पीपीई जाँच गरी स्वीकृति प्रदान गरेको छैन : मेडिकल काउन्सिल 

चैत्र १४, २०७६

अतुल मिश्र

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले मुलुकमा निर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को जाँच पडताल गरी उपयोग गर्न स्वीकृति नदिएको प्रस्ट पारेको छ । 

जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण, सुरक्षा सामग्री, उपचार पद्धतिलगायत विषयमा काउन्सिल सम्बेदनशील रहेको औंल्याउँदै काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विज्ञप्तिमार्फत यो विषय काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । 'चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा बिरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झैं नियमित छ', विज्ञप्तिमा उल्लेख छ ।  


स्थानीय स्रोत साधन उपयोग गरी बनाइएका पीपीईको उपयोग सराहनीय भए पनि उत्पादित वस्तुको गुणस्तर हेर्न तोकिएको निकायले टुंगो लगाउने व्यवस्था भएको समेत काउन्सिलले बताएको छ । गुणस्तर तथा नापतौल विभागले आगामी आइतबार सरोकारवाला संघसंस्था र विज्ञहरु सम्मिलित बैठक बोलाउने र व्यक्तिगत सुरक्षा सामग्रीको गुणस्तर निर्धारणका विषयमा निर्णय लिने जानकारी काउन्सिललाई प्राप्त भएको समेत डा अधिकारीले बताएका छ्न् ।


अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully