कतारबाट थप १५० डिपोर्ट

होम कार्की

काठमाडौँ — कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । 

ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।

तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घेरा हालेर पक्राउ गरेको बताए । ‘हामी क्याम्पपछाडि भलिबल खेलिरहेका थियौं, हामी र मार्केटमा आएकालाई एकै ठाउँ भेला गरी प्रहरीले पक्राउ गर्‍यो,’ उनले भने, ‘झन्डै ७ सय थिए होलान्, हातमा बोकेका सामान फाल्न लगाएर पुलिसले सबैलाई गाडीमा हाल्यो र जेलमा लग्यो ।’


उनी पाँच वर्षदेखि न्यु हेजन कम्पनीमा ड्राइभर थिए । ‘आखिर हामीलाई भाइरसको परीक्षण पनि गरिएन, हामीसँग स्वास्थ्य रिपोर्ट छैन,’ गत फेब्रुअरी १४ तारिखमा बिदा मनाएर कतार पुगेका उनले भने, ‘हामीलाई केही दिन जेलमा राखेर सिधै विमानस्थल ल्याई प्लेन चढाएर पठाइदिए ।’


एउटै जहाजमा आएका गुल्मीका देवीबहादुर केसीले श्रीमतीलाई पैसा पठाएर गाडी स्टार्ट गर्ने बेला प्रहरीले समातेको बताए । ‘मैले पैसा पठाउन आएको भन्दै रसिद पनि देखाएँ, उनीहरूले सुनेनन्, सबैलाई उठाएर बसमा हाले,’ १७ वर्षदेखि कतारमा कार्यरत उनले भने, ‘चेतावनी पनि नदिई पठाइयो ।’


उनले कम्पनीबाट १७ वर्षको बोनस नपाएको बताए । ‘यो कुरा हाम्रो दूतावासलाई थाहा छ कि छैन होला ?’ उनले भने, ‘यत्रा मान्छे पक्राउ हुँदा पनि दूतावासले केही गरेन । चित्त दुखेको छ । बोनसका लागि काठमाडौंस्थित कतारी दूतावासमा गएर निवेदन दिने योजना बनाएको छु ।’ प्रकाशित : चैत्र ७, २०७६ ०८:२२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बन्द छैन विमानस्थल

चीनका एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न, बैंककको थाई एयर र सिंगापुरको सिल्क एयरका उडान नियमित 
सुरज कुँवर

काठमाडौँ — सरकारले शुक्रबार राति १२ बजेपछि विदेशी नागरिकको आगमनमा कडाइ गर्ने निर्णय गरे पनि नागरिक उड्डयन प्राधिकरणले देशकै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द नहुने जनाएको छ । प्राधिकरणका अनुसार बैंककको थाई एयर, चीनका एयर चाइना, चाइना साउर्दन र चाइना इस्टर्न तथा सिंगापुरको सिल्क एयरका उडान नियमित छन् ।

यी एयरलाइन्सले हब विमानस्थल हुँदै अमेरिका, अस्ट्रेलियाबाट काठमाडौं आउने र फर्किने विदेशीलाई सेवा दिइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कान्तिपुरसँग बताए । उनका अनुसार यात्रु अभाव भएका कारण यी एयरलाइन्सले नियमित उडान तालिकाअनुसार नभई दिन तोकेर उडान गर्दै आइरहेका छन् ।

नेपालले भारतीय एयरलाइन्सलाई रोक लगाएको छैन तर भारतीय डीजीसीएले आइतबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेदेखि एक सातासम्मका लागि अन्तर्राष्ट्रिय उडान आवागमन रोक्ने निर्णय गरेको छ । दिल्लीस्थित नेपाल वायुसेवा निगमका एक अधिकारीका अनुसार भारतलेआफ्ना एयरलाइन्स र विदेशी एयरलाइन्सलाई एक साताका लागि रोक लगाउने निर्णयसहितको पत्र बिहीबार इमेलबाट पठाइसकेको छ ।

अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट दिल्ली, बैंग्लोर र मुम्बई उडान एक सातासम्म गर्न पाउने छैन । भारतको दिल्लीबाट काठमाडौं आउने इन्डिगो, भिस्तारा र एयर इन्डियाका उडान पनि रोकिनेछन् ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोप, पश्चिम एसिया र मध्यपूर्वलगायतका क्षेत्रमा पर्ने ७३ वटा मुलुकका नागरिकलाई रोक्ने निर्णय गरे पनि ६ वटा मुलुक (चीन, हङकङ, सिंगापुर, बंगलादेश, भुटान र थाइल्यान्ड) का १२ वटा एयरलाइन्सलाई यो निर्णयले उडान गर्न कुनै प्रभाव पारेको छैन । तर संसारभर कोभिड–१९ को प्रभावका कारण एयरलाइन्सले उडान संख्या कटौती गरेकाले काठमाडौं विमानस्थलमा यसको असर देखिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

उनका अनुसार यात्रु अभावकै कारण चीनको सियानबाट उडान गर्ने तिब्बत एयरलाइन्स र ल्हासाबाट उडान गर्ने सिचुवान एयरलाइन्सलगायतले उडान कटौती तथा संख्या घटाएका छन् । सरकारको निर्णयसँगै नौवटा देशका १३ वटा एयरलाइन्सले ११ वटा गन्तव्यमा शुक्रबार राति १२ बजेपछि वैशाख ३ सम्म उडान गर्न पाउने छैनन् । उक्त निर्णयअनुसार नौवटा मुलुकलाई ट्रान्जिट बनाउने सबै विदेशी यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध छ ।

सरकारले गरेको यो निर्णयले थुप्रै मुलुकका यात्रु अलपत्र परेको जनाउँदै खाडी मुलुकसहितका केही एयरलाइन्सले आफ्ना मुलुकका यात्रु मात्रै फर्काउन एकतर्फी उडानका लागि बिहीबार विमानस्थलमा भएको छलफलमा प्रस्ताव राखेका थिए । महाप्रबन्धक केसीका अनुसार कतार, ओमन र टर्किस एयरले खाली जहाज ल्याएर काठमाडौं आउने र यताबाट आफ्ना मुलुकका नागरिक लैजाने प्रस्ताव गरेका थिए । उनीहरूको प्रस्तावलाई विमानस्थल र प्राधिकरणले स्वीकार गरेको छ । ‘हामीले विदेशी यात्रु रोकेका हौं, उनीहरूका नागरिक लैजाने ‘फेरि फ्लाइट’ (चार्टरजस्तै तर एकतर्फी यात्रु मात्रै लैजाने उडान) गर्न सक्नेछन्,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कान्तिपुरसँग भने । प्राधिकरणले यसबारे सरकारसँग समन्वय गरेर निर्णय गर्न सकिने जनाएको छ ।

यसैबीच यात्रु अभावको कारण उडान कटौती गर्दै आएका चिनियाँ एयरलाइन्सले भने उडान संख्या बढाउँदै लगेको महाप्रबन्धक केसीले बताए । उनले सातामा दुईवटा मात्रै उडान गर्दै आइरहेका चाइना इस्टर्न र एयर चाइनाले दैनिक उडान र चाइना साउर्दनले सातामा चारवटा उडान गर्न प्रस्ताव गरेको बताए ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×