स्वास्थ्य सामग्री सहयोग गरेकोमा चीनलाई सरकारको धन्यवाद 

चैत्र १६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई गरेको सहयोगलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीन सरकारलाई आइतबार धन्यवाद दिएका छन् । 

नेपालका लागि चीनकी राजदूत होउ यान्छीको उपस्थितिमा पत्रकार सम्मेलन गरेका मन्त्री ढकालले चीनले गरेको सहयोगलाई लिएर खुलेर प्रशंसा गरे । 

होउले पनि नेपाललाई चीन सरकारले सक्दो सहयोग गर्ने बताइन् । उनले नेपाल चीनको असल मित्र भएको र नेपाललाई आवश्यक पर्दा चीनले जहिले पनि सहयोग गर्न तयार रहेको बताइन् । 

आइतबार बिहान चीनबाट आइपुगेको स्वास्थ्य सामग्रीहरु नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चीन सीएएमसी इन्जिनियरिङ र सिचुवान हुअसी ग्रुपले सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्यमन्त्री ढकालले चीनबाट आएका स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार आइतबारबाटै सम्पूर्ण प्रदेशहरुमा वितरण कार्य सुरु भइरहेको जानकारी दिए । 



तस्बिर : दीपक केसी/कान्तिपुर

सिचुवान प्रान्तीय सरकार नेपालस्थिति चिनियाँ दूतावासले २ हजार थान एन ९५ मास्क, २४ हजार थान डिस्पोजेबल सर्जिकल मास्क, २० हजार थान डिस्पोजबल मास्क, सुरक्षित चश्मा ५ सय थान, इन्फ्रारेड थर्मोमिटर एक सय थान, इयर थर्मोमिटर एक सय थान, सुरक्षित पोसाक ५ सय ३० थान सहयोग गरेको छ । त्यसमध्ये सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुपले ३ हजार थान डिस्पोजेबल सर्जिकल मास्क प्रदेश ५ लाई सहयोग गरेको हो ।

त्यस्तै ३० थान सुरक्षित पोसक पनि सिचुवानको प्रान्तीय सरकारले प्रदेश ५ लाई उपलब्ध गराएको हो । 

त्यस्तै अलिबाबा र ज्याक मा फाउन्डेसनले एक लाख २ सय थान एन ९५ मास्क सहयोग गरेको छ । त्यस्तै विभिन्‍न कम्पनी र संस्थाले पनि विभिन्‍न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 

नेपाललाई प्राप्त विभिन्‍न सामग्रीहरु


कान्तिपुर

Link copied successfully