भारतबाट आएका १५८ नेपालीको खेतमा बास

अलपत्र नागरिकको उद्धारमा संघीय र प्रदेश सरकारको निर्णय बाझिँदा उनीहरु दुई दिनदेखि खुला आकाशमुनि खेतमा रात काट्न बाध्य छन् ।
रूपा गहतराज

नेपालगन्ज — संघीय र प्रदेश सरकारको निर्णय बाझिँदा भारतबाट नेपाली भूमिमा आइसकेका एक सय ५८ जना नेपाली खेतमा अलपत्र परेका छन् । सीमा क्षेत्रमा आइपुगेका नागरिकको उद्धार र व्यवस्थापनमा दुई सरकारको निर्णय फरक–फरक हुँदा जमुनाह नाकादेखि पश्चिमतर्फको खेतमा उनीहरु दुई दिनदेखि अलपत्र परेका नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताइन् ।

मगरका अनुसार हालसम्म उनीहरुलाई न त क्वारेन्टाइनमा लगिएको छ, न त घर फर्कन नै दिइएको छ । बस्न र सुत्नका लागि पनि व्यवस्था गरिएको छैन । समयमै उद्धार नहुँदा जमुनाहमा अलपत्र नेपालीहरु खेतको चिसोका कारण बिरामी पर्न थालेका छन् ।


भारतको रुपैडियामा रोकिएका उनीहरुलाई सोमबार राति एसएसबीले नाका पार गराइदिएको थियो ।


प्रदेश सरकारले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको छ भने संघीय सरकारको निर्देशन भन्दै स्थानीय प्रशासन भने उनीहरुको उद्धार गर्न हच्किएको छ । दुई सरकारको समन्वय नहुँदा नेपाल प्रवेश गरिसकेकाहरु पनि आफ्नै भूमिमा बेसहारा भएको मगरको भनाइ छ ।


छिमेकी जिल्ला बर्दिया जमुनीका दिपक बुढाले आँपको रुखमुनि बसिरहेको बताए । ‘चिसो र लामखुट्टेका कारण खेतमा सुत्नै नसकिने अवस्था छ,’ उनले भने, ‘बिरामी नभएकालाई पनि रुखाखोकी र ज्वरोले समातेको छ ।’


गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य अनुमति लिनुपर्ने उर्दी जारी गरेपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका उनीहरु यहीँ रोकिएका हुन् ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई यहीँ क्वारेन्टाइनमा राख्ने कि सम्बन्धित जिल्लामा पठाएर क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा छलफलपछि निर्णय लिने बताए ।

प्रकाशित : चैत्र १९, २०७६ २२:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङ् लागेर एकको मृत्यु, ३ घाइते

कान्तिपुर संवाददाता

धादिङ — धादिङको खनियाबास २ गोर्गाङमा बुधबार दिउसो परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।

घरको आागनमा कुखुराको खोर बनाउदै गरेका ४० वर्षीय रामसिंह तामाङको चट्याङ् पर्दा घटनास्थलमै मृत्यू भएको धादिङ प्रहरीले जनाएकोछ ।

त्यस्तै झार्लाङको अन्य २ स्थानमा चट्याङ् लागेर थप ३ जना पनि घाइते भएका छन् । र्झालाङको थलि टोलका मनमाया तामाङ, पार्वती तामाङ र र्झालाङ क्यूका आशामाया तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।

थलिमा परेको चट्याङ्ले फुलबहादुर तामाङ र कान्छा तामाङको घरमा क्षति भएको प्रहरीले बताएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ २२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×