३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अन्तर्राष्ट्रिय उडान चैत ९ देखि बन्द

सुरज कुँवर

काठमाडौँ — सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित संक्रमण रोकथामका लागि चैत ९ गते आइतबार (राति ११ः५९) देखि १० दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय उडान चैत ९ देखि बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको’ बताएका हुन् ।


प्रधानमन्त्रीले सम्बोधनका क्रममा मुलुकबाहिर ठूलो संख्यामा रहेका नेपालीलाई असुविधा भएकाले आवश्यक परेमा सम्बन्धित देशको कूटनीतिक नियोगमा सम्पर्क राख्न भनेका छन् । ‘नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान’ भन्ने वाक्यअनुसार कार्गो, मेडिकल, चार्टर उडान पर्ने हुन् वा होइनन् भन्ने प्रस्ट नहुँदा थुप्रै एयरलाइन्स तथा सरोकारवाला अन्योल परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसबारे शनिबार थप प्रस्ट पारिने कान्तिपुरसँग बताए ।


प्रधानमन्त्रीको सम्बोधनलगत्तै सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’ को बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीलाई शनिबार कार्ययोजनासहित प्रस्ताव पेस गर्न निर्देशन दिएको मन्त्री भट्टराईले बताए । उनका अनुसार मुख्य सचिव रेग्मीले अन्तर्राष्ट्रिय उडानअन्तर्गत कार्गो, मेडिकल, कूटनीतिक चार्टर, उद्धार उडान आदिलाई कसरी सञ्चालन गर्ने वा नगर्नेबारे कार्ययोजनासहित थप व्याख्या गरेर समितिमा पेस गर्नेछन् ।


आइतबारदेखि विदेशी एयरलाइन्सले नेपालमा व्यावसायिक उडानबाट यात्रु ल्याउन नपाउने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘कुनै पनि देशका एयरलाइन्सले नेपालको विमानस्थलमा यात्रु ल्याएर अवतरण गर्न पाउने छैनन्,’ पोखरेलले भने, ‘कुनै पनि विदेशी एयरलाइन्सले नेपालमा रहेका विदेशीलाई फिर्ता लैजान रित्तो जहाज अवतरण गर्न भने छुट हुनेछ ।’ उनले प्रधानमन्त्रीको सम्बोधनले कमर्सियल उडानबाट हुने यात्रु आवागमनलाई सम्बोधन गरेको बताए ।


विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रधानमन्त्रीको सम्बोधनअनुसार आइतबार दिनभरि उडान हुने र राति ११ बजेर ५९ मिनेटपछि आगमन रोकिने बताए । काठमाडौंबाट हुने आन्तरिक उडान भने रोकिने छैनन् । काठमाडौंबाट देशभर नौवटा एयरलाइन्सले दुई दर्जन विमानस्थलमा उडान गर्छन् । सामान्य अवस्थामा एक सय हाराहारी अन्तर्राष्ट्रियसहित साढे ४ सय उडान काठमाडौं विमानस्थलबाट हुने गर्थे ।


यसैबीच सरकारले विदेशी यात्रुको आवागमन रोकेपछि निजी क्षेत्रको हिमालय एयरलाइन्सले शनिबारदेखि कुनै पनि गन्तव्यमा उडान गर्न नपाउने भएको छ । उक्त एयरलाइन्सका एक अधिकारीका अनुसार हिमालयले शुक्रबार राति आवुधाबीबाट एउटा मात्रै उडान गरेपछि उसले आफ्ना सबै चारवटा जहाज काठमाडौंमा ग्राउन्डेड गरेको छ । हिमालयले चैत १८ सम्म कतै पनि उडान नगर्ने जनाउँदै कर्मचारीलाई बिदा दिएको छ ।


भारतले आइतबार बिहानदेखि सबै अन्तर्राष्ट्रिय उडान रोकेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम बैंकक र हङकङमा मात्रै उडान गर्न बाध्य भएको छ । यात्रु अभावका कारण निगमले यी क्षेत्रमा नियमित उडान कटौती गरेकाले आउँदो आइतबारदेखि सबै उडान स्थगन हुन लागेको जानकारी दिएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?