पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई भष्मासुर र पंगु भनेकोमा आपत्ति
काठमाडौँ — जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ताको बिषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग स्पष्टीकरण सोधेको छ । मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले कार्कीलाई निर्देशन दिएको हो ।
सञ्चार तथा सूचना सचिव दीपक सुवेदीले रेडियोको अन्तर्वार्ताको बिषयमा के कसो हो भनी बुझ्न स्पष्टीकरण सोधिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले चैत ९ मा गरेको निर्णयअनुसार कार्य सम्पादन सन्तोषकजनक नभएको भन्दै मंगलबार मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी अर्को स्पष्टीकरण पनि कार्कीलाई सोधेको छ । कार्यसम्पादन सम्बन्धी स्पष्टीकरण मन्त्रिपरिषद्को निर्णयको आधारमा र अर्को स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयको आधारमा भएको सचिव सुवेदीले जानकारी दिए ।
रेडियो नेपालबाट सोमबार बिहान ६:३० बजे प्रत्यक्ष प्रसारण भएको अन्तरसंवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुरजस्ता भ्रामक र लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको भन्दै तीन दिनभित्रमा स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ ।
रेडियो नेपालले यसअघि नै समाचार महाशाखा प्रमुख नवराज लम्साल संचालन गरेको सो कार्यक्रममा भट्टराईले प्रयोग गरेका शब्दहरुप्रति दुख व्यक्त गरिसकेको छ । रेडियोले आइन्दा अतिथि निम्त्याउँदा विचार पुर्याउने भनेर पनि विज्ञप्तिमा भनिसकेको छ ।
