२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

सुकुम्बासीलाई जग्गा बाँड्न गठित आयोगका अध्यक्ष ज्ञवाली र सदस्यहरूको पदबहाली, के के पाउँछन् सुविधा ? 

कार्यविधि बनाउने काम थाल्यो आयोगले, जिल्ला समिति तत्काल गठन नहुने
बलराम बानियाँ

काठमाडौँ — लकडाउनकै बीच सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले बिहीबार पद बहाली गरेका छन् ।

सुकुम्बासीलाई जग्गा बाँड्न गठित आयोगका अध्यक्ष ज्ञवाली र सदस्यहरूको पदबहाली, के के पाउँछन् सुविधा ? 

अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्यहरू जगत देउजा, दिनेशचन्द्र यादव, मञ्जली शाक्य र भीमबहादुर कार्कीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सभाकक्षमा बिहीबार अपराह्न पदबहाली गरेका हुन् ।

सरकारले देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न आयोग गठन गरेको हो । मुलुकमा १४ देखि १६ लाख परिवार सुकुम्बासी र अव्यवस्थित बसोवासी रहेको अनुमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको छ ।

तीन वर्षका लागि गठित आयोगले पूर्णता पाउने भने बाँकी छ । आयोगमा सात प्रदेशबाट एक/एक जना सदस्य र केन्द्र सरकारले तोकको सहसचिव सदस्यसचिव रहने व्यवस्था छ । भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेशअनुसार सात प्रदेश सरकारले एक/एक जना सदस्य र केन्द्र सरकारले सदस्यसचिव तोक्न बाँकी छ ।

आयोगले केन्द्रीय संरचनाले पूर्णता नपाए पनि बिहीबारदेखि नै काम सुरु गरेको छ । आयोगले आफ्नो कार्यविधि र बैशाख, जेठ र असार महिनाको कार्ययोजनाबारेमा छलफल सुरु गरेको जानकारी सदस्य देउजाले दिए । केही दिनभित्रै कार्यविधि र तीन महिने कार्ययोजना तयार हुने जानकारी उनले दिए ।

यो पनि

उनले कोभिड–१९ को महामारीका कारण मुलुक असहज स्थितिमा रहेका कारण आयोगको कार्यालय तत्कालका लागि मन्त्रालयकै चार/पाँच कोठामा सञ्चालन गर्ने र कुनै सरकारी भवन खाली भएपछि त्यहीं सार्ने निर्णय भएको जानकारीसमेत दिए ।

देउजाका अनुसार आयोगले कोभिड–१९ को महामारीका कारण स्थिति सहज नभएसम्म ७७ जिल्लामा संरचना भने गठन नगर्ने निर्णय गरेको छ । ७७ जिल्लामा आयोग मातहतमा एक जना संयोजक र ६ सदस्य रहेको जिल्ला समिति गठन हुने व्यवस्था गठन आदेशमा छ ।

को हुन् आयोगका अध्यक्ष र सदस्य ?

अध्यक्ष ज्ञवाली गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मेयरमा रेणु दाहालसँग पराजित तत्कालीन एमालेका उम्मेदवार हुन् । दाहालसँग थोरै भोटले पराजित र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विजयी गराउन सहयोग गरेकै कारण ज्ञवालीलाई पुरस्कृत गरी आयोगको अध्यक्षको जिम्मेवारी दिइएको हो । आयोगको अध्यक्षलाई राज्यमन्त्री सरहको तलबभत्ता, गाडी, चालक र इन्धन तथा मर्मतसम्भार सुविधा पाउने छन् ।

आयोगका विज्ञ सदस्यका रूपमा नियुक्त देउजा यसअघि अतिक्रमित जग्गा छानबिन आयोग र सुकुम्बासी आयोगका सदस्य थिए । उनी भूमि मामिलाका जानाकारसमेत हुन् ।

आयोगका तीन सदस्यमा बाँकेका दिनेशचन्द्र यादव, कास्कीका भीमबहादुर कार्की र ललितपुरका मञ्जली शाक्य छन् । उनीहरू तीनै जना सत्तारूढ नेकपाका जिल्लास्तरीय नेता हुन् । यादव पछिल्लो संविधानसभा सदस्य थिए । आयोगका सदस्यहरूले विशिष्ट श्रेणीसरह तलबभत्ता, गाडी, चालक, इन्धन र मर्मतसम्भार सुविधा पाउँछन् ।

जिल्ला संयोजकले सहसचिव र सदस्यले उपसचिव सरहको तलबभत्ता, गाडी, चालक, इन्धन र मर्मतसम्भार सुविधा पाउँछन् ।

प्रकाशित : वैशाख ४, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?