महाकाली नदीमा पौडेर नेपाल आएका तीन जना प्रहरीको नियन्त्रणमा

चैत्र १७, २०७६

मनोज बडू

दार्चुला — चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये तीन नेपाली महाकाली नदीमा पौडेर स्वदेश आएका छन् ।

महाकाली नगरपालालिका ४ पुलघाट बजार नजिकैबाट उनीहरू सोमबार दिउँसो नेपाल प्रवेश गरेका हुन् । पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

पौडेर नेपाल प्रवेश गर्नेमा बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री, दार्चुलाको मार्मा गाउँपालिकाका रमेश विष्ट र शैल्यशिखर नगरपालिकाका धनबहादुर स्वदेश प्रवेश गरेको प्रहरीले जनाएको छ । उनीहरू भारतको विभिन्न ठाउँमा मजदुरी गरी घर फर्किँदा नेपालमा लकडाउन भएको थियो भने सीमा पुल बन्द गरिएको थियो । उनीहरुसँगै सयौं नेपाली अझै सीमा अलपत्र छन् । 

पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए । आफूहरूको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उनीहरूको भनाइ छ ।

तीन जना महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरेपछि अहिले सदरमुकामस्थित महाकाली नदी किनार आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गरिरहेको छ ।

सम्बन्धित समाचारः

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully