स्वास्थ्यका मापदण्ड पूरा गरेर खाद्य र अत्यावश्यक उद्योग खोल्न दिइने

ठूला आयोजनाहरूमा बाहिरी सम्पर्क नहुने गरी काम सञ्चालन गरिने

चैत्र २०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले खाद्यलगायत अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरूलाई कामदारलाई भित्रै सुरक्षित राखेर र स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिने निर्णय गरेको छ ।

अरु उद्योगहरूले पनि आवासीय रुपमा मजदुर परिचालन गरेर बाहिर  आवतजावत गर्ने गरी काम गर्न चाहे स्थानीय प्रशासनको अनुमतिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले लकडाउनको अवस्थामा पनि दैनिक आवश्यक वस्तु उत्पादनमा अहसज नहोस् भनेर केही उद्योगलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो । 

त्यस्तै ठूला आयोजनाहरूले पनि  आफ्नो आयोजनामा काम गर्नेहरूलाई बाहिर सम्पर्कमा  जान नदिने गरी सुरक्षा विधिहरू अपनाएर काम गराउन सक्ने निर्णय समितिले गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार आफ्नो आयोजना क्षेत्रभित्र मात्र सीमित रहने प्रवन्ध आयोजनाले गर्नुपर्नेछ ।

त्यस्तै हिउँदेबाली भित्र्याउन र नयाँ बाली लगाउनका लागि बाहिरी कृषि मजदुरहरू परिचालन नगरी कृषकले पारिवारिक रुपमा काम गर्नसक्ने निर्णय समितिले गरेको छ । बाली लगाउँदा वा भित्र्याउँदा बाहिरी मजदुरहरू भने ल्याउन पाइनेछैन ।  स्थानीय र बाहिरी सम्पर्क हुने गरी कृषिको काम गर्नसक्ने समितिको निर्णय छ ।

नेपाल र भारतको सीमामा रहेका दुवै मुलुकका नागरिकलाई एकअर्काले हेर्न र त्यो सम्बन्धमा अझै व्यस्थित ढंगले राख्न पहल गर्ने निर्णय पनि समितिले गरेको छ । समितिले सीमामा आइपुगेका नेपाली नागरिकलाई त्यहीं १४ दिनसम्म बसेर सहयोग गरिदिन आग्रह गरेको छ ।


‘जीटुजीमा खरिद गर्न नसकेर निजी क्षेत्रलाई आह्वान गरेका थियौं’

सरकारका प्रवक्ता खतिवडाले यसअघि सरकार सरकारबीच ‘जी टु जी’मोडलबाट समान खरिद गर्न नसकेर निजी क्षेत्रलाई खरिद गर्न दिनुपरेको बताएका छन् ।  भारत र चीन दुबै मुलुक आफैं समस्यामा रहेकाले त्यसबेला जीटुजी सम्भव नभएको उनले उल्लेख गरे । ‘छिमेकी मुलुकहरुसँग स्वास्थ्य सामग्रीहरु यो यो चाहियो भनेको पनि हो तर दुइटै छिमेकी मुलुकहरु आफैं समस्यमा भएकाले जीटुजीमा खरिद गर्न नसकेर निजी क्षेत्रलाई आह्वान गर्नुपरेको हो’ मन्त्री खतिवडाले भने,‘यदि सरकारी तबरबाटै खरिद गर्दा राम्रो हुन्छ भने अब त्यो पनि गर्ने भनेर छलफल भएको छ ।’


सरकारले यसअघिको ठेक्का सम्झौता रद्द गरेपछि जीटुजी मोडलबाट नेपाली सेनालाई सामान खरिदको जिम्मा दिन लागेको छ । मन्त्री खतिवडाले स्वास्थ्य  सामग्री खरिदको अनियमिताबारे ‘कसैले भनेको कुराले ले मात्र प्रभावित’ नहुन आग्रह गरे  । ‘यो सम्बन्धमा छलफल अनुसन्धान त हुन्छ नै । त्यो भन्दा महत्वपूर्ण कुरा त सामग्री आयो मान्छे को जीवन रक्षाको काम भयो ।’

कान्तिपुर

Link copied successfully