लकडाउन र सीमा नाका बन्द भए पनि महाकाली नदीमा पौडी खेलेर तथा ट्युबको सहायतामा नेपाल भित्रिने क्रम रोकिएको छैन । रातिमा ट्युबबाट तार्न भारतीयहरुले प्रतिव्यक्ति २ हजार भारुसम्म असुल्ने गरेका छन् ।
बैतडी — तीन साताअघि काम खोज्दै उनी भारतीय बजार पुगे । महाकालीपारि पानीट्यांकीको निर्माण भइरहेको थियो । उनी त्यहीँ काम गर्न थाले । केही दिनमै भारततिर कोरोना भाइरसको महामारी फैलिएको सुनेपछि उनले घर फर्कन निधो गरे ।
‘तर महाकाली तर्न डुंगा र ट्युब बन्द भइसकेका थिए, भारतीयले राति तारिदिने भए पनि पैसा थिएन,’ पञ्चेश्वर गाउँपालिका–१ सेरीबैसेकका पुष्कर सिंह घतालले भने, ‘साँझको समय थियो, पौडेरै महाकाली तर्ने सोचें ।’
३३ वर्षीय उनी चार दिनअघि महाकालीमा हेलिए । ‘डर त लाग्यो । घर पुग्ने आत्तुरीले महाकाली तर्ने हिम्मत आयो । अलिकति पौडी खेल्न आउँथ्यो । पौडेरै आइहालें,’ उनले भने । अहिले उनी आफ्नै बसोवास रहेको वडाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
मेलौली नगरपालिका–९ विशालपुरस्थित विशालपुर माविको क्वारेन्टाइनमा बसिरहेका छन् रमेशराम लुहार । उनी त्यहाँ बस्न थालेको २१ दिन भयो । भारतको पिथौरागढमा सडक निर्माणको काम गरिरहेका उनले कोरोना फैलिएको थाहा पाएपछि घर फर्कने विचार गरे । सँगै रहेका आठ जना पनि आउने तयारी गर्दागर्दै लकडाउन सुरु भयो । ‘आफ्नै देशमा मर्न त पाउँला भनेर हिँडेरै आउने निधो गर्यौं,’ लुहारले भने । काम गर्ने ठाउँमा खानेकुरा पनि सकिन लागेकोले पैदलै आएको उनले बताए ।
काम गरेको पूरै ज्याला पनि पाएका थिएनन् । साथमा भएको २/३ हजार जति पैसा बोकेर भोकभोकै तीन दिन हिँडेर उनीहरू महाकालीको किनार आइपुगे । महाकालीमा माछा मार्ने भारतीयले प्रत्येकले ११ सय भारतीय रुपैयाँ दिए मात्रै ट्युबमा तारिदिने बताए । नदी किनारमा अलपत्र हुनुभन्दा मोलमोलाइ नगरी उनीहरू नदी तर्न राजी भए । राति ९ बजेतिर महाकाली तरेको रमेश सुनाए । ‘राति महाकाली तर्नु पर्दा डर त लागेको थियो,’ उनले भने, ‘मरे मरिएला, बाँचे आफ्नै देशमा भनेर महाकाली तरियो ।’
तीन दिनदेखि भोकै रहेका उनीहरूले नेपाल भित्रिएपछि भने गाउँलेको सहयोगमा एक किलो गुँड र आठ वटा बिस्कुट खान पाएको उनले सुनाए । गाउँमै बनाइएको क्वारेन्टाइनमा बसेका उनीहरू घर फर्किने तयारीमा छन् । घर फर्किएपछि पनि एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ । ‘अब त्यसै गर्नुपर्ला,’ उनले भने ।
लकडाउनसँगै नेपाल–भारत नाका बन्द हुँदा धेरैजना महाकाली तरेर स्वदेश भित्रिएका छन् । जसमध्ये केही पौडिएरै त धेरैजसो ट्यु्बबाट । यसरी आउनेलाई रातको समयमा प्रतिव्यक्ति २ हजार भारुसम्म लिएर भारतीयले तारिदिने गरेका छन् । पुर्चाैडी नगरपालिकाका २३ जना, पञ्चेश्वर गाउँपालिकाका ४१, शिवनाथ गाउँपालिकाका १६, डिलासैनी गाउँपालिकाका सात, पाटन नगरपालिकाका चार, दोगडाकेदार गाउँपालिकाका २४, सुर्नया गाउँपालिकाका एक एवं मेलौली नगरपालिकाका चार जना लकडाउनपछि पौडिएर र ट्युबबाट नेपाल भित्रिएका छन् ।
ट्युब तरेर आउने क्रम अझै नरोकिएको बैतडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनका अनुसार कतिपय पौडिएर आएको खबर पनि सुनिने गरेको छ । नेपालतर्फका ट्युब प्रहरीले नियन्त्रणमा लिए पनि भारततिरकाले रातको समयमा तारिदिने गरेकाले समस्या भएको उनले बताए ।
