कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवा घुम्न थालेपछि कीर्तिपुरमा त्रास

मातृका दाहाल

काठमाडौँ — कीर्तिपुरमा घरछेउमै चितुवा देखिन थालेपछि स्थानीय त्रासमा छन् । त्रिभुवन विश्वविद्यालय परिसर, चोभार, बाहिरी सडक, पाँगा, ट्याङलाफाँट क्षेत्रका झाडीमा चितुवा देखिएका हुन् ।

चितुवा घुम्न थालेपछि कीर्तिपुरमा त्रास

विश्वविद्यालय परिसरमा चितुवा देखेपछि स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालय थानकोटलाई खबर गरेका थिए । सहायक वन अधिकृत हरिप्रसाद खरेलले स्थानीयलाई आवतजावतमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । शुक्रबारबाट त्यस क्षेत्रमा ४ वटा चितुवा आएको जानकारी पाएपछि वन कर्मचारी सोमबार कीर्तिपुर पुगेका थिए ।

सहायक वन अधिकृत खरेलले जंगलमा मानव अतिक्रमण बढेपछि आहार र वासस्थान खोज्दै चितुवा बस्ती पसेको बताए । सोमबार वन, नगरपालिका, सुरक्षाकर्मी र स्थानीयसहित छलफल बसेको थियो । छलफलमा बस्तीवरपर झाडी फँडानी गरेर खुला बनाउन सुझाव दिइएको र यसका लागि नगरपालिकाले पहल थाल्ने निर्णय भएको खरेलले जानकारी दिए ।

चितुवा भेटिन थालेसँगै स्थानीय बासिन्दा बिहान–बेलुका हिँडडुल गर्न छाडेका छन् । स्थानीय वीरेन्द्र शाक्यका अनुसार अत्यावश्यक काममा निस्कन समस्या भएको छ । केही दिनयता सडकमा कुकुरसमेत देखिन छाडेका छन् । चितुवाले आहाराका लागि कुकुर मारेको हुन सक्ने वन अधिकृत खरेलले बताए ।

यसअघि टीकाथली, थानकोट, टोखा, बानेश्वरलगायतका बस्तीमा पनि चितुवा देखिएको थियो । महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले चितुवा सडकमा देखिनेबित्तिकै सुरक्षाकर्मीलाई खबर गर्न आग्रह गरिएको बताए ।

प्रकाशित : वैशाख २३, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?