छ ।’

उनका अनुसार ७९ जना नेपाली महिलालाई कम्पनीको क्याम्पमा नै १० दिनदेखि निगरानीमा राखिएको छ । ‘उहाँहरुले तलब नआएको बताएपछि हामीले खानाको प्रबन्ध गरिदिएका छौं’, उनले भने ।

कोरोना संक्रमित व्यक्ति केही क्याम्पमा फेला परेपछि बहाराइनले धेरै क्याम्पबाट कामदारलाई हटाइएको छ । बहराइनमा संक्रमितमध्ये १९ सय ५० जनाको उपचार भइरहेको छ । १७ सय ६२ जना निको भइसकेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully