जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

आवश्‍यक कागजात पुगे र नाम नजुधे ४५ दिनभित्र कानुनी मान्‍यता पाउने

वैशाख ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान निर्वाचन आयोग पुगेर नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नयाँ दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए ।

बुधबार मध्यराति राजपा र समाजवादीबीच एकताको सहमति भएको थियो ।राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

निर्वाचन आयोगमा एकीकृत पार्टीका रुपमा ‘जनता समाजवादी पार्टी’  नाममा दर्ताका लागि निवेदन दिइएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ। नेताहरुको कार्यविभाजन भने भइसकेको छैन ।

दुई दलबीच एकीकरणपछि बनेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि नयाँ दलले कानुनी मान्यता पाउन बढीमा ४५ दिन कुर्नुपर्छ । दल दर्ताका लागि बुझाइएको आवश्यक कागजात रुजु गर्ने, नाम जुधेको वा नजुधेको हेरेर निर्वाचन आयोगले निर्णय गर्ने निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

‘ओली डिजाइन’ असफल पार्न समाजवादी-राजपा रातारात एकीकरण

कान्तिपुर

Link copied successfully