कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कुवेतका नेपाली भोलिदेखि आममाफीमा सहभागी हुन पाउने

वैशाख १३, २०७७
कुवेतका नेपाली भोलिदेखि आममाफीमा सहभागी हुन पाउने

Highlights

  • तर दूतावासले सूचना नै ढिलो गर्दा कामदारलाई तोकिएको समयभित्र प्रक्रिया भ्याउनै मुस्किल 

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले सूचनामै ढिलाइ गर्दा आममाफीमा सहभागी हुन चाहेका नेपाली कामदारलाई चापाचाप परेको छ । आवासीय भिसा उल्लंघन गरी (रोजगारदाता छोडेका) बसेका नेपालीलाई आममाफी लागू हुनुभन्दा दुई दिनअघि शुक्रबार मात्र दूतावासले सूचना जारी गरेको हो ।

कुवेतले आवेदनका लागि अप्रिल २६ देखि ३० सम्म ४ दिनको समयसीमा तोकेको छ । दूतावासको ढिलाइले रोजगारदाता छाडेर अन्यत्रका कम्पनी वा घरमा काम गर्दै आएकाहरू आधिकारिक सूचना पाउनबाट वञ्चित भएका छन् । त्यहाँ यसरी बसेका झन्डै ७ हजार नेपाली कामदार छन् ।

गत फेब्रुअरी २९ सम्म भिसाको म्याद सकिएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउनेछन् । तिनले जरिवाना तिर्नुपर्दैन । नेपालसम्म आउने हवाई टिकटसमेत कुवेत सरकारले नै दिनेछ । त्यहाँ फेरि काम गर्न जान पाइनेछ ।

आममाफीमा सहभागी हुने प्रक्रिया

कुवेतले आममाफीमा सहभागी हुने नेपालीका लागि निश्चित केन्द्र तोकेको छ । जिलिव हसविया क्षेत्रमा पुरुष र महिला कामदारलाई छुट्टाछुट्टै केन्द्र छन् ।

पुरुषले जिलिव अल सुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाले जिलिव अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा जानुपर्नेछ ।

फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ । महिला कामदारलाई सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी स्कुलको ब्लक नम्बर १ तोकिएको छ । दूतावासले महावुल्ला क्षेत्रका कामदारलाई तोएिको केन्द्र भने अझै खुलाएको छैन ।

आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्याग मात्र लैजान पाइनेछ । आवेदन स्वीकृत भएपछि तोकिएको अस्थायी आश्रय केन्द्रमा बस्न पाइनेछ । नेपाल नआएसम्म त्यहाँबाट निस्कन पाइनेछैन ।

जिलिव क्षेत्रकाले दूतावास जान नपर्ने

जोसँग म्याद भएको सक्कली राहदानी छ तिनले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) लिन दूतावास गइरहनु पर्दैन । उनीहरू सीधै तोकिएको केन्द्रमा गई आवेदन दिन पाउनेछन् ।

त्यस्तै जिलिव क्षेत्रमा बस्ने नेपालीले भने सक्कल राहदानी नभए पनि तोकिएकै केन्द्रमा ट्राभल डकुमेन्टका लागि आवेदन दिन सक्ने, दूतावास जानु नपर्ने व्यवस्था मिलाइएको छ ।

राहदानी साथमा नभएकाले मात्रै ट्राभल डकुमेन्ट बनाउनुपर्छ । त्यसका लागि राहदानी, नागरिकता, सिभिल आईडीको फोटोकपी र चारप्रति फोटो लैजानुपर्छ ।

कुनै कागज नभएकाहरूको हकमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट लिई चारप्रति पासपोर्ट साइज फोटोसहित सोही स्थानमै आवेदन दिन सकिने नेपाली दूतावासले जनाएको छ । साथमा कागजात नभएका कामदारलाई आममाफी प्रक्रियामा सहभागी हुन अलि कठिनाइ देखिन्छ ।

अन्यत्रकाले दूतावासै जानुपर्ने

जिलिव हसवियाबाहेक स्थानमा बसोबास गर्ने सक्कल राहदानी नभएका कामदारले भने ट्राभल डकुमेन्ट बनाउन दूतावासै जानुपर्नेछ ।

राहदानी, नागरिकता, सिभिल आईडको फोटोकपीसमेत नभएकालाई दजिजस्थित जनरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ ।

‘कुनै कागजात नभएका घरेलु कामदारको हकमा यो प्रावधानले कठिन बनाइदियो । दूतावासले यस्तो संवेदनशील बेलामा यस प्रक्रियाबारे पहिला नै सूचना जारी गरेको भए घरेलु कामदारलाई सम्बन्धित विभागमा जाने समय हुन्थ्यो । अब यो चार दिनमा कसरी सम्भव छ’, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का कुवेतस्थित संयोजक गणेश रावतले कान्तिपुरलाई भने, ‘समयमा सूचना जारी नहुँदा घरफिर्ती प्रक्रियामा सहभागी हुन नेपालीलाई कठिन भइदिएको छ ।’

कुन क्षेत्रका नेपाली कहिले दूतावास जाने ?

दूतावासले जिलिव हसविया क्षेत्रमा बस्नेबाहेकका नेपालीलाई फरक–फरक समय तोकेको छ ।फर्वानिया, खैतान, सुएख, रिगाई र कुवेत सिटीमा बस्नेलाई अप्रिल २५, फाहाहिल, मंगाफ र फिन्तास बस्नेलाई अप्रिल २६, ओफ्रा, अवदली, जाहरा, सालमिया र हवाली बस्नेलाई अप्रिल २७ को मिति तोकिएको छ ।

यो क्षेत्रबाहेकका नेपालीलाई अप्रिल २८ देखि ३० सम्मको अवधि छुट्ट्याइएको छ । महाबुल्ला क्षेत्रका नेपालीलाई छुट्टै सूचना प्रकाशित नभएकाले दूतावासले यो दुई दिन छुट्ट्याएको हुन सक्छ ।

‘कुवेतले आममाफी तोकेको र दूतावासले ट्राभल डकुमेन्ट जारी गर्ने समय एकैचोटि पर्‍यो । यो दूतावासको ठूलो कमजोरी र लापरबाही हो । कुवेतले एक महिनाअगाडि नै २६–३० तारिख भनेर छुट्ट्याइसकेको थियो । दूतावासले नेपालीलाई तयारी अवस्थामा राख्न त्यसअघि नै ट्राभल डकुमेन्ट जारी गरिसक्नुपर्थ्यो,’ रावतले भने, ‘अब दूतावासमा सेवाग्राहीको भीड बढ्ने सम्भावना छ । जसले सेवा प्रवाहमा असर पर्ने स्थिति देख्छु ।’

प्रकाशित : वैशाख १३, २०७७ १३:१२
x
×