काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले कुवेतको महाबुला क्षेत्रमा बस्ने गैरकानुनी हैसियतका नेपाली कामदार आममाफीमा सहभागी हुने व्यवस्था मिलाइरहेको जनाएको छ । कुवेत सरकारले नेपालीका लागि छुट्याएको पहिलो दिन महाबुलामा बस्ने नेपालीले ट्राभल डकुमेन्ट र आममाफीको लागि आवेदन दिन पाएका थिएनन् ।
महाबुलाको ब्लक नम्बर ३ मा स्थानीय स्वयंसेवीमार्फत दूतावासमा आवेदन दिन भेला भएका नेपालीलाई स्थानीय प्रहरीले आइतबार लखेटेको थियो ।
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले महाबुलामा रहेका नेपालीले आवेदन दिन पाउने गरी कुवेती अधिकारीहरुसँग कुराकानी भइरहेको बताए । ‘उहाँहरु आममाफीमा सहभागी हुन पाउनुहुन्छ । हामीसँग अझै चार दिनको समय छ,’ राजदूत भण्डारीले कान्तिपुरलाई भने,‘यथासक्य छिटो आवेदन दिन पाउने वातावरण बन्नेछ ।’
सक्कली राहदानी नभएकालाई ट्राभल डकुमेन्ट हात परेपछि मात्रै रोजगारदातालाई छोडेर हिँडेका कामदार आममाफीको लागि तोकिएको केन्द्रमा गई आवेदन बुझाउन पाउनेछन् ।
कोरोना भाइसर संक्रमणको जोखिम क्षेत्र रहेको महाबुलामा लकडाउन भएपछि दूतावासले स्वयंसेवी मार्फतट्राभल डकुमेन्टका लागि आवेदन लिने तयारी गरेको थियो । तर, आवेदन बुझाउन गएका ६ सयभन्दा बढी नेपालीलाई प्रहरी प्रशासनले लखेटेको छ । ‘बिहानदेखि नै महाबुलाको ब्लक ३ मा रहेको खाली ठाउँमा ६ सय नेपाली भेला भइसकेका थिए । ‘हामी आवेदन फर्म लिने तयारीमा थियौं । स्थानीय प्रहरीले त्यहाँबाट सबैलाई हटायो,’ दूतावासले खटाएका स्वयंसेवी डम्बर रिमालले कान्तिपुरसँग भने, ‘आवेदन बुझ्न नसक्ने अवस्था आएपछि धेरै नेपाली निरास भई फर्केका थिए ।’
कुवेतले आममाफी प्रक्रियामा सहभागी हुनको लागि नेपालीका लागि जम्मा चार दिन मात्रै समय तोकेको छ । पहिलो दिन खेर गएका भन्दै नेपालीहरु दतावासप्रति असन्तुष्टि भएका छन् ।
लकडाउन भएको अर्को क्षेत्र जिलिब हसविया क्षेत्रमा बस्ने नेपालीका लागि भने दूतावासले आममाफीको आवेदन बुझाउने केन्द्रमा नै ट्राभल डकुमेन्टका लागि छुट्टै आवेदन बुझाउने व्यवस्थापन गरेको थियो । पहिलो दिन जिलिब हसविया क्षेत्रमा भने सयभन्दा बढी पुरुष र महिला सहभागी भएका छन् ।
पुरूषका लागि जिलिब अलसुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाका लागि जिलिब अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा गएका छन् । फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार फर्वानियाको सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी पुरुष स्कुलको बल्क नम्बर १ मा जानुपर्नेछ । महिला कामदार फर्वानियाको सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी महिला स्कुलको बल्क नम्बर १ मा जानुपर्नेछ ।
दुई दिनमा १७ सय ट्राभल डकुमेन्ट जारी
दूतावासले जलिब हसविया क्षेत्र बाहेकका बस्ने झन्डै १७ सय नेपाली कामदारलाई घर फिर्तीको लागि ट्राभल डकुमेन्ट जारी गरेको छ । शनिबार फर्वानिया, खैतान, सुएख, रिगाई कुवेत सिटी र आइतबार फाहाहिल, मंगाफ र फिन्तास बस्ने नेपाली कामदारलाई ट्राभल डकुमेन्ट जारी गरेको थियो । सोमबार भने ओफ्रा, अवदली, जाहरा, सालमिया र हवालीमा बस्ने नेपालीको लागि ट्राभल डकुमेन्ट जारी गर्दैछ ।
परिचय खुल्ने सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडीको फोटोकपीसमेत नभएका नेपाली कामदारले कुवेतको दजिजस्थित जनरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ ।
तोकिएको केन्द्रमा आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्यागमा अट्ने सामान मात्रै लैजान पाइन्छ । आवेदन स्वीकृति भएको खण्डमा कुवेतले तोकिएको अस्थायी आश्रय केन्द्रमा बस्नु पाउनेछ । नेपाल नआएसम्म तोकिएको आश्रय केन्द्रबाट बाहिर निस्कन पाइने छैन ।
झन्डै ७ हजार नेपाली कामदार अलेखबद्ध (रोजगारदाता छाडेका) कामदार छन् । गत फेब्र्अरी २९ सम्म भिसाको म्याद समाप्त भएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाइनेछ । यसमा सहभागी हुने कामदारले जरिवाना तिर्नुपर्दैन । नेपालसम्म जाने हवाई टिकटसमेत कुवेत सरकारले नै दिनेछ । कुवेतमा पुन: काम गर्न आउन पाइनेछ ।
