कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्यो

वैशाख २१, २०७७

होम कार्की

काठमाडौँ — कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो । ५ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पाकिस्तानी, भारतीय, जोर्डनी र बंगलादेशी कामदार रहेको मन्त्रालयले जनाएको छ । जसमा २ जना भारतीय नागरिक छन् । उनीहरुको उमेर ४३ देखि ६३ रहेको जनाइएको छ । हालसम्म कुवेतमा नेपाली कामदारको भने मृत्यु भएको छैन । हालसम्म कुवेतमा ८३ नेपालीसहित संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।

त्यस्तै साउदीमा आइतबार १५ सय ५२ जना संक्रमित भएका छन् । साउदीमा संक्रमितको संख्या २७ हजार ११ पुगेको छ । जसमध्ये ३४ जना नेपाली दूतावासको सम्पर्कमा छन् ।

यसैगरी कतारमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १५ हजार ५ सय ५१ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ नया संक्रमित फेला परेका हुन् । एक हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । आइतबारमात्रै १ सय ३० जना संक्रमित निको भएर फर्केका छन् । जसमा नेपालीको संख्या खुलाइएको छैन ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully