श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर : देउवा

वैशाख १९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लकडाउनका कारण कष्टकर जीवन बिताउन बाध्य श्रमिकहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

१३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले कोरोना भाइरसको महामारीका कारण श्रम गरेर गुजार गर्ने श्रमिकहरुले खाद्यान्नलगायत अत्यावश्यक बस्तुको अभाव भोगिरहेकाले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

'यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु,' सभापति देउवाले विज्ञप्तिमा भनेका छन् ।

कान्तिपुर

Link copied successfully