कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कोरोनामा सघाउन अफ्रिकामा नेपालीको छुट्टै कोष

वैशाख १४, २०७७

काठमाडौँ — कोरोना संक्रमणका कारण अफ्रिकी मुलुकहरूमा बस्ने नेपाली समुदायमाझ आइपर्ने कठिनाइलाई सम्बोधन गर्न अफ्रिका क्षेत्रीय कोरोना राहत कोष सक्रिय बन्ने भएको छ । कोषका संयोजक हिक्मत थापाका अनुसार अफ्रिकी क्षेत्रमा बस्ने नेपाली श्रमजीविका तर्फबाट आइतबारसम्म १२ हजार डलर सहयोग संकलन भइसकेको छ ।

‘यो कोषलाई निरन्तर बढाउँदै लैजानेछौं, यो क्षेत्रमा कोरोना संक्रमणकै कारण कुनै नेपालीले कठिनाइ बेहोर्नुपर्ने अवस्था आइपरे यो रकमलाई राहत–उद्धार एवं समन्वयका रूपमा प्रयोग गरिनेछ,’ नाइजेरियाको लेगोसमा बस्दै आएका थापाले भने ।

अफ्रिकी देशहरूमा स्वास्थ्य सुविधा, उपकरण, अस्पताल तथा चिकित्सकको उपलब्धता एकदमै न्यून रहेको र चीन, अमेरिका, युरोपपछि अफ्रिकी मुलुकहरू महामारीको इपिसेन्टर बन्न लागेको सन्दर्भमा कोरोना कोष स्थापना गरिएको उनले जानकारी दिए । अफ्रिकाभरका ५४ मध्ये ४० भन्दा बढी देशमा नेपालीको उपस्थिति देखिन्छ । अफ्रिकी मुलुकहरूमा ७ हजारभन्दा बढी नेपाली रहेको तथ्यांक छ । केही मुलुकमा कोरोना संक्रमणकै कारण नेपाली श्रमजीवीको रोजगारी गएको जानकारी भए पनि तत्काल उद्धार वा सहयोगका लागि सूचना नआएको थापाले बताए । सिंगो अफ्रिका हेर्ने गरी दक्षिण अफ्रिका र इजिप्टमा दुई नेपाली दूतावास छन् ।

‘विशेषतः विभिन्न मुलुकमा बस्दै आएका गैरआवासीय नेपाली संघसम्बद्ध पदाधिकारीले अहिले कोरोना कोषमा सहयोग गरिरहनुभएको छ,’ थापाले भने, ‘अफ्रिकामा रहेका नेपालीबारे नेपाल सरकारको खासै ध्यान नगएको देख्दा यो कठिनाइमाझ आफ्नो सुरक्षा तथा उद्धार–समन्वय गर्न आफैं जुटेका हौं ।’ कोषको शनिबार सम्पन्न ‘भर्चुअल मिटिङ’ले सहसंयोजकमा रोशन थापा र विदुर खनाल, सदस्य सचिवमा रमेश कँडेल र कोषाध्यक्षमा कुल कार्कीलाई चयन गरेको छ ।

प्रकाशित : वैशाख १४, २०७७ १२:५९
x
×