कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भक्तपुरमा रोकिए साढे ४ सय मजदुर

वैशाख ९, २०७७
भक्तपुरमा रोकिए साढे ४ सय मजदुर

काठमाडौँ — लकडाउन खुल्ने अनिश्चित भएपछि स्थायी थातथलो हिँडेका साढे ४ सय मजदुर भक्तपुरका विभिन्‍न स्थानमा रोकिएका छन् ।

बोरा र झोलामा सामान बोकेर घरतर्फ हिँडेका ४ सय ५३ जना मजदुरलाई प्रहरीले भक्तपुरको चागुनारायण, राधेराधे, जगातीलगायत स्थानमा रोकेर अघि बढ्न दिएको छ ।

रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगातर्फ हिँडेका ९५ जनालाई जगातीमा रोकिएको छ । यसैगरी कालीकोट हिँडेका १६ जनालाई चागुनारायण र बर्दीया हिँडेका ८ जना राधेराधेमा रोकिएका छन् ।

यसैगरी कुम्लो कसेर पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्ला हिँडेका थप ३ सय ३४ जना भक्तपुरमै रोकिएका छन् । राधेराधे, जगाती, गठ्ठाघरलगायतबाट उनीहरुलाई अघि बढ्न दिइएको छैन ।

उनीहरुलाई जडिबुटीमा अस्थायी सेल्टर बनाएर राख्‍ने तयारी भइरहेको भक्तपुरका एसपी सविन प्रधानले बताए । उनका अनुसार भक्तपुरबाट घर जान खोज्ने ज्यालादारी मजदुरको संख्या करिब १ हजार रहेको उनले बताए ।

रोकिएका अधिकांश ईंटाभट्टा, सडकलगायत क्षेत्रमा कार्यरत ज्यालादारी मजदुर छन् । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले लकडाउन कडाइका साथ पालना गर्न आवतजावत कडाइका साथ निषेध गरिएको बताए ।

‘कसैले खान पाएको छैन भने स्थानीय सरकार र प्रहरीले त्यसको जोहो गरिदिन्छ तर लकडाउन उल्लंघन गरेर सडकमा मानिस हिँड्न पाइदैन,’ उनले भने, ‘जोजहाँ बस्दै आउनु भएको छ, त्यहाँबाट अन्यत्र नहिँडिदनु होला, अटेर गरेर जानु भयो भने प्रहरीले बाटोमै रोक्छ, पछि अलपत्र पर्नुभन्दा अहिले नै घरबाट ननिस्किएको नै राम्रो हुन्छ ।’

गएको शनिबार मात्रै थानकोट प्रहरीले बाँके,बर्दिया, कैलाली लगायत जिल्ला हिँडेका २ सय २८ जना मजदुरलाई रोकेर त्रिभुवन पार्कमा राखिएको थियो । तर सम्बन्धित जिल्लाका सांसदहरुको पहलमा उनीहरुलाई सोही साँझ गाडी चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।

अन्य जिल्लाका कतिपय मजदुरहरुलाई जनप्रतिनिधिहरुले सवारी व्यवस्था मिलाएर पठाएपनि माथिल्लो तहसम्म पहुँच नभएकाहरु अझै रोकिएका हुन् ।

प्रकाशित : वैशाख ९, २०७७ १७:११
x
×