सय बेडमाथिका अस्पतालले बिरामी रेफर गर्न नपाउने

अतुल मिश्र

काठमाडौँ — राजधानीमा रहेका एक सयभन्दा बढी शय्याका निजी अस्पतालले अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने भएको छ । ती अस्पतालमा उपचारका लागि गएका बिरामीलाई अन्यन्त्र रेफर गर्न पाइनेछैन । उनीहरूले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेछ । 

‘कोरोनाका शंकास्पद बिरामीलाई अन्यन्त्र रेफर गर्न पाउँदैनन्,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘बिरामीलाई आइसोलेसनमा राख्नुपर्‍यो, परीक्षण परिणाम कुर्नुपर्‍यो र संक्रमण देखिए निःशुल्क उपचारसमेत गर्नुपर्‍यो ।’ त्यहाँ उपचार सम्भव नभए मात्र सरकारले तोकेको अस्पतालमा पठाउनुपर्नेछ । ज्वरो क्लिनिक चलाउने अस्पतालले शंकास्पद बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्नेछ ।


शुक्रबारदेखि एक सयभन्दा बढी शय्याका हरेक अस्पताललाई ५० वटाका दरले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिन थालिएको छ । राजधानीमा सयभन्दा बढी शय्याका सात वटा अस्पताल छन् ।


हाल सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्ने विशेष अस्पतालका रूपमा तोकेको छ । बिरामीको संख्या हेरी थप अस्पताललाई समेत तोक्न सकिने डा. पोखरेलले बताए । आइतबारदेखि शुक्रराज ट्रोपिकललाई संक्रमितको उपचार गर्न मुख्य अस्पतालका रूपमा परिणत गरिनेछ । यहाँ आइसोलेसन वार्ड, क्वारेन्टाइनसहित एक सय शय्यासँगै २० वटा आईसीयू शय्या पुर्‍याउने तयारी भएको डा. पोखरेलले बताए ।


यहाँ भर्ना भएका एचआईभी र क्षयरोगका बिरामीलाई सामान्य अवस्थामा घर वा वीर र त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । यस्तै, यहाँबाट दिइरहेको एन्टिरेबिज खोपसमेत जिल्ला जनस्वास्थ्य कार्यालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आकस्मिकबाहेक पछि गर्न सकिने खालका शल्यक्रियासमेत हाल रोक्न भनेको डा. पोखरलले बताए ।


प्रयोगशालाको दैनिक परीक्षण बन्द


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूलो संख्यामा कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले आइतबारदेखिका सबै दैनिक परीक्षण सेवा बन्द गरिएको छ । उपत्यकाभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग/कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत काजमा काम गर्न भनिएको छ । उपसचिव र अधिकृत स्तरका कर्मचारीलाई काठमाडौं उपत्यका नछाड्न सचिवस्तरीय बैठकले निर्देशन दिएको छ ।

६ विदेशी डिस्चार्ज

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिक डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमण पुष्टि नभएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका डा. अनुप बाँस्तोलाले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ ०८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोना प्रकोप : एकैदिन इटालीमा ६२७ र स्पेनमा २६२ जनाको मृत्यु

एजेन्सी

रोम — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । 

शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।

त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । त्यस्तै शुक्रबार बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा शुक्रबार मात्रै १४९ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ३३ पुगेको छ भने १९ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा पनि शुक्रबार अहिलेसम्मकै बढी ५४ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै अमेरिकामा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय १४ रहेको छ ।

त्यस्तै शुक्रबार चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ भने त्यस्तै ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१ हजार ८ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ । चीनमा ७१ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ ।

शुक्रबार मात्रै कहाँ कति मृत्यु ?
इटाली– ६२७
स्पेन – २६२
इरान– १४९
फ्रान्स – ७८
अमेरिका– ५४
बेलायत– ३३
नेदरल्यान्ड्स – ३०
जर्मनी – २४
बेल्जियम – १६
स्विजरल्यान्ड – १३
दक्षिण कोरिया – ११
चीन – ७
इन्डोनेसिया – ७
स्विडेन,टर्की – ५/५ जना
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३ जना
पोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४
डायमन्ड प्रिन्सेस पानीजहाज – १
इजरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक/एक जना

प्रकाशित : चैत्र ८, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×