कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाको बृहत् धरपकडमा नेपाली परेको खबर छैन : दूतावास

होम कार्की

काठमाडौँ — मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मनोरा सिटी वान अपार्टमेन्टलगायत अन्य तीन वटा भवनबाट पक्राउ परेका कामदारमध्ये नेपाली परेको खबर अझै प्राप्त नभएको बताएका छन् ।

मलेसियाको बृहत् धरपकडमा नेपाली परेको खबर छैन : दूतावास

मलेसियाको प्रहरीले गत शुक्रबार मनोरा सिटी अपार्टमेन्ट सहित तीन भवनबाट ५ सय ८६ जना गैरकानुनी हैसियतमा बसेका विदेशी कामदारलाई पक्राउ गरेको थियो । आवतजावत गर्न नियन्त्रण (एमओसी) भइरहेको बेला ठूलो संख्यामा विदेशी कामदारलाई पक्राउ गरेको भन्दै मलेसियामा सरकारको आलोचना भइरहेको छ ।

‘त्यो भवन पहिलादेखि नै लकडाउन गरिएको थियो । भवनबाट कसैलाई बाहिर निस्कन दिइएको थिएन । जसमा बस्ने ६१ जना नेपाली दूतावासको सम्पर्कमा थिए । उनीहरु पक्राउ परेको खबर अहिलेसम्म आएको छैन’, उनले भने, ‘हामी यसबारे थप बुझिरहेका छौं ।’

उनले प्रहरीले पक्राउ गरेको भन्दै कागजात (भिसा) भएकालाई भने छोडिदिएको बताए ।

मलेसियाका प्रहरी महानिरिक्षक तानश्री अब्दुल हमिद वडोरले कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि प्रहरी, अध्यागमन विभाग, शशस्त्र प्रहरीको संयुक्त प्रयासमा अपरेसन गरिएको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

‘व्यक्तिको परिचय नभएपछि झन कठिन हुनेछ । यो अपरेसनको मुख्य लक्ष्य कोरोना संक्रमण नफैलियोस् भन्ने हो’, उनले भनेका छन्, ‘आवातजावत नियन्त्रण गर्ने समय हटेपछि कारबाहीलाई बृहत् बनाइनेछ ।’

गैरकानुन हैसियत रहेका कामदार वसोवासस्थलहरुमा छापा मार्ने काम भइरहेको छ । मलेसियाले आममाफी दिइएको ५ महिने (गत अगस्ट देखि डिसेम्बर) सम्ममा ६ हजार तीन सय ३० जना नेपाली स्वदेश फिरेका थिए ।

हाल झन्डै २५ हजार नेपाली कामदार गैरकानुनी हैसियतमा रहेको दूतावासको अनुमान छ ।

प्रकाशित : वैशाख २१, २०७७ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?