३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेकपा विवाद असर : पार्टी स्थापना दिवसमा चार विज्ञप्ति !

बबिता शर्मा

काठमाडौँ — नेकपाभित्रको विवादको असर नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा समेत देखिएको छ । गत बर्ष नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस भव्य रुपमा मनाएको सत्तारुढ नेकपाले यसपाली औपचारिक कार्यक्रम त गरेन नै, पार्टी अध्यक्षद्वयका तर्फबाटसमेत संयुक्त विज्ञप्तिसमेत आएन ।

नेकपा विवाद असर : पार्टी स्थापना दिवसमा चार विज्ञप्ति !

केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै अध्यक्षका भिन्दाभिन्दै विज्ञप्ति आए ।

कोभिड–१९ विरुद्धको लडाँइमा देश रहेका कारण ठूला साना औपचारिक कार्यक्रम गर्न प्रतिबन्ध लगाईएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेकपाले औपचारिक कार्यक्रम नगरेपनि अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा विज्ञप्ति समेत नआउनुलाई नेता कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।

पार्टी स्थापना दिवसको सन्दर्भमा अध्यक्षद्वयको विज्ञप्ति नआउँदै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले समेत अलग–अलग विज्ञप्ति निकाले । सबैभन्दा पहिला मंगलबार दिउँसो नेता नेपालको र साँझ अध्यक्ष दाहालको विज्ञप्ति आएको थियो । बुधबार विहान प्रधानमन्त्री ओली र नेता खनालको विज्ञप्ति आएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएपछि नेकपामा नयाँ विवाद थपिएको हो ।

सचिवालयको बैठक बसेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशबारे छलफल गर्न बोलाइएको बैठककै बीचमा अध्यादेश जारी भएपछि सचिवालय बैठकसमेत प्रभावित भएको थियो ।

अध्यादेशलाई लिएर नेकपाभित्र तीनथरी मत छ । प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल अध्यादेशको पक्षमा छन् । अर्का अध्यक्ष दाहालसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अध्यादेशको विरोधमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतम अध्यादेश ठीक भए पनि जारी हुनुअघि पार्टीमा छलफल नभई आएको र अहिले उपयुक्त समय नभएको बताएका छन् ।

अध्यादेशलाई लिएर शीर्ष तहमा देखिएको मतभेद पार्टी स्थापना दिवसमा परेको स्थायी कमिटीका एक नेताले बताए । र, यसैको परिणाम स्वरुप चार नेताको भिन्दाभिन्दै विज्ञप्ति आएको पनि उनले बताए ।


अप्रिल २२ (वैशाख १० गते) ७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना दिवसमा जारी भएका विज्ञप्तिमा सबैले पार्टी एकतामा जोड दिएका छन् ।

कसले के मुद्दा उठाए ?

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनःगठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो । कम्युनिष्ट पार्टीले लाकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानामा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णयक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।’

अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउामा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।’

दाहालले थप अगाडि भनेका छन्, ‘पाटीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ । यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’

वरिष्ठ नेता झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएर मात्र उपलब्धिहरुलाई निरन्तरता दिन सकिन्छ । तर, पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने प्रवृत्ति बढ्न थाले भने उपलब्धिहरु नै गुम्ने खतरा हुन्छ ।’

वरिष्ठ नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका, पार्टीको विधि–पद्घति तथा संगठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरूबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ,’ नेता नेपालले भने, ‘यस चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आहृवान गर्दछु ।’

नेपालले थप अगाडि भनेका छन्, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’

प्रकाशित : वैशाख १०, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?