बंगलादेशमा रहेका ७ सय ६७ नेपाली दूतावासको सम्पर्कमा 

चैत्र १५, २०७६

अतुल मिश्र

काठमाडौँ — ब‌ंगलादेशमा रहेका ७ सय ६७ नेपाली नागरिक हालसम्म दूतावासको सम्पर्कमा आएका छन्। 

उनीहरूले शुक्रबार रातिसम्ममा बंगलादेशको विभिन्न स्थानवाट अनलाइन इमरजेन्सी रजिस्ट्रेसनमार्फत् नेपाली दूतावासमा आफ्नो सम्पर्क ठेगानालगायतका जानकारी दर्ता गराएका हुन् । हाल बंगलादेश सरकारले  २६ मार्चदेखि ४ अप्रिलसम्मको लागि लक- डाउन गरेको छ । 

राजदूत डा. वंशीधर मिश्रले बंगलादेशमा रहेका नेपालीहरूलाई लकडाउनसम्बन्धी सम्पूर्ण नियम एवं निर्देशको पूर्णपालना गर्न अपिल गरेका छन्।

'ब‌ंगलादेशबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्केको जानकारी प्राप्त भएको छ,'  राजदूत मिश्रले गत सातासम्म धेरै कलेजमा अध्ययन गरिरहेकाहरुको अनुरोधमा नेपाली विद्यार्थीहरुलाई नेपाल फर्कन कलेज, विश्वविद्यालयसँग सम्पर्क र अनुरोध गरी सहजीकरण गरिएको बताए । 

नेपाल सरकारको पछिल्लो निर्णयअनुसार विदेशमा रहेका सबै नेपालीलाई हाल आफू रहेकै स्थानमा सुरक्षित बस्न निर्देश गरेकाले तुरन्त नेपाल फर्काउने कुनै योजना नभएको समेत मिश्रले जनाए।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully