चमेराबाट कोरोना भाइरस फैलिएको हो ?

चमेराबारे धेरै नै नकारात्मक कुरा फैलाएको भन्दै दक्षिण एसियाका चमेरा अनुसन्धानकर्मी चिन्तित
गोविन्द पोखरेल

काठमाडौँ — कोरोना भाइरसको उत्पत्तिबारे यतिबेला वैज्ञानिकहरुले विभिन्‍न दाबी गरिरहेका छन् । चमेरो हुँदै कुनै समुद्री जीवमार्फत मानिसमा कोरोना भाइरसको स‌ंक्रमण भएको चर्चा अलि धेरै भएको छ । कोरोना भाइरसको मुख्‍य स्राेत चमेरो भन्दै चर्चा परिचर्चा हुन थालेपछि चमेराका बारेमा खोज अनुसन्धान गर्दै आएका अनुसन्धानकर्मी चिन्तित देखिएका छन् ।

चमेराबाट कोरोना भाइरस फैलिएको हो ?

चमेरासम्बन्धी अनुसन्धान गर्दै आएका दक्षिण एसियाका ६४ जना कायरेप्टेरोलोजिस्‍ट (चमेराको अध्ययन गर्ने)हरुले कोभिड–१९ चमेराबाट फैलिएको आरोप निराधार र गलत भएको बताएका छन् । उनीहरुले कोभिड–१९ चमेराका कारण नफैलिए र नकरात्मक तथ्यहरुको पछाडि नलाग्न पनि आग्रह गरका छन् ।

नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश र पाकिस्तानका अनुसन्धाकर्मी एवं संरक्षणकर्मीहरुले कोभिड–१९ फैलनुमा चमेराको कुनै भूमिका नरहेको प्रष्ट्याएका हुन् । हालसम्म कुनै पनि वैज्ञानिक अनुसन्धानले चमेराका कारण कोरोना भाइरस फैलिएको भन्ने प्रमाणित नगरेको उनीहरुको दाबी छ ।

भारतका चमेरा अनुसन्धानकर्मी रोहित चक्रवर्तीले कान्तिपुरसँगको कुराकानीमा भने, ‘सार्स–कोभ–२ को उत्पत्ति कहाँबाट भएको भन्ने कुरा अहिलेसम्म थाहा छैन । वैज्ञानिक आधारबिना चमेरालाई महामारीको दोष लगाउन थालिएको छ । यो कार्य गलत हो ।’

कोरोना भाइरस जीव हुँदै मानिसहरुमा सरेको बताइएको छ । चीनको वुहानमा रहेको मासु बजारबाट कोरोना विश्वभर फैलिएको थियो । उनीहरुले महामारीको रुपमा फैलिएको कोभिड–१९ र चमेरामा भेटिएको ब्याट कोरोना भाइरस फरक रहेको बताएका छन् ।

सार्स-कोभ-२ र चमेरा भाइरस

चमेरामा आरए–टीजी–१३ नाम गरेको ब्याट कोरोना भाइरस भेटिएको र यो सार्स-कोभ–२ भन्दा धेरै नै फरक रहेको श्रीलंकामा चमेरा सम्बन्धी अनुसन्धान गर्दै आएका थारक कुसुमिन्डाले कान्तिपुरलाई बताए । उनले भने,' यी दुई भाइरसहरु कोरोना भाइरसको एउटै परिवारभित्र त पर्छन् । तर,यी भाइरसहरु करिब ४० देखि ७० वर्षअघि नै छुट्टिएर उत्परिवर्तित भएको नयाँ अनुसन्धानले देखाएको छ । ' मानिसहरुमा लागेको सार्स-कोभ-२ लगाउनुमा चमेराको कुनै योगदान नरहेको उनले दाबी गरे । कुनै एउटा माध्यम (होस्ट)हुँदै यो भाइरस मानिसमा आइपुगेको उनले बताए ।

पर्वतमा भेटिएको नक्कली बोक्सी (लाइडोडर्मा लाइरा) चमेरो । तस्बिर सौजन्‍यः सञ्‍जिव बानियाँ ।

अनुसन्धानकर्ता कुसुमिन्डाले चमेरालाई नै दोषारोपण गरेर केही नहुने बताउँदै उनले अन्य जीवहरुमा पनि अनुसन्धान गरिनुपर्ने बताउँदै विश्‍वभर वन्यजन्तुको चोरी सिकारी र बेचबिखनमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर)ले गरेको अनुसन्धानबाट दक्षिण एसियामा दुई प्रजातिका चमेरामा ब्याट कोरोना भाइरस भेटिएको जनाएको छ । र यो कोरोना भाइरस अहिले माहामारीको रुपमा फैलिएको सार्स कोभिड–२ नभएको र कोभिड–१९ को संक्रमण नगर्ने आईसीएमआरले जनाएको छ ।

चमेराको दिसाबाट कोरोना फैलने कुरा पनि गलत भएको अनुसन्‍धानकर्ता चक्रवर्तीले कान्तिपुरलाई बताए ।

सार्स-कोभ–२ भाइरसको उत्पत्ति कहाँबाट भयो भन्नेबारे हालसम्‍म कसैले ठोस तथ्‍य पत्ता लागेका छैन । कसैले वुहानको सी फूड मार्केटमा कुनै जीवको मार्फत हुँदै मानिसमा पुगेको अनुमान गरिएको छ । कसैले चमेराबाट सरेको भाइरस कुनै अर्को जीवमा गएर त्यहाँ उत्परिवर्तित भएर मानिसमा पुगेको दाबी गरेका छन् । कसैले सालक हुँदै मानिसमा सरेको दाबी गरेका छन् भने कसैले चमेरामा भएको भाइरस सर्पमा पुगेर उत्परिवर्तित भएर मानिसमा पुगेको बताइरहेका छन् ।

सन् २०१३मा अनुसन्धानकर्ता शी झेङ लीले एउटा अनुसन्धान गरेकी थिइन् । हर्स सू ब्याट प्रजातिमा भेटिएको आरए–टीजी–१३ ब्याट कोराना भाइरस र सार्स–कोभ–२ को जेनोम म्याच गराउँदा ९० प्रतिशत उस्तै रहेको पाइएको थियो । उक्त अनुसन्धानले यी भाइरसकोव पुर्खा एउटै रहेको दाबी गरेको थियो । तर,यी भाइरसहरु ३०देखि ७० वर्ष पहिले नै छुट्टिएर उत्परिवर्तित भएको उनको अनुसन्धानले जनाएको छ ।

चमेरा अनुसन्धानकर्मीहरुले पनि यही विषयलाई लिएर चमेरालाई रोग फैलाएको आरोप लगाउनु गलत भएको बताएका छन् । चमेरा अनुसन्धानकर्मीहरुका अनुसार दक्षिण एसियामा दुई वटा चमेराका प्रजातिमा ब्याट कोरोना भाइरस भेटिएको बताए । तर उक्त भाइरस सार्स–कोभ–२ भन्दा भिन्नै रहेको जनाएका छन् ।

आईसीएमआरले बदुरा चमेरो ‘इन्डियन फ्लाइङ फक्स’ र जिब्रो पड्काउने फलाहारी चमेरो ‘फुल्भोस फ्रूट ब्याटमा’ मा पनि ब्याट कोरोना भाइरस भेट्टाएको थियो ।

चमेरामा धेरै भाइरस किन पाइन्छन् ?

चमेरा उड्न सक्‍ने एक मात्र स्तनधारी जीव हो । चमेराको यही विशेषताले गर्दा उठ्नका लागि उसलाई धेरै नै ऊर्जाको आवश्यकता पर्छ । उड्ने क्रममा धेरै नै उर्जा चाहिने भएकाले यो जीवको मेटाबोलिजम धेरै छिटो हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार उड्नका लागि धेरै नै उर्जा चाहिदा शरीरमा कोषहरु छुट्टिने र फ्री रेडिकल्सहरु निर्माण हुने गर्छन् । यो विरुद्ध लड्नका लागि चमेराको प्रतिरोधात्मक क्षमता अन्य स्तनधारी जीवहरुको भन्दा दाह्रो हुने गरेको अनुसन्धानले देखाएको छ ।

विभिन्‍न भाइरसहरु शरीरमा आउँदा चमेराको प्रतिरोधात्मक क्षमताका कारणले संक्रमण हुन नसक्‍ने र लामो समयसम्म ती भाइरहरु चेमरामा रहने अनुसन्धानले देखाएका छन् । यस्ता भाइरहसहरु बेला बेला घर पालुवा जनावारमा पुग्‍ने र त्यहाँ उत्परिवर्तित भएर मानिसमा जाने गरेको अनुसन्धानले देखाएको छ ।

पोखराको चमेरे गुफामा बसेका चमेरा । तस्बिरः भीम घिमिरे/कान्तिपुर

अनुसन्धानकर्ता चक्रवर्ती भन्छन्,'चमेराको यही प्रतिरोधात्मक क्षमताको अध्ययन गरेर विभिन्‍न ओषधिहरु निर्माण गर्न सकिन्छ । अफवाह र यसप्रति नकारात्मक धारणा नबनाई अनुसन्धान गरिनुपर्छ ।'

चमेराबाटै निपा भाइरस,मर्स भाइरस लगायतका रोगहरु सरेको बताइन्छ । अर्का अनुसन्धानकर्ता कुसिमन्डा अन्य जीवहरु पनि भाइरसको स्रोत भएको बताउँछन् । उनले भने,'कुकुरबाट रेबिज सर्छ । अन्य जीवहरु पनि भाइरसको स्रोत हुन् तर चमेरालाई मात्रै सबै भाइरसको जड हो भनेर दोष दिइनु गलत हो । '

संरक्षणकर्मी चिन्तित

चमेरालाई नै रोग फैलाउने मुख्‍य स्रोत भनेर अपव्याख्या गरिएपछि अनुसन्धानकर्मीहरु चिन्तित् छन् । चमेरा अनुसन्धान तथा संरक्षण संघ नेपालका अनुसन्धानकर्ता सञ्जिव बानियाँले अन्य वन्यजन्तुहरु पनि भाइरसको स्रोत हुने तर यसरी चमेरालाई नै जोडिनु गलत रहेको बताए । उनका अनुसार चमेराले पारस्थिति प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

बालीमा लाग्ने किरा, फट्यांग्राहरु खाइदिने, परागसेचन गराउने, पेस्ट कन्ट्रोलको काम चमेराले गर्ने बानियाँले बताए । चमेराले आर्थिक रुपमा मानिसको धेरै सहयोग पुर्‍याएको अनुसन्धानकार्मीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै,अम्बा,आँपलगायतका फलहरुको परागसेचनमा पनि चमेराले भूमिका खेल्‍ने भुटानका चमेरा अनुसन्धानकर्ता सञ्जय छिरिङ्ले कान्तिपुरलाई बताए । उनले भने,'चमेरासम्बन्धी दक्षित एसियामा मानिसहरुमा नकारात्मक धारणा धेरै बनाइरहेका छन् । तर हाम्रो मुलुकमा बाघलाई दिएजसरी नै संरक्षण गरिएको छ ।'

कोरोना भाइरससम्बन्धी अनुसन्धान गर्दै आएका क्यानडास्थित एमसीमास्टर विश्वविद्यालयका अनुसन्धाकर्ता डा. अरिन्जय बनर्जीले पनि यस्ता संक्रामक रोग उत्पन्न हुनबाट जोगाउनका लागि मानवीय क्रियाकलापहरुमा परिवर्तन हुनुपर्नेमा जोड दिएको चक्रवर्तीले सुनाए ।

अनुसन्धानकर्मीहरुले वन्यजन्तुको ओसारपसारका क्रममा भाइरसको संक्रमणको खतरा भने हुने गरेको बताए ।

दक्षिण एसियामा चमेरालाई हेर्ने नजर कस्तो छ ?

दक्षिण एसियामा चमेराका विभिन्न १ सय ४० प्रजाति पाइन्छन् । ती मध्ये ९ वटा लोपन्मुख रहेको अनुसन्धानकर्ता चक्रवर्तीले बताए । दक्षिण एसियाका केही मुलुकहरुमा चमेराबारे मानिसहरुमा अझै पनि नकारात्मक भाव रहेको बताउँदै यसतर्फ ती देशले चमेरा संरक्षण र यसको महत्व सम्बन्धमा नीति निर्माण गर्नुपर्ने अनुसन्धानकर्मीहरुले बताएका छन् ।

नेपालको सन्दर्भमा ५३ प्रजातिको चमेरा रकेर्ड गरिएको छ । स्‍याङ्जामा पाइने सोर्बाको मुसाकाने चमेरो नेपालमा मात्रै भेटिएको बानियाँले जानकारी दिए । सानो बदुरा चमेरा चेपाङ समुदायले सिकार गर्ने गरेको छन् ।

गुफाहरुमा पाइने ठूलो गोलोपत्रे चमेरो ‘हिपोसिडेरस आर्मिजर’ किरा/फट्यांग्राहरु खाएर बालीलाई जोगाउने काम गरेको बानियाँले बताए ।

भारतको तमिलनाडुमा केही मानिसहरुले चमेरलाई पुज्‍ने गरेको चक्रवर्तीले बताए । यस्तै श्रीलंकामा ३० प्रजातिका चमेरालाई त्यहाँको कानुनले संरक्षित सूचीमा राखेको अनुसन्धानकर्ता थरक कुसुमिन्डाले जानकारी दिए । यस्तै त्यहाँमा मानिसहरुमा चमेरासम्बन्धी भाव नकरात्मक रहेको उनले सुनाए । त्यहाँका मानिसहरु आफन्त मरेपछि चमेरा भएर जन्मिने र पुरानै घरमा फर्केन अन्धविश्‍वास रहेको कुसुमिन्‍डाले बताए ।

भुटानमा चमेरालाई शुभ संकेतको रुपमा लिइने गरेको अनुसन्धानकर्ता सञ्‍जय छिरिङले बताए । उनले भने,'पूर्वी भुटानमा चमेरालाई सम्पत्ति र शुभ संकेतको रुपमा लिइन्छ । घर वरपरि चमेरा आए शुभ संकेतको रुपमा लिने गरिन्छ । ' भुटानका गुफाहरुमा पाइने चमेराले भगावनको सुरक्षा गर्ने समेत जनविश्वास रहेको उनले जानकारी दिए ।

नेपालमा पनि चमेरासम्बन्धी मानिसहरुले हेर्ने नजर भने नकारात्मक नै रहेको पाइन्छ । घर वरिपरि चमेरा तथा उल्लु कराउँदा कतिपय ठाउँहरुमा अशुभ संकेतको रुपमा लिने गरिएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?