२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोरोनाविरुद्ध चिनियाँ मोडलको तयारी भइरहेको छ : मन्त्री भट्ट 

जयसिंह महरा

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको पनि उनले जानकारी दिएका छन् । 

कोरोनाविरुद्ध चिनियाँ मोडलको तयारी भइरहेको छ : मन्त्री भट्ट 

संघीय संसद्‍का दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबार बसेको बैठकमा मन्त्री भट्टले भने, 'कोरोनाविरुद्ध नयाँ मोडलमा जाने तयारी भएको छ । चिनियाँहरूको मोडलमा जाने भन्ने तयारी गरिरहेका छौं ।'


सुरक्षाकर्मीका अस्पताललाई ठूलो मात्रामा उपचार गर्ने क्षमताका रूपमा अभिवृद्धि गर्न लागिएको मन्त्री भट्टले जानकारी दिए । उनले भने, 'मुख्यरूपमा सशस्त्र प्रहरीको अस्पताललाई जिम्मेवारी दिएर अगाडि बढिएको छ । सेनाले आन्तरिक तयारी पूरा गरेको छ र प्रदेशहरूमा पनि सुरक्षाकर्मीका अस्पताललाई र सुरक्षा केन्द्रमा अस्पताल बनाउने तयारी भएको छ ।' चीनमा सुरक्षा निकायलाई कोरोनाविरुद्ध उपचारमा संलग्न गराइएको उनले उल्लेख गरे ।


मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए । यताबाट चीन लगेर प्रशिक्षण दिनुभन्दा पनि अस्पतालमा भिडियो कन्फेरेन्स गर्ने र चीनबाट प्रशिक्षक मगाउने तयारी भएको उनले बताए ।


चीनबाट कोरोनाको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्री भट्टले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?