'तपाईंका नागरिक हाम्रो देशमा सुरक्षित छन्, हाम्रा नागरिकलाई पनि ध्यान दिनुहोला'

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगहरु मार्फत् नेपाली नागरिकहरु रहेका सम्बन्धित मुलुकहरुलाई उनीहरुको आवश्यक सुरक्षा गर्न आग्रह गरेको छ ।

नेपालमा आउने अन्तर्राष्ट्रिय नाकाहरु लकडाउनका कारण दुई दिनदेखि बन्द भएपछि मन्त्रालयले विदेशमा रहेका आफ्ना ३० राजदूतावास र तीन स्थायी नियोगमार्फत् उक्त सन्देश सम्बन्धित मुलुकलाई पठाएको हो ।


साथमा मन्त्रालयले नेपालमा रहेका सम्बन्धित मुलुकहरुका नागरिकहरुलाई पनि नेपाल सरकारले सुरक्षित रुपमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘तपाईका नागरिक हाम्रोमा सुरक्षित छन्, हाम्रो नागरिकलाई पनि सुरक्षित साथ राखिदिन हुन अनुरोध गर्दछौं,’ मन्त्रालयले आफ्ना नियोगमार्फ पठाएको सन्देशमा उल्लेख छ ।


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित नेपाली नियोगहरुका राजदूत तथा नियोग प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा पनि विदेशमा रहेका नेपालीहरुलाई त्यहाँको सरकारले गरिरहेको सुरक्षाको बारेमा जानकारी दिएका थिए ।


मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा हुँदा नेपालीहरुलाई भिसाको समस्या पर्ने भएकोले त्यस्ता विषयमा सम्बन्धित सरकारसँग कुरा गरेर हालका लागि एक पटक भएपनि समस्याको समाधान गर्न राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिएका थिए ।


चैत ११ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको बेलामा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुमा सुरक्षित राख्न परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न आग्रह गरेको थियो ।


साथै विदेशी मुलुक र त्यहाँ रहेका नेपालीहरुलाई नेपालमा भइरहेका गतिविधिको बारेमा जानकारी दिन कूटनीतिक नियोगमार्फत् भनिएको थियो । समितिले यस संकटको घडीमा नेपालमा रहेका विदेशी नागरिकहरुलाई पनि पूर्ण रुपमा संरक्षण गर्ने जनाएको थियो ।


सरकारले चैत ११ देखि कम्तिमा पनि १४ दिन आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरुसहित उडान पनि बन्द गरेको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १२:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना संक्रमणबाट हंगेरीमा बेलायती कूटनीतिज्ञको मृत्यु

एजेन्सी

लन्डन — कोराना भाइरस(कोभिड–१९) को संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ । बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन  डिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।

दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ ।

बेलायती विदेश सचिव डोमिनिक राबले स्टिभनको मृत्युले आफू निकै दुःखी भएको बताएका छन् । ‘स्टिभनको निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु । यो दुःखद घडीमा म उनका बुवा स्टिभन र आमा क्यारोललाई समवेदना प्रकट गर्न चाहन्छु,’ राबले भने । स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड-१९ को संक्रमण देखिएको थियो ।

सन् २००८ मा बेलायती विदेश सेवामा आबद्ध भएका स्टिभनले साउदी अरब र अफगानिस्तानमा रहेका बेलायती दूतावासमा पनि काम गरेका थिए । हंगेरीमा उनी बेलायती राजदूत आयन लिन्ड्सेको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बेलायतका अहिलेसम्म कोरोना भाइरसबाट ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै हंगेरीमा २६१ जना संक्रमित हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १२:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×