२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

साइप्रस र जापानमा रहेका नेपालीमा विद्यार्थीलाई भिसाको समस्या

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसको महामारीका कारण असहज अवस्था भइरहेको बेला साइप्रस र जापानमा रहेका नेपालीहरुलाई भिसाको समस्या परेको छ । निश्चित समयका लागि पढ्न वा अन्य काममा गएका नेपालीहरु भिसाको म्याद सकिएपछि समस्यामा परेका हुन् ।

साइप्रस र जापानमा रहेका नेपालीमा विद्यार्थीलाई भिसाको समस्या

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बुधबार जापान, दक्षिण कोरिया, मलेसिया, दक्षिण अफ्रिका, इजरायल र साइप्रसका राजदूत र नियोग प्रमुखहरुसँग ती मुलुकमा कोरोना भाइरसको संक्रमण, नेपालीको अवस्था, कोरोना संक्रमणले अर्थ व्यवस्थामा पार्न सक्ने असर तथा सोबाट नेपालीहरुको रोजगारीमा पर्ने सम्भावित प्रभावलगायतका विषयमा भिडियो कन्फरेन्समार्फत् छलफल गरेका थिए ।


भिडियो कन्फरेन्समा साईप्रस समेत हेर्ने इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले साइप्रसमा पढ्न गएका विद्यार्थीहरुको भिसा सकिएर समस्यामा परेको बताएकी थिइन् । जापानको लागि नेपाली राजदूत प्रतिभा राणाको अनुपस्थितीमा मिसन सम्हालिरहेका डिपुटी चिफ अफ द मिसन कृष्णचन्द्र अर्यालले जापनमा रहेका विद्यार्थी र अन्य व्यक्तिहरुमा भिसा सकिएको कारण समस्या परेको बताएका थिए । राजदूत राणा भने यो संकटको घडीमा स्वास्थ्य उपचारको कारण देखाउँदै नेपालमै बसिरहेकी छन् ।


जापान र साइप्रसको घटना सुनिसकेपछि परराष्ट्र ज्ञवाली र श्रम मन्त्री यादवले आफ्ना मिसनहरुलाई सम्बन्धित मुलुकसग वार्ता गरी नेपालीहरुको समस्याको समाधान गर्न निर्देशन दिएको श्रम सचिव विनोद केसीले कान्तिपुरलाई जानकारी दिए । भिडियो कन्फरेन्समा मलेसियाका राजदूत उदय राज पाण्डे, दक्षिण कोरियाका कार्यवहाक राजदूत रामसिंह थापा र दक्षिण अफ्रिकाका कार्यवहाक राजदूत घनश्याम लम्सालले पनि ती मुलुकहरुमा नेपालीहरुको अवस्था बारेमा जानकारी गराएका थिए ।


छलफलमा नेपालका राजदूत र मिसनहरुले आफूहरु रहेको मुलुकमा नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक पर्दा उनीहरुलाई सहयोग गर्न तयारी अवस्थामा रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । परराष्ट्र मन्त्रालयमा प्रवक्ता भरतराज पौड्यालका अनुसार मन्त्रालयले सम्पूर्ण मुलुकहरुमा नेपालीहरुको अवस्था, उनीहरुको सुरक्षा र हेरचाहमा ध्यान दिन निर्देशन दिइसकेको बताए ।


“हामीले दिएको निर्देशन अनुसार के कता कामहरु भइरहेको छन् । प्रगति कस्तो छ । कुन देशमा कसको अवस्था कस्तो छ, आदि बारेमा जानकारी दिइरहेका छौं,” उनले भने । उनले कुनै मुलुकमा कोरोना भाइरस नियन्त्रणमा राम्रो काम भएको छ भने त्यस पद्धतीलाई बुझ्‍न र नेपालमा पनि त्यस विषयमा सूचना दिन राजदूत र नियोग प्रमुखहरुलाई बताइएको पनि बताए । “हालसम्म सम्बन्धित मुलुकहरुले गरेका कामका बारेमा पनि हामीले जानकारी दिएका छौं,”उनले भने ।


परराष्ट्रमन्त्रीले नेपाल सरकारले संक्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा जानकारी दिएका थिए । नियोग प्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसाग निकट सम्पर्कमा रही आवश्यक कार्य गर्ने, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्ने बारेमा सुसूचित गराउने निर्देशन दिएका थिए ।


साथै उनले नेपाली समुदाय र दूतावास परिवार समेत संक्रमणका बारेमा जागरुक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन पनिदिए । श्रम मन्त्री यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठेरो परिस्थितीमा विदेशमा रहेका नेपालीहरुको ठूलो भरोसा राखेका हुँदा स्थानीय सरकार एवं रोजगारदातासग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह गरेका थिए ।


मन्त्रालयले यस अघि चैत १० मा मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरूसग कोरोना भाइरसको संक्रमणको स्थिति बारे भिडियो कन्फरेन्समार्फत छलफल गरेको थियो ।


छलफलमा परराष्ट्र सचिव शंकरदास बैगारी र श्रम सचिव विनोद केसीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित : चैत्र १२, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?