काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अनावश्यक क्षेत्रमा सरकारी ढुकुटी खर्च गरिरहेको भन्दै आलोचना गरेका छन् ।
सरकारबाट कोरोनाविरूद्ध लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा सामग्री (पीपीई) र अस्पतालहरूले बिरामीहरूको उपचारका लागि आईसीयू खोजिरहेका बेला सरकारले सुकुम्बासी आयोग गठन गरेर राज्यको ढुकुटीमा अनावश्यक व्ययभार पर्ने निर्णय गरेको बताए ।
प्रतिनिधिसभाको अर्थ समितिको सोमबार बसेको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले भने, 'अहिले सरकारले दिनुपर्ने सुकुम्बासी आयोग होइन आईसीयू, भेन्टिलेसन हो । यसरी अनुत्पादक क्षेत्रमा खर्च गर्ने सरकारको काम ठिक भएन ।' सरकारले केही पहिले सुकुम्बासी आयोग गठन गरेको छ । जसमातहत गठन हुने आयोगमा करौडौं रकम खर्च हुने बताइएको छ ।
सरकारले कोरोना संक्रमण रोक्नका लागि जारी लकडाउनका क्रममा जीवन धान्न लागेकाहरूका लागि दिएको राहत पर्याप्त र दीर्घकालीन नभकएको बताए । 'अहिले सरकारी राहतले प्राण धानेको छ, जीवन धानेको छैन,' उनले भने।
आगामी बजेटले कृषि, युवा, रोजगारी, निर्यात लगायतका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कार्कीले सुझाव दिए । उनले अहिले चालू अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाको अवस्था के हो भनेर पनि अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न गरेका थिए ।
खतिवडाप्रति कटाक्ष गर्दै कार्कीले सोधे, 'अर्थमन्त्रीज्यूलाई श्वेतपत्रको पर्याप्त अनुभव छ । कुन ठूलो आयोजनाको अवस्थ कस्तो छ त्यसबारे जानकारी दिनका लागि श्वेतपत्र जारी गर्नुपर्ने हुन्छ ।' अर्थमन्त्री बनेपछि खतिवडाले श्वेतपत्र जारी गरेकाले विगतका कांग्रेस र माओवादी नेतृत्वका सरकारले राज्यको ढुकुटी रित्त्याएको आरोप लगाएका थिए । जसको आलोचना भएको थियो । सोही घटना पूर्वअर्थमन्त्री कार्कीले सम्झाएका हुन् ।
मुलुक कोरोनाको संकटबाट गुज्रिरहेको बेला सरकारबाट भएका गतिविधिको पनि कांग्रेसले आलोचना गरेको छ । सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर विभिन्न राजनीतिक दल विभाजन गर्न लागेकोमा आपत्ति जनाएका थिए । उनले थपे, 'मेडिकल सामग्री खरिदमा ढिलाई गरियो । खरिद गरिएकामा पनि भ्रष्टाचारका विषय सार्वजनिक भएका छन् । यी गतिविधिबाट जनता दुखी छन् ।'
पछिल्लो ८ महिनामा नेपालको अर्थतन्त्र लगातार ओरालो लागेको भन्दै कार्कीले आगामी दिनमा कोरोनाले अर्थतन्त्र झनै कमजोर बन्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका युवाको ठूलो संख्या रोजगारी गुमाएर स्वदेश फर्किने अवस्था रहेकाले त्यसलाई सम्बोधन गर्ने योजना बजेट ल्याउनुपर्ने विषयमा जोड दिए । उनले विदेशबाट फर्किएकालाई सीपअनुसारको रोजगारी नदिने हो भने राजनीतिक व्यवस्थामा नै प्रभाव पर्ने चेतावनी दिएका छन् ।
