कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

सोमबारमात्रै थप तीन जना संक्रमित
होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन् । उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो । तर, रिपोर्ट आइसकेको थिएन ।


‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो । तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो । अस्पतालले औषधि दिएको थियो । बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए । शवलाई प्रहरी आएर लिएर गएको थियो ।’


दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन् । पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन् ।


आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ । ‘यो दुःखद् खबर हो । हामीले अनौपचारिक सूचना पाएका छौं । औपचारिक सूचना प्राप्तको लागि सम्बन्धित ठाउँमा चिठी लेखेर पठाएका छौं,' राजदूत कृष्णप्रसाद ढकालले कान्तिपुरलाई भने ।


यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ११ जना पुगेको छ । तीमध्ये दुई जनालाई निको भइसकेको छ ।


यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ । एकसय ६७ जनालाई निको भइसकेको छ । ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २४, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?