१२५ यात्रीको पहिचानपछि निगरानी

फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली भेटिएपछि प्रहरीले आफ्ना युनिटलाई निगरानीको निर्देशन दिएको छ । अर्कै विमानको फोटो समाजिक सजालमा भाइरल भएपछि अरू यात्रु प्रस्टीकरण दिँदै हैरान छन् । संक्रमित हुन सक्ने शंका गरिएकाहरूको छानबिन र क्वारेन्टाइनका प्रक्रियाबारे सरकारले अझै प्रस्ट्याएको छैन ।
जनकराज सापकोटा

काठमाडौँ — कतारको दोहा हुँदै काठमाडौं आएको विमानमा यात्रारत १९ वर्षीया युवतीमा कोभिड– १९ (कोरोना) संक्रमण पुष्टि सँगै सवार अन्य यात्रुको खोजी सुरु भएको छ । उक्त विमानबाट ती युवतीसँगै नेपाल आएका एक सय २५ जनाको नाम ठेगाना प्रहरीले पत्ता लगाएको बताएको छ ।

सरकारी निकायबाट आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ भएसँगै उक्त विमानमा सँगै आउने अन्य यात्रुबारे चासो बढेको छ । उक्त विमान कति बजे अवतरण भएको थियो, त्यसको कल साइन कति थियो र कति यात्रु थिए भन्नेबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन । योसँगै सामाजिक सञ्जालमा उक्त दिन कतारबाट काठमाडौं ओर्लेका यात्री लक्षित अफबाह फैलिन सुरु भएको छ ।


संक्रमणको पुष्टि भएको जानकारी दिन स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलन करिब १ बजेतिर सकिएको थियो । फ्रान्सबाट कतार हुँदै आएकी युवतीमा संक्रमणको पुष्टि भएको बताउंदै स्वास्थ्यमन्त्रीले उक्त विमानमा आउने अन्य यात्रुको खोजी गरिने बताएका थिए । तर पत्रकार सम्मेलनमा कुन कल साइनको विमानमा कति बजे ती संक्रमित यात्रु आएकी हुन्, त्यसमा कति यात्रु थिए भन्ने बताइएको थिएन । सरकारी तवरबाट औपचारिक रूपमा जानकारी नआए पनि पत्रकार सम्मेलन सकिएको एक घण्टालगत्तै सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल हुन थालिसकेको थियो । उक्त फोटोमा कतार एअरवेजको विमान उडिरहेको देख्न सकिन्छ । जसमा लेखिएको छ, ‘क्यूआर ६५० मा चैत ४ गते जो कोही चढेर नेपाल आउनुभएको छ भने आफूलाई तुरुन्त चेकअप गराउनुहोला ।’


सामाजिक हितका निम्ति भन्दै राजनीतिक दलका नेता, उच्चपदस्थ पूर्वकर्मचारीहरू, साहित्यकार र केही सञ्चारकर्मीहरूले नै जोडतोडले सेयर गरिरहेका थिए । तर कान्तिपुरले अध्यागमन विभाग र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीसंग गरेको कुराकानीले उक्त कल साइनको विमानमा ती संक्रमित यात्रु नआएको पुिष्ट हुन्छ । उक्त विमान चैत ४ को साँझ ७ बजे विमानस्थलमा अवतरण गरेको थियो । जबकि संक्रमित यात्रु आएको विमान सोही दिन १ सय ५८ यात्रुसहित बिहान चैत ४ गते १० बजेर १२ मिनेटमा अवतरण भएको देखिन्छ ।

फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण

कतिसम्म भने सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले गलत सन्देश भएको विमानको फोटोकै आधारमा उक्त विमानमार्फत यात्रा गरेका यात्रुको नाम र ठेगाना नै सार्वजनिक गरेर ती यात्रुबाट जोगिन अपिल गरेको देखिन्छ । सोमबार नै पत्रकार कनकमणि दीक्षितले ट्विटरमा कतार एअरवेजको कल साइन क्यूआर ६५० मा यात्रा गरेर काठमाडौं आएका यात्रुहरूलाई आइसोलेसनमा बस्न अनुरोध गरे ।


पछि सोही विमानमार्फत यात्रा गरेका एक यात्रुले आफू आएको विमान संक्रमितले यात्रा गरेको विमान नभएको ट्विटरमा बताए । कोरोना संक्रमित व्यक्ति संक्रमित आएको विमान क्यूआर ६५२ रहेको बताएपछि ३ लाख २१ हजार फलोअर्स भएका दीक्षितले यही ब्योहोरा लेखेर माफी मागे । उनी मात्र होइन पूर्वसचिव भीम उपाध्यायले पनि बिनापुष्ट×्याइँको गलत सन्देश फेसबुकमार्फत सार्वजनिक गरे ।


मंगलबार ५ बजेसम्म उक्त गलत सन्देशसहितको स्टाटस ३ सय ४९ जनाले सेयर गरेको देखिन्छ । कतिसम्म भने उपाध्यायको पोस्टमा कैयनले संक्रमितको नाम सार्वजनिक गर्नुपर्ने मागसमेत राखेका छन् । रामहरि रिमाल नामका फेसबुक प्रयोगकर्ताले त झन् कोरोना लागेको मान्छेको तीनपुस्ते विवरण र तिनलाई भेटेका मान्छेको नाम सार्वजनिक गर्न माग गरेका छन् ।


सामाजिक सञ्जालबाट फैलिएको हल्लाकै कारण गलत कल साइन भएको विमानका यात्रुहरू आइसोलेसनमा बस्ने र संक्रमित यात्रु आएको विमानका यात्रुहरू बेफिक्री रहने जोखिम बढेको छ । यद्यपि मंगलबार साँझसम्म पनि अध्यागमन विभागले संक्रमित यात्रु चढेर आएको विमानबारे औपचारिक जानकारी दिएको छैन । न उक्त दिन आगमन कक्षमा कार्यरत अध्यागमन अधिकारीहरूलाई नै सचेत गराएको छ ।


कान्तिपुरसँग सम्पर्कमा आएका केही अध्यागमन अधिकारीले संक्रमित चढेर आएको विमानको कल साइन क्यूआर ६५२ र बिहानका समयमा आएको पुष्टि गरे । एक अधिकारीले भने, ‘उक्त विमानबारे नभन्नू भन्ने आदेश छ । कल साइन थाहा हुँदा व्यक्तिको पहिचान खुल्ने र समस्या आउँछ भनेर नबोल्नू भनिएको छ ।’


सामाजिक सञ्जालमार्फत फैलिएको अफबाहकै कारण कतिपयले व्यक्तिको नाम नै किटेर सामाजिक सञ्जालमा ‘ती व्यक्तिबाट सतर्क हुनुस्’ भन्नेजस्ता सन्देश पनि फैलाइएका छन् । कतिपयले भने सामाजिक सञ्जालमार्फत नै आफू उक्त विमानमा चढेर नआएको प्रस्टीकरण दिइरहेका छन् ।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले संक्रमित यात्रुसँगै यात्रारत यात्रुहरूको परिचय खोलेर सामाजिक सञ्जालमा लेख्नु गोपनीयताको हकविरुद्धको काम भएको भन्दै व्यक्तिको परिचय खोल्ने काम गर्न नमिल्ने बताए । उनले भने, ‘स्वास्थ्यसँग जोडिएको विषय भएकाले व्यक्तिको परिचय खोल्दा सामाजिक रूपमा हुने व्यवहारमा परिवर्तन आउने वा अनय घटना हुने जोखिम रहन्छ ।’


त्यसो त संक्रमणबारे सामाजिक सञ्जालमार्फत अनेकन अफबाह फैलाउने, झूटा तथ्यहरूको प्रचार गर्नेहरूमाथि पनि प्रहरीले निगरानी बढाइरहेको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको विशेष टिमले सामाजिक सञ्जालमाथि निगरानी बढाएको र अफबाह फैलाउनेको पहिचान थालिएको डीआईजी क्षत्रीले बताए । उनले भने, ‘सामाजिक सञ्जालमा के लेख्दै छु, आफूले लेखेको विवरण सत्य हो कि होइन, त्यसले अफबाह फैलाउँछ कि फैलाउँदैन भनेर व्यक्तिगत रूपमै सचेत हुन जरुरी देखिन्छ ।’


संक्रमितसँगै यात्रा गरेकाहरू खोजिँदै

सोमबार मध्याह्न स्वास्थ्य मन्त्रालयले संक्रमित युवतीको पुष्टि गरेसँगै साँझ प्रहरीले विमानस्थल अध्यागमनबाट उक्त युवती सवार विमानमा रहेका यात्रुहरूको विवरण (प्यासेन्जर म्यानिफिस्टो) झिकाएको छ । प्रहरी प्रधान कार्यालयमा एक एसपीसहित चार डीएसपीसहितको टोलीले यात्रुहरूको राहदानीका आधारमा यात्रुहरूको ठेगाना र सम्पर्क खोजी गरेको छ ।


प्रहरी प्रवक्ता डिआईजी क्षत्रीका अनुसार मंगलबार साँझसम्म क्यूआर ६५२ विमानमा यात्रा गरेर आएका एक सय २५ जनाको ठेगाना पत्ता लगाइएको छ । उनका अनुसार ठेगाना पुष्टि भएका यात्रुहरूको जिल्लास्थित प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत ती यात्रुसँग सम्पर्क कायम गरिने र उनीहरूलाई आइसोलेसनमा बस्न भनिने बताए । उनले भने, ‘आइसोलेसनमा बसे–नबसेको र उनीहरूको स्वास्थ्यमा केही समस्या देखिए–नदेखिएको रेखदेख स्थानीय प्रहरीले गर्नेछ ।’


जसको पहिचान खुलाइयो

संक्रमित युवतीसँगै विमानमा यात्रा गरेर आएकाहरूलाई सरकारी तवरमै सम्पर्क गरेर आइसोलेसनमा बस्न अनुरोध गर्ने काम नभएपछि सामाजिक सञ्जालबाटै उक्त विमानमा आएका यात्रुहरूको परिचय सार्वजनिक गर्ने काम हुन थालेको छ । जस्तो कि, पश्चिम बागलुङका एक युवा उक्त विमानको आएको भन्दै उनको नाम, ठेगाना खुलाएर सामाजिक सञ्जालमा लेखिएको स्टाटस सयौं जनामाझ सेयर भएको देखिन्छ ।


कतारबाट आएका ती युवा एक दिन काठमाडौं बसेर गत बुधबार गाउंँ पुगेका थिए । सामाजिक सञ्जालमार्फत उनको परिचय खुलेपछि स्थानीय तहका प्रमुखले ती युवालाई आइसोलेसनमा राखेर परीक्षणको प्रक्रिया सुरु गरिएको छ । सरकारी तवरबाटै संक्रमित वा उनीसँग सम्पर्कमा रहेकाहरूको पहिचान गर्ने र उनीहरूलाई सजग गराउँदै आइसोलेसनमा राख्ने काम सामाजिक सञ्जालमार्फत हुँदा ती व्यक्तिको परिवार, आफन्त र स्थानीयमाझ घृणा फैलिने जोखिम देखिन्छ ।


फेसबुकबाट फैलिएको अफवाहको असर उदयपुरको बेलका नगरपालिकामा पनि पर्‍यो । स्थानीय स्वस्तिक थापाले नगरपालिकाका एक व्यक्तिको नाम र ठेगाना नै किटेर उनी संक्रमित युवती चढेको विमान भन्दै क्यूआर ६५० बाट आएको भन्दै स्टाटस लेखे । जबकी संक्रमित युवती आएको विमान क्यूआर ६५२ थियो ।


तर असत्य सूचनाको विश्वासमा परेर उनले ती व्यक्ति आइसोलेसनमा नबसी बाहिर काम गरेको भन्दै यसबारेको सूचना आफूले प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश मुख्यमन्त्रीको स्वकीय सचिवसम्मलाई गराएको बताए । उनको स्टाटस एकैछिनमा भाइरल भयो । अर्का स्थानीय नवीन बाबुले पनि यस्तै आशयको स्टाटस लेखे । उक्त स्टाटस पनि ४२ जनाले शेयर गरे ।


प्रकाशित : चैत्र १२, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

बच्‍ने र बचाउने बेला

केकी अधिकारी

सरकारले हिजो (मंगलबार) बाट लकडाउन गर्‍यो । मचाहिँ चार दिनदेखि सेल्फ–क्वारेन्टाइनमा छु । ‘परदेशी २’ को सुटिङमा पोखरा थिएँ, कोरोना भाइरसको त्रास फैलिएपछि सुटिङ रोक्यौं ।




सेल्फ क्वारेन्टाइन सुरु गर्दाचाहिँ हरेक दिन के गर्ने र कस्तो योजना बनाऊँजस्तो लागेको थियो, तर रुटिनले दिक्क लाग्ला भनेर योजना बनाइनँ । बिहान उठेपछि जे मन लाग्यो, त्यही गर्छु । लगातारको सुटिङ र अरू कार्यक्रमले लखतरान भइसकेको थिएँ, घरमा राम्रोसँग नबसेको महिनौं भइसकेको थियो । त्यसैले कोरोना भाइरसका कारण बाध्यतामा घर बस्नुपरेको यो समयलाई अवसरमा बदल्ने प्रयास गरेकी छु । कोरोनाबाट बच्न सुरक्षा विधि अपनाउनुबाहेक यसबारे अरू चिन्ता लिएकी छैन । अरूसँग दूरीमा बस्नु नै पर्याप्त रहेछ ।

बुबा (निर्देशक बद्री अधिकारी) ले लगातार ९–१० वर्षदेखि बिहान योगा गर्नुहुन्छ । मलाई पनि गर्न मन लाग्थ्यो तर सुटिङले प्रायः घरबाहिरै हुने भएकाले अवसर जुरेको थिएन । अहिले बुबासँग बिहान एक घण्टा योगा गर्छु । मलाई माइग्रेनले सताउने भएकाले योगा आवश्यक छ । बुबा र मसँग भाइले पनि योगा सुरु गरेको छ । परिवारको साथ समय बिताउनुको आत्मिक आनन्द अनुभूति भइरहेको छ । सधैको हतारले परिवारमा खुलेर एकअर्कासँग कुरा गर्न नपाएको धेरै भएको थियो । अहिले मन हल्का भएको छ ।

व्यस्तताले धेरै समयदेखि फिल्म हेर्न पाइरहेकी थिइनँ । मेरो बानी के छ भने स्तरीय सिनेमा हतारमा होइन, समय लिएर हेर्छु । ताकि हेर्नुअगाडि त्यो फिल्मबारे अध्ययन गर्ने अनि हेरिसकेपछि मन्थन गर्ने मौका मिलोस् । यो तरिका अपनाउँदा फिल्मबाट धेरै सिकिन्छ । पछि आफूले फिल्म खेल्दा, बनाउँदा त्यो सिकाइ उपयोगी हुन्छ भन्ने लोभ पनि होला । यो बसाइमा लियोनाद्रो डिकाप्रियोको ‘द ग्रेट ग्ट्यासबाई’ र वेन अफ्लेकको ‘ही इन नट् द्याट इन्टु यु’ हेरें । रोचक लाग्यो । ‘सी’ नामक सिरिज पनि सकाएँ । अहिले मेरो ध्यान धेरैभन्दा धेरै राम्रा फिल्म हेरौं भन्नेमा छ ।

कोस्तानतिन स्थानिसलास्कीको ‘एन एक्टर प्रिपियर्स’ कलाकारले पढ्नैपर्ने पुस्तक मानिन्छ । मैले किनेर राखे पनि पढ्ने समय पाएको थिइनँ । अहिले सुरु गरिसकेँ । जति सुनेको थिएँ, त्योभन्दा ज्यादा उपयोगी लाग्दै छ । समय प्रशस्त भएकाले एकाग्र भएर पढिरहेको छु । कति बेला कसले फोन गर्ला र बाहिर निस्कनुपर्ला भन्ने तनाव नहुँदा दिमाग शान्त हुँदोरहेछ । गीत सुन्दा, सिनेमा हेर्दा, पढ्दा वा अरू जे काम गरे पनि मज्जा हुने ।

सुरुको एक–दुई दिनसम्म कोरोनाको समाचारहरू खोजी–खोजी पढ्थे । जानकारीका लागि पढे पनि त्यसले दिमागमा नकारात्मक असर पर्दो रहेछ । डर पनि लाग्ने । जबकि सुरक्षा विधि अपनाएपछि र लक्षणबारे थाहा पाएपछि तनाव लिनु नपर्ने रहेछ । घरमा बस्नु नै सबैभन्दा सुरक्षित हो भनेपछि घरमै किन डराउने ? त्यसैले आजकल ठिक्क मात्र अपडेट हुन्छु । त्यो पनि आधिकारिक र विश्वसनीय मिडिया मात्र ।

फेसबुकमा ‘फ्रेस’ हुने पोस्ट गर्छु । आफू पनि त्यस्तै कन्टेन्टमा रमाउँछु । अब फेसबुक लाइभमा आएर किताब र सिनेमाबारे छलफल गर्ने, दिनभर के–के गरियो भनेर साथीहरूसँग सेयर गर्ने, सकारात्मक भाइब्स दिने कुराहरू गर्ने योजनामा छु । कोरोनाको तनाव लिएर बस्नुभन्दा एकअर्कासँग सम्बन्ध र सम्पर्क बढाउनु उपयुक्त हुन्छ । यसो गर्दा हामीभित्रको त्रास पनि हराउँछ ।

सिर्जनशील मान्छेका लागि त यो विशेष समय हो । माहोल शान्त छ । कतै जान हतार छैन । लेख्ने, पढ्ने, चित्र कोर्ने, संगीत सिर्जना गर्ने, क्या दामी मौका ! म आफैं पनि केही लेख्दै छु । तरकारी काटकुट गर्न, खाना पस्कन, भाँडा माझ्न रमाइलो लाग्छ, आउँछ पनि । तर, खाना पकाउन आउँदैन । अहिले आमासँग खाना पकाउन सिक्दै छु । त्यसैले मलाई घरमा थुनिएको आभास भएकै छैन, हरेक पल ‘इन्जोय’ गरिराछु । उपलब्धिमूलक बनाउन प्रयासरत छु ।

‘परदेशी २’ को सुटिङ अवरुद्ध भयो । विज्ञापन र म्युजिक भिडियो पनि सुटिङ हुन पाएन । ‘कमेडी च्याम्पियन’ को वर्ल्ड टुर पोस्टपोन्ड भयो । तर, चिन्ता लिएकी छैन । हामी बचे मात्र पछि काम गर्न सकिन्छ । यो महामारीले हामीलाई सचेत हुने मौका पनि दिएको छ ।

सरकारले १८ गतेसम्म लकडाउन गरेको छ । परिस्थिति हेरेर त्यो थपिन पनि सक्ला वा पूरै खुल्न सक्ला, सरकारले जे निर्णय गरे पनि पछ्याउनुपर्छ । सरकारले यो गरेन, त्यो गरेन भनेर बस्ने बेला मात्र होइन । हामी नागरिक पनि उत्तिकै जिम्मेवार र सचेत हुनुपर्छ । आफू बच्ने र अरूलाई बचाउने समय हो यो ।
प्रस्तुति : गोकर्ण गौतम

प्रकाशित : चैत्र १२, २०७६ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×