कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्यो

होम कार्की

काठमाडौँ — कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो । ५ जना संक्रमितको मृत्यु भएको छ ।

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्यो

मृत्यु हुनेहरुमा पाकिस्तानी, भारतीय, जोर्डनी र बंगलादेशी कामदार रहेको मन्त्रालयले जनाएको छ । जसमा २ जना भारतीय नागरिक छन् । उनीहरुको उमेर ४३ देखि ६३ रहेको जनाइएको छ । हालसम्म कुवेतमा नेपाली कामदारको भने मृत्यु भएको छैन । हालसम्म कुवेतमा ८३ नेपालीसहित संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।

त्यस्तै साउदीमा आइतबार १५ सय ५२ जना संक्रमित भएका छन् । साउदीमा संक्रमितको संख्या २७ हजार ११ पुगेको छ । जसमध्ये ३४ जना नेपाली दूतावासको सम्पर्कमा छन् ।

यसैगरी कतारमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १५ हजार ५ सय ५१ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ नया संक्रमित फेला परेका हुन् । एक हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । आइतबारमात्रै १ सय ३० जना संक्रमित निको भएर फर्केका छन् । जसमा नेपालीको संख्या खुलाइएको छैन ।

प्रकाशित : वैशाख २१, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?