जसले देश धानेको छ उही देश आउन नपाउने !- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले देश धानेको छ उही देश आउन नपाउने !

मोहन मैनाली

काठमाडौँ — एक महिना पहिले सुर्खेतमा आयोजित कर्णाली महोत्सवमा भएका छलफलमध्ये एउटाको शीर्षक थियोः कालापहाडका तोडा । कालापहाड भन्नाले भारत र तोडा भनेको रुपियाँ पैसा राख्ने थैली । त्यस छलफलमा कालापहाडमा काम गरेर नेपालीले ल्याउने रुपियाँ पैसा कति महत्त्वपूर्ण छ भन्ने झल्काएको थियो ।

कार्यक्रमका वक्तामध्येका एक सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीका अनुसार सिम्ता गाउँपालिकाको वार्षिक आय रु. १ अर्ब ५१ करोड छ । यसमध्ये आधाभन्दा बढी अर्थात् रु. ७६ करोड ३६ लाख विदेशमा काम गर्नेहरूले ल्याउँछन् । 'कृषिप्रधान' देशको एउटा 'कृषिप्रधान' गाउँपालिकामा कृषिबाट हुने आम्दानीभन्दा विदेशमा मजदूरी गर्दा हुने आम्दानी बढी छ ।


सिम्ताका धेरै मानिस कामका लागि विदेश जान्छन् । तीमध्ये ८० प्रतिशत कालापहाड अर्थात् भारत जान्छन् ।


सिम्ताका झण्डै ४० प्रतिशत मानिस गरीब छन् । केसीले भने,'यहाँका मानिस काम गर्न विदेश नजाने हो भने गरिबीको यो मात्रा बढेर ५१ प्रतिशत पुग्छ ।' अर्थात् कालापहाड समेतबाट ल्याएको तोडाले यहाँका ११ प्रतिशत मानिसको गरिबी निवारण भएको छ ।


समग्र कर्णाली प्रदेशका लागि कालापहाड गएर काम गर्ने नेपालीको योगदान अझ धेरै छ । 'कुनै कारणले कालापहाड जान नपर्ने (नपाइने) बाध्यता भयो भने यहाँको (कर्णाली प्रदेशको) गरिबी ८० प्रतिशतभन्दा माथि जान्छ,' केसीले भने ।


कर्णाली विकास आयोगका अनुसार, अहिले ४० प्रतिशत कर्णालीबासी गरीब छन् ।

कर्णालीभन्दा अलिकति पूर्व र पश्चिमको अर्थतन्त्रमा पनि कालापहाड गएर काम गर्ने नेपालीको योगदान यस्तै होला भन्न सकिन्छ ।


अहिले कोराना आतंक छाएका बेला नेपाली अर्थतन्त्रका यति मजबूत खम्बालाई नेपाल पस्न अनेक रोक लगाइएको छ । कोरोनाले गर्दा आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने भएपछि, काम नपाएर विचल्ली भएपछि घर फर्कन खोज्दा घरको ढोकामा घरमूलीले आउन पाउँदैनस् भनिरहेको छ ।


उनीहरूलाई यसरी स्वदेश पस्न नदिने निर्णय र त्यसको प्रभावका बारेमा कान्तिपुर संवाददाताहरूले भेला गरेर प्रकाशित गरेका विवरण यस प्रकार छन्ः


चैत ९ गते

सरकारले चीन र भारतसँगको सीमाना एक हप्ताका लागि बन्द गर्ने निर्णय गर्यो ।


चैत १० गते

काकडभिटा नाका बन्द हुनुअघि ३१५ जना नेपाली नेपाल पसे ।


चैत १० गते

नाका बन्द भएपछि तीन सय जना जति नेपालीहरू मेची पुलमा रोकिए । आफ्नो देश जान पाउनु पर्ने माग राखेर उनीहरूले नारा लगाए । उनीहरूमध्ये प्रायःसबै जना घर फर्कनुअघि भारतका विभिन्न ठाउँमा काम गर्थे ।


चैत १० र ११

बाँकेको जमुनाह नाकामा पनि नेपालीहरू घर फर्कन नपाएर अलपत्र परे । जमुनाह, कैलालीको गौरीफन्टालगायतका नाकामा पनि नेपालीलाई घर आउन नदिएपछि तनाव उत्पन्न भयो ।


चैत ११

नाकामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल पस्न दिने निर्णय सरकारले गर्यो ।


चैत १६

सीमा बन्द भएयता विभिन्न नाका हुँदै भारतबाट प्रदेश ५ मात्र मात्रै दुई लाख नेपाली भित्रिए ।


चैत १७

भारत सरकारले भारत बन्द गरेपछि घर फर्कने क्रममा भारतका विभिन्न भागमा आइपुगेका नेपाली अलपत्र परे । त्यहाँका नेपाली र प्रवासी नेपालीको सहयोगमा उनीहरू देशको सिमानामा आइपुगे । अनेक हण्डर खाएर सिमानामा आइपुगेका आफ्ना नागरिकलाई सरकारले देश पस्न दिएन । सिमानामा अलपत्र छोडिदियो ।


चैत १७

सरकारले नेपालका विभिन्न भागमा अलपत्र परेका एक हजार २५५ जना विदेशी नागरिकलाई गाडी र हवाइ यातायातका साधनमा काठमाडौँ ल्यायो । नेपाल बन्द गर्ने जुन निर्णयको निहुँमा सरकारले आफ्ना नागरिकलाई स्वदेश पस्न दिएन त्यही निर्णयले विदेशी नागरिकलाई उद्धार गर्न प्रोत्साहन दियो !


चैत १८

धार्चुला र सुनौली नाकामा धेरै नेपाली अलपत्र परिरहे। उनीहरूले घर फर्कन पाउनु पर्ने माग गरिरहे।


यसैबीच कान्तिपुरको एउटा समाचारले भनेको छ, नेपालमा अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई अष्ट्रेलिया लैजान काठमाडौँमा रहेको अष्ट्रेलियाली दूताबासले नेपाल वायुसेवा निगमको जहाज भाडामा लिएको छ । उनीहरूलाई अष्ट्रेलिया पुर्याएर क्वारेन्टाइनमा राखिने जनाइएको छ ।


नेपालले अलि अस्ति आफ्नै विमान पठाएर चीनको वुहानबाट नेपालीलाई उद्धार गरेको थियो । अहिले अनेक हण्डर खाएर ढोकामा आइपुगेका नागरिकलाई भित्र पस्न नदिन डण्डा देखाउँदैछ ।

प्रकाशित : चैत्र १८, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्केकाको स्वास्थ्य सामान्य

प्रशान्त माली

ललितपुर — गोदावरी र महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्केर सम्पर्कमा आएका कोहीमा पनि कोभिड–१९ संक्रमण नदेखिएको नगर प्रमुखहरूले बताएका छन् । 

गोदावरीमा विदेशबाट आएका ५४ जना नगरपालिकाको सम्पर्कमा छन् । तीमध्ये ३५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको गोदावरीका प्रमुख गजेन्द्र महर्जनले बताए । ‘अरू १९ जना होम क्वारेन्टाइनमा छन्,’ उनले भने । गोदावरीमा चैत १ गतेयता विदेशबाट आउनेलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

नगर प्रमुख महर्जनका अनुसार कोभिड–१९ को आशंकामा बज्रबाराही चापागाउँ नगर अस्पतालको आइसोलेसन वार्डमा राखिएकी १८ वर्षीया किशोरीमा पनि संक्रमण नभएको पुष्टि भएको छ । ती किशोरी बोस्नियाबाट चैत २ गते आएकी हुन् ।

महालक्ष्मीमा विदेशबाट आएका ४१ जना नगरको सम्पर्कका छन् । स्थानीय स्वास्थ्यकर्मी र अस्पतालमा जाँच गराउँदा उनीहरू सबैमा स्वास्थ्य सामान्य पाइएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘चिकित्सकले उनीहरूलाई होम क्वारेन्टाइनमा राखे पुग्ने सल्लाह दिएअनुसार व्यवस्था मिलाएका छौं,’ उनले भने ।

गोदावरीले गोदावरी भिलेज रिसोर्टसँगको समन्वयमा ४० शय्याको क्वारेन्टाइन र चापागाउँस्थित बज्रबाराही चापागाउँ नगर अस्पतलामा १० शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । महालक्ष्मीले किस्ट अस्पतालसँगको सहकार्यमा ६० शय्याको आइसोलेसन र २२ शय्याको आईसीयू वार्ड तयार पारेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×