भैरहवा — नेपाल-भारतबीचको सीमा नाका बन्द भएपछि भारतबाट घर फर्किएका नेपालीहरूको ठूलो समूह सुनौली नाकामा अलपत्र परेको छ । भारतको कानपुर, गोरखपुर, बनारस, मुम्बई, मद्रास, दिल्लीलगायतका ठाउँबाट आएका उनीहरूको सुनौली नाकामा अलपत्र परेका हुन् ।
दुई सयको हाराहारीमा रहेका उनीहरूले सीमा बन्द हुने बारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् । लामो यात्रापछि आफूहरू सीमा नाकामा आइपुगेको उनीहरूले बताए ।
रोजगारीका क्रममा मुम्बईबाट घर फर्किएका नवलपरासीको बुङ्दीकाली गाउँपालिकास्थित डेढ गाउँ घर भएका टेकबहादुर नेपालीले आफ्नै देशमा आउँदा समस्या भएको गुनासो गरे । उनले भने, 'हामीलाई राम्रो किसिमबाट चेकजाँच गर्नुहोस् । क्वारेन्टाइनमा राख्नुहोस् तर यसरी अलपत्रमा नपार्नुहोस् ।'
भारत सरकारले जनता कर्फ्यू लगाएपछि सुनौली बजार पूर्ण रूपमा बन्द छ । बजार बन्दभएपछि उनीहरूको खानसमेत खान नपाएपछि आत्तिएका छन् । भारतीय पक्षबाट आफूहरूलाई नेपालको सीमामा पठाइएपनि नेपाली पक्षबाट रोकावट भएको उनीहरूले बताएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आफू गृह मन्त्रालयको निर्णयको प्रतिक्षामा रहेको बताए । उनले भने, 'मैले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु । मन्त्रालयको निर्णय पर्खिएर बसेको छु ।'
सीमा नाकाबाट २५ किलोमिटरको दूरीमा रहेको बुटवलमा आइसोलेसन वार्ड बनाउने सरकारको तयारी भएपनि अन्योल देखिन्छ ।
सीमा नाका आगामन बन्द भएपनि ढुवानी भने खुला छ । सीमा नाका बन्द हुनुभन्दा अघि ८ सय ६७ जना नेपाल भित्रिएका छन् । बोर्डर सिल भएपछि सुनौली नाका हुँदै १२ सय २६ जना सुनौला नाकाबाट ढुवानीका सवारीसहित नेपाल प्रवेश गरेका छन् ।
