कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लद्दाखमा ८२ नेपाली अलपत्र

सुरेशराज न्यौपाने

नयाँदिल्ली — कामका लागि हालै लेह–लद्दाखमा पुगेका ६ महिलासहित ८२ जना नेपाली अलपत्र परेका छन् । उनीहरूले सरकारसँग उद्धार वा खान, बस्नको व्यवस्था गरिदिन आग्रह गरेका छन् । दाङ र सल्यानका ती नेपाली डकर्मीको काम गर्न त्यहाँ गएका हुन् । उनीहरू चैत १ मा दाङबाट दिल्ली र तीन दिनपछि दिल्लीबाट लेह–लद्दाख पुगेका थिए ।

त्यहाँ पुगेपछि मात्र उनीहरूले कोभिड–१९ को त्रासले सबै काम बन्द भएको थाहा पाएका थिए । काममा बोलाउने साहु र ठेकेदार सम्पर्कविहीन भएको उनीहरूले बताएका छन् ।


अलपत्रमध्ये ५० जनालाई सल्यानका सुवास योगीले लगेका हुन् । अरू छुट्टै दुई दिनपछि पुगेका हुन् । योगी डकर्मी र अन्य मजदुरीका लागि आफ्ना गाउँलेलाई पछि लगाएर भारतको लेह–लद्दाख जान, आउन थालेको बीस वर्ष भयो । उनीहरू प्रत्येक वर्षको फागुन अन्त्यमा गएर दसैं लाग्नुअघि घर फिर्ने गर्थे ।


योगीले कोभिड–१९ ले भारतमा पनि त्रासदी मच्चाएको गाइँगुइँ सुनेका थिए । मनमा चिसो पसेर दिल्ली पुग्नासाथ ठेकेदार र साहुसँग फोनमा उनले लेह–लद्दाखको स्थिति सोधेका थिए । उताबाट खासै चिन्ता गर्नुपर्दैन भन्ने जवाफ आएपछि उनीहरू दिल्लीबाट जहाजमा लेह–लद्दाख ओर्लेका थिए । त्यहाँ ओर्लेपछि परिस्थिति ठीक उल्टो थियो । व्यापार व्यवसाय बन्द थियो । बजारसमेत खुलेको थिएन । त्यसपछि उनले ठेकेदार र साहुलाई फोन गरे । फोन उठेन ।


दाङबाट दिल्लीसम्म प्रतिव्यक्ति २ हजार ४ सय भारु र दिल्लीबाट लेह–लद्दाखसम्म भाडा औसत ७ हजार ५ सय भारु लागेको थियो । दिल्लीमा तीन दिन बस्दा पनि खर्च भयो तर लागेको खर्चभन्दा पनि घर फर्किने चिन्ताले सताएको योगीले सुनाए । कहीँ ठाउँ नपाएर उनीहरू सबै जना बजारको बन्दै गरेको एउटा घरमा ओत लागेका छन् । बचेको पैसा पनि खर्च भइसकेको छ । जाडोले थप कष्ट दिएको छ । दुई दिनपछि पुगेको अर्को टोली पनि त्यही हूलमा मिसिएको छ ।


उनीहरू तत्काल घर फर्किने परिस्थिति छैन । भारत सरकारले आइतबारबाट लामो दूरीका बस र रेल बन्द गरेको छ । ‘दिल्लीमा हुँदासम्म केही भनेनन् नत्र हामी उतैबाट घर फर्किन्थ्यौं,’ योगीले भने, ‘अहिले त फर्किन पनि मिल्दैन । बसौं भने खर्च छैन । जता हेर्दा पनि केही उपाय देखिँदैन । अब सरकारकै भर छ ।’


यता दिल्लीस्थि नेपाली दूतावासले लद्दाखमा अलपत्र परेका नेपालीका बारेमा जानकार रहेको र स्थानीय प्रशासनसँग मिलेर तत्कालका लागि बस्ने प्रबन्ध मिलाउन प्रयास भइरहेको जनाएको छ । ‘यो असामान्य परिस्थिति हो, उहाँहरूलाई दिल्ली ल्याउने भन्दा पनि त्यहीं नै स्थानीय प्रशासनसँग मिलेर केही दिनका लागि खाने र बस्ने व्यवस्था मिलाउन प्रयास गरिरहेका छौं,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने ।


प्रकाशित : चैत्र १०, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?