२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोभिड–१९ संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी, चारै जनाको अवस्था ‘सामान्य’

अतुल मिश्र

काठमाडौँ — हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका पाँचै जना बिरामीमा मुख्य लक्षण सुक्खाखोकी देखिएको छ । यसपछि कसैलाई ज्वरो र अलिअलि श्वासप्रश्वासमा समस्या देखिएको थियो । हालसम्म उनीहरूलाई निमोनिया देखिएको छैन ।

कोभिड–१९ संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी, चारै जनाको अवस्था ‘सामान्य’

चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा माघ ९ गते परीक्षणपछि पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि एक सातायता चार जना संक्रमित फेला परेका हुन् ।


‘पाँचै जना संक्रमितको मुख्य लक्षण सुक्खा खोकी हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘त्यसपछि कसैलाई ज्वरोसमेत देखियो भने कसैलाई साँझपख श्वासप्रश्वासमा समस्या देखिएको छ । स्वास्थ्य स्थिति भने सबैको सामान्य छ ।’


पाँचै जना १९ देखि ३४ वर्ष उमेर समूहका युवा हुन् । र, सबै विदेशबाट फर्किएका हुन् । यसअघि बेलायतमा दुई नेपालीको कोभिड–१९ ले मृत्यु भएकोमा एक जना ६६ वर्षका भुपू गोर्खा सैनिक थिए, अर्का ४० वर्षका व्यक्तिलाई उच्च रक्तचापको समस्या थियो ।


‘अझैसम्म नेपालमा संक्रमण भेटिएकामध्ये कसैलाई पनि निमोनिया देखिएको छैन,’ डा.पाण्डेले भने, ‘संक्रमणपछिको मुख्य स्वास्थ्य जटिलता निमोनिया हुने गरेकाले हरेक प्रभावितको फोक्सोको जाँचमा विशेष ध्यान दिइएको छ ।’


‘अझै तीन जना हामी कहाँ छन्, क्लिनिकल्ली उनीहरू राम्रो अवस्थामा छन्, कसैलाई ज्वरो आउने, कसैलाई नआउने तर सबै सुक्खा खोकीले सताइएका हुन्,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका कोरोना संक्रमित बिरामीको उपचार मा संलग्न एक चिकित्सकले भने, ‘साँझपख श्वासप्रश्वासमा समस्या छ तर स्थिति राम्रो छ ।’


बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत दुबईबाट फर्किएका एक ३४ वर्षीय पुरुषको आइतबार दिउँसो १२ बजे मृत्यु भएपछि चिकित्सकहरू थप चनाखो बनेका छन् । ज्वरो र खोकी सुरु भएपछि घरबाट आएर अस्पताल भर्ना भएका ती व्यक्तिको घाँटीको र्‍यालको नमूना आइतबारै काठमाडौं ल्याइसकिएको छ ।


‘हामी ती व्यक्तिलाई भएका अन्य जटिल रोगबारे हिस्ट्री पनि संकलन गरिरहेका छौं’, डा.पाण्डेले भने, ‘र्‍यालको नमुनाको प्रयोगशाला परीक्षण परिणाम आएपछि कोभिड–१९ संक्रमण भए/नभएकोबारे थप स्पष्ट हुन सक्छ ।’


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को मुख्य लक्षण ज्वरो, थकाइ र सुक्खा खोकी रहेको जनाएको छ । यसका करिब ८० प्रतिशत बिरामी कुनै विशेष उपचारबिना आफैं निको हुन्छन् । संक्रमण भएका ६ जनामध्ये एक जना गम्भीर रुपमा बिरामी पर्छन् । उनीहरुलाई श्वासप्रश्वासमा समस्या हुन्छ ।


डव्लुएचओका अनुसार बुढापाका, उच्च रक्तचाप, मुटुको समस्या, मधुमेहलगायतका चिकित्सकीय समस्या भएकालाई कोभिड–१९ संक्रमणपछि गम्भीर रुपमा बिरामी हुने बढी सम्भावना हुन्छ । ज्वरो भएका, खोकी र सास फेर्न समस्या भएकाहरूलाई चिकित्सकीय स्याहार आवश्यक हुन्छ ।

प्रकाशित : चैत्र १६, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?